एकाकार नेपालीलाई सलाम

विपत्ति एक्लै आउदैन, त्यसले विपत्तिका धेरै आयाम र अनेकौ शृंखलालाई समेत साथै लिएर आउनेरहेछ । भूकम्पले गोरखा, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र दोलखाका हजारा परिवारको घर मात्र भत्काएको छैन, पूरा बस्ती नै उडाइदिएको छ । कतिपय गाउ“बस्तीलाई पहिरोले लगेको छ, कतिपय धसिएका छन् र बचेका पनि यति गहिरा धाजा फाटेका छन् कि वर्षा हुनासाथ पहिरो जाने निश्चित छ । घरबाट होइन बस्तीबाटै विस्थापित भएका पीडित परिवारको पुनर्वासका लागि थातथलो खोजिदिनुपर्ने भएको छ । भूकम्पले घर ध्वस्त भएका परिवारका लागि वर्षाअगावै अस्थायी बासको व्यवस्था कसरी मिलाउने होला भनेर चिन्ता गरिरहेको सरकारका लागि यो अतिरिक्त कार्यभार थपिएको छ ।
नेपालीलाई परेको यो संकटबाट पार लगाउन सरकारलाई एक्लो पारिएको छैन । दसै दिशाबाट अनगिन्ती हात सहयोगका लागि अघि सरेका छन् । उद्धार गर्न र राहत वितरण गर्न मात्र नभई पुनस्र्थापनामा समेत अग्रसर देखिएका छन् । घाम, पानी र हुरीबत्तासबाट जोगाउने तीन/चार वर्ष चल्ने अस्थायी बासस्थान निर्माण गरिदिन देशभित्रै रहेका र विदेशिएका नेपाली तथा विदेशीहरू अग्रसर भएका छन् । राजनीतिक पार्टीहरूका क्षुद्र नेताहरूले नेपाली समाजलाई जात–जातमा र सम्प्रदायमा विभाजित गरेर भिडाउने ठूलै कसरत गरेका हुन् । तर, यो महाविपत्तिको घडीमा सहयोग गर्न अघि सरेका हातहरूले जात पनि भनेन, सम्प्रदाय पनि हेरेन । नेताहरूले निकै मिहिनेत गरेर विष घोले पनि नेपाली समाजको संरचना बिग्रिसकेको रहेनछ भन्ने प्रष्ट भएको छ । अहिले अमेरिकाका राजनीतिक नेताहरू भूकम्पले विस्थापित गरेका नेपालीलाई टिपीएस अर्थात् टेम्पोररी प्रोटेक्टेट स्टाट्सअन्तर्गत अमेरिकामा बसोबास गराउनका लागि पहल गरिरहेका छन् । मानवीय विपत्तिमा परेका विदेशीका लागि अमेरिकी सरकारले अध्यागमन र राष्ट्रियतासम्बन्धी कानुनमा गरेको विशेष व्यवस्था हो यो । मानवीय विपत्तिमा परेका थुप्रै गैरअमेरिकीहरूले यो सुविधा प्राप्त गरेका छन् । हाइटीमा भूकम्पबाट विस्थापित भएका पीडितहरूले समेत यो अमेरिकी विशेष सुविधा लिएका थिए । भूकम्पले विस्थापित गरेका नेपालीलाई पनि यो सुविधा प्रदान गरिनुपर्छ भनेर अमेरिकी राजनीतिक नेताहरू नै आफ्नो सरकारलाई दबाब दिइरहेछन् ।
एउटा घिनलाग्दो विडम्बना के भइरहेछ भने एकातिर पल्लो गोलाद्र्धमा रहेका विदेशी नेपालीमाथि परेको यो बज्रपातमा द्रवित भएका छन् भने नेपालका राजनीतिक नेताहरू यही विपत्तिमा राजनीतिक रोटी सेकिरहेछन् । विषवमन गरेर आलो घाउमा नुकचुक दलिरहेछन् । सरिता गिरीजीलाई विपत्तिको मारमा परेर छटपटाइरहेका नेपालीको पीडाले छु“दैन । त्यसैले, ‘भूकम्पले विस्थापित गरेका पीडित नेपालीलाई तराईमा बसोबास गराउनेतिर सोच्लान् । यो भनेको महेन्द्रवादी नीति हो । यो कुनै पनि हालतमा हुन दिनुहुदैन, रोक्नुपर्छ’ भनेर तराईका मधेसवादी नेताहरूलाई आह्वान गरिरहनुभएको छ । अर्कोतिर, ‘भूकम्पले विस्थापित गरेका एउटा पहाडे तराईमा झ¥यो भने गृहयुद्ध छेडिनेछ’ भनेर सीके राउतजी उद्घोष गरिरहेछन् । यही वर्तमान समयमै यही पृथ्वीलोकको पल्लो छेउमा रहेका विदेशी आफ्नो कामै छाडेर पीडित नेपालीलाई आफ्नै आ“गनमा बसोबास गराउन उद्यत छन् भने हामीले आफ्नो नेता मानेकाहरू चाहि पीडामा छट्पटाइरहेका आफ्नै दाजुभाइलाई दुत्कारिरहेछन् । नेतृत्वको यही क्षुद्रता र दुष्टता नै नेपालीका लागि अभिशाप हो ।
हाम्रा नेताले के गरेनन् ? पार्टी–पार्टीमा विभाजित गराएर हामी नेपालीलाई एकआपसमा भिडाएनन् कि ? जात–जातमा र सम्प्रदायमा विभाजित गराएर द्वेष र वैमनस्यको विष घोलेनन् कि ? राज्यका अंगप्रत्यंगमा जहा–जहा पसे त्यही भताभुंग पारेनन् कि ? हुदा–हुदा विश्वविद्यालय र संवैधानिक निकायहरूमा समेत पार्टीगत भागबण्डा गरे । न्यायपालिकालाई समेत छाडेनन् । खुशीको कुरा के छ भने यिनीहरूले जति विष घोले पनि त्यो विषको असर नेपाली समाजमा परेन । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण नेपाली एउटै परिवार भएर रहे । त्यही एकाकार भावनाले नेपालीलाई जोडिरह्यो र नेपाल राष्ट्रलाई झन्–झन् सुदृढ बनाइरह्यो । नेपालीको यही एकाकार भावनालाई हामी सलाम गर्छौं ।

प्रतिक्रिया