नाइजेरिया : ‘बोको हराम’को ज्यादती

boko‘मेरो पेटमा चार महिनाको बच्चा छ । यसको बाबु बोको हरामकै सदस्य हो । हाम्रो सहर कब्जा लिएपछि जबर्जस्ती विवाहको नाटक गरेर मलाई गर्भवती बनाए ।’ कलेजी रंगको स्कार्पले टाउको छोपेकी हमसातूले निराश हुँदै आफ्नो पीडा सुनाइन् । बोको हरामको कब्जामा परेर बलात्कृत हुने नाइजेरियाका युवतीहरू अहिले मानसिक तथा शारीरिक पीडामा छन् ।
पछिल्लोसमय इस्लामिक संगठन बोको हरामको कब्जाबाट उम्केका महिलामार्पmत अहिले इस्लामिक सैन्य दस्ताले गरेका कुकृत्र्यको खुलासा भइरहेको छ । नाइजेरियाका थुप्रै भूभागमा कब्जा जमाएको बोको हरामले स्थानीय महिलामाथि अपहरण, बलात्कार र यौनहिंसाको क्रम रोकेको छैन । उद्धारकर्मीको प्रयासपछि कब्जाबाट उम्कन सफल महिलाले ढोका थुनेर लडाकूले गर्भवती बनाउने मनसायसहित बलात्कार गरेको बताएका छन् । २५ वर्षीय हमसातूका अनुसार लडाकूले छानीछानी युवतीसँग विवाहको नाटक गर्ने गरेका थिए । ‘चिच्याउन खोज्नेलाई तत्काल गोली हान्ने उर्दी उनीहरूले नै जारी गरेका थिए ।’ कब्जामा पर्दाको क्षण सम्झँदै हमसातू भन्छिन् ।
बोको हरामले नाइजेरियाको उत्तरपूर्वी इलाकाका थुप्रै भूभागमा आफ्नो प्रभाव कायम राखेको थियो । गाउँसहरमा कब्जा जमाउनासाथ उनीहरूको निशानामा महिला पर्ने गरेका थिए । अहिले कब्जाबाट मुक्त भएका थुप्रै महिला तथा युवती गर्भवती अवस्थामा रहेको नाइजेरियाका सरकारी अधिकारीले जनाएका छन् । गत वर्ष बोको हरामले कब्जामा लिएका अधिकांश भूभाग फर्काउनका लागि संघर्षरत नाइजेरियाली सेना तथा अन्य सैनिक दस्ताको निगरानीमा अतिप्रभावित बोरनो राज्यको राजधानी माइडुगुरीस्थित शिविरमा अधिकांश पीडित महिला बस्दै आएका छन् । माइडुगुरी त्यही सहर हो, जहाँबाट बोको हरामले सरकार विरोधी गतिविधि छेडेको थियो । अहिले शिविरमा शरण लिनेको संख्या बढेर १५ हजारभन्दा धेरै पुगिसकेको छ ।
उद्धारमा खटिएका अधिकारीले शरण लिनेमध्ये अधिकांश महिला रहेको बताएका छन् । झन्डै दुई सयभन्दा बढी महिला गर्भवती अवस्थामा रहेको र उनीहरूमाथि बोको हरामको सैन्य दस्ताले बलात्कार गरेको उद्धारमा खटिएकाले बताएका छन् । बोरनोका गर्भनर काशिम सेटिमा भन्छन्, ‘कतिपय गर्भवती महिला आफ्ना सन्तानमा आइएसको व्यवहार नझल्कियोस् भनेर भगवान्सँग प्रार्थना गरिरहेको अवस्थामा भेटिन्छन् । उनीहरूले आफ्नो विचारलाई भावी सन्तानमार्पmत बढावा दिने र आतंकवाद पैलाउने उद्देश्यसहित योजनाबद्ध ढंगबाट महिलालाई बलात्कार गरेका छन् ।’ आइएस लडाकुले महिलालाई गाईवस्तु जस्तै व्यवहार गर्ने गरेको आरोप पीडितहरूको छ ।
यसअघि गतवर्ष चिवुकबाट अपहरणमा परेका तीन सय महिलालाई नोकरको व्यवहार गर्न आइएसका प्रमुखले नै निर्देशन दिएका थिए । पछिल्लोसमय आइएसले अपहरित किशोरीहरूलाई बजारमा बेच्ने चेतावनीसमेत दिएको थियो । चिवुकमा अपहरित बालिकाको विषयलाई लिएर विश्वव्यापी अभियान ‘ब्रिङ ब्याक आवर गल्र्स’ सञ्चालनमा आएपछि भिडियो सन्देश जारी गर्दै आइएसका नेता अबुबकर सेकाउ स्वयंले किशोरीहरूलाई नौ वर्षको उमेरमै आफ्ना सैनिकसँग विवाह गरिदिने धम्की दिएका थिए । पछिल्लोसमय थुप्रै सहर तथा गाउँमा पकड कमजोर बन्दै गएपछि बोको हरामका नराम्रा गतिविधिहरू सार्वजनिक हुन थालेका छन् । हजारौँ मानिस बोको हरामका कारण घरबार छाडेर हिडेँका छन् । उनीहरूको एउटै आवाज छ, ‘बोको हरामले ११ वर्षका बालिकालाई समेत बलात्कार गर्न बाँकी राखेन ।’
बोको हरामकै कब्जा परेर फर्किएकी ३० वर्षिया याहाउवा टाउकोको स्टार्पले आफ्नो आँशु पुछ्दै भन्छिन्, ‘भर्खरै मलाई एचआइभी लागेको थाहा भयो । मलाई जबर्जस्ती गर्ने लडाकुका कारण यस्तो घटना घटेको हो ।’ उद्धारकर्मीसँग उनले अन्य थुप्रै महिलालाई समेत एउटै ठूलो कोठामा थुनेर यातना दिने गरेको बताइन् । ‘जब उनीहरू कोठामा आउँथे त्यसपछि सुत्नका लागि चाहेको महिलालाई लिएर छुट्टै कोठामा जान्थे । विवाह गरेनौँ भने मरिदिन्छौँ भन्ने उनीहरूको ठाडो धम्की थियो ।’
६ वर्षअघि नाइजेरियाली सैनिकसँग भएको भिडन्तपछि बोको हरामले अहिलेसम्म सरकार विरोधी युद्ध जारिराखेको छ । केही समयअघि मात्रै बोको हरामले इस्लामिक स्टेटसँग आफ्नो आबद्धता रहेको घोषणा गरेको थियो । बोको हरामको बढ्दो प्रभावकै कारण नाइजेरियाका निवर्तमान राष्ट्रपति गुडलक जोनाथनले चुनावमा नमिठो पराजय बेहोर्नुपर्‍यो । यसबीच बोको हरामका कारण हजारौँले नाइजेरियामा ज्यान गुमाइसकेका छन् ।
पछिल्लोसमय प्रभाव कम भए पनि बोको हरामको ज्यादती कायम छ । पछिल्लो साता मात्रै बोको हरामले २० लाखभन्दा धेरै जनसंख्या रहेको माइडुगुरी सहरमा आक्रमण गरेको थियो । शनिबार मात्रै एक युवतीले डामाटुर नजिक आत्मघाती बम प्रहार गर्दा कम्तीमा पनि सात जनाले ज्यान गुमाए । त्यसयता थप बढेको त्रासका कारण शरणार्थी शिविरमा बसेका थुप्रै महिला अभैm आपूm बलात्कृत भएको बताउन तयार छैनन् । तीन दिनअघि मात्रै शिविरमा आएकी १२ वर्षिया फनाहले समेत बलात्कृत भएको पीडा सुनाउँदा उद्धारकर्मी नै स्तब्ध बनेका थिए । बलात्कारकै सिकार भएकी याना आफ्नो उमेर बताउन सक्ने अवस्थामा समेत छैनन् । उद्धारकर्मीले बलात्कारपछि उनी मानसिक पीडामा परेको बताएका छन् । उनी अन्य ५० महिलासँगै बोरनो राज्यको दोस्रो ठूलो सहर बामास्थित एक घरमा बन्दी बनाइएकी थिइन् ।
को हुन् बोको हराम ?
इस्लामिक राज्यको माग गर्दै बोको हरामले सन् २००२ यता नाइजेरियामा आफ्नो गतिविधि बढाएको थियो । त्यसयता बोको हरामका सैनिकले नाइजेरियाका विभिन्न भूभाग कब्जा गर्ने क्रममा थुप्रै सर्वसाधारणको हत्या गर्न भ्याइसकेका छन् । अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या रहेको नाइजेरिया बोको हरामको ज्यादतीका कारण त्रासमा छ । बम, बारुद र हत्या–हिंसा नाइजेरियाका लागि सामान्य विषय बनिसक्यो ।
बोको हरामको आधिकारीक अरबी नाम जामा अटु अहलिस सुन्ना लिड्डा अवाटी वाल जिहाद हो । जसको अर्थ स्थानिय आध्यात्मिक शिक्षा तथा जिहादका ज्ञान पैलाउनका लागि प्रतिवद्ध व्यक्तिहरूको समूह भन्ने हो । तर, माइडुगुरीमा आफ्नो दस्ता सुरु गर्दा बोको हरामकै नामबाट यस समूहले आफ्नो गतिविधि सुरु गरेको थियो । मुस्लिमहरूले पश्चिमा गतिविधिलाई वञ्चित गर्नुपर्छ भन्ने बोको हरामको एक मात्रै नीति छ । नाइजेरियाका जनतालाई पश्चिमा समाजसँग सम्बन्धित राजनीतिक, सामाजिक तथा शैक्षिक सम्बन्धबाट टाढै राख्ने बोको हरामको योजना छ । नाइजेरियामा मुस्लिम राष्ट्रपति नै भए पनि बोको हराम अदृश्य शक्तीबाट देश चलिरहेको दाबी गर्छ । बोको हरामका पहिलो उद्देश्य पश्चिमा शिक्षाबाट बालबालिकालाई टाढ राख्नु हो । अभैm महिलालाई पश्चिमा शिक्षा दिने नीतिको चर्को विरोधमा बोको हराम छ । बोको हरामले इस्लामिक स्टेट स्थापना गर्ने भन्दै सन् २००९ बाट आफ्नो छुट्टै सैन्य दस्ता खडा गरेको थियो । सन् २०१३ मा अमेरिकाले बोको हरामलाई आतंककारीको सूचीमा राख्यो । सन् २०१४ सम्म आइपुग्दा बोको हरामले नाइजेरियाका थुप्रै भूभागमा कब्जा जमाएको थियो । तर, अहिले नाइजेरियन सैनिकले अधिकांश भूभाग फिर्ता लिइसकेको छ । सन् २०१४ यता बोको हरामले इस्लामिक स्टेट (आइएस) सँग आबद्धता लिएको छ ।

प्रतिक्रिया