दुबई, ६ जेठ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)ले अन्तर्राष्ट्रिय क्रिकेटमा केही नियम संशोधन गर्ने तयारी गरेको छ । भारतीय पूर्वखेलाडी अनिल कुम्ब्लेको अध्यक्षतामा सोमबार मुम्बईमा बसेको आइसिसी क्रिकेट कमिटीको दुई दिवसीय बैठकमा महत्वपूर्ण नियम संशोधन गर्ने सहमति जुटेको हो । यसलाई २२ देखि २६ जुनसम्म बारबाडोरमा हुने आइसिसीको चिफ एक्जुकेटिभ कमिटी (सिइओ)को बैठकले पारित गर्ने सम्भावना छ ।
बैठकमा एक दिवसीय क्रिकेटका लागि बनाइने नयाँ नियम, आचारसंहिता, खेलाडीको व्यवहार, बलिङ एक्सन, प्रविधिलगायत अन्य विषयमा छलफल भएको थियो । बैठकले एक दिवसीय क्रिकेटमा ब्याटिङ पावर प्ले हटाउनेसहित महत्वपूर्ण ६ निर्णय गरेको छ ।
एक दिवसीय क्रिकेटमा ब्याटिङ पावर प्ले हटाउने निर्णय पनि गरेको छ । तर, टोलीले ४० ओभरभन्दा अघि नै पावर प्ले लिनु अनिवार्य छ । यसको प्रत्यक्ष फाइदा भने बलरलाई हुन्छ । अहिले विषेशगरी निश्चित ओभरका क्रिकेट प्रतियोगितामा ब्याट्सम्यान बढी हाबी हुने गरेकाले सन्तुलन मिलाउन नियममा परिवर्तन गर्न लागिएको बताइएको छ ।
यस्तै, बैठकले ४१ देखि ५० ओभरको बीचमा ३० यार्ड सर्कलबाहिर पाँच फिल्डर्स राख्ने अनुमति दिने अर्काे निर्णय पनि गरेको छ । यसअघि सुरुआती १० ओभरमा ३० यार्ड सर्कलबाहिर मात्र दुई फिल्डर हुनेगर्थे ।
एक दिवसीय र ट्वान्टी–ट्वान्टीमा सबै नो बलमा फ्रि हिट दिन अर्काे निर्णय पनि बैठकले गरेको छ । यसअघि फ्रन्ट फुटको नो बलमा फ्रिहिट दिने गरिएको थियो । नयाँ परिवर्तन भएमा अन्य नो बलमा पनि फ्रि हिट मिल्नेछ । गत विश्वकपका दौरान बाउन्ड्री लाइन निश्चित गर्ने नियम लागू भएको थियो । यस विषयमा सहमति जुटे सबै एक दिवसीय खेलमा यो नियम लागू गर्ने विषयमा सहमति जुटेको छ । यस्तै, बैठकले ब्याटको कुनै फिक्स साइज नहुने निर्णय पनि गरेको छ ।
यस्तै, बैठकले टेस्ट क्रिकेट पाँच दिनकै रहने र खेल साँझको समयमा बढी गराउने निर्णय गरेको छ । टेस्ट प्रतियोगिता निकै लामो र निरस भएको भन्दै चार दिनमा सीमित राख्ने विषयमा छलफल भएको थियो । तर, त्यसमा सहमति जुट्न नसक्दा साँझ अधिक समय खेलाउने विषयमा सहमति जुटेको हो ।
प्रतिक्रिया