काठमाडौं, ५ जेठ । अन्तर्राष्ट्रिय पारा ओलम्किद्वारा मान्यता प्राप्त नेपाल पारालम्पीक कमिटीले गत वैशाख १२ गएको विनाशकारी भूकम्पमा परी निधन भएका प्रथम पारा ओलम्पीयन जितबहादुर खड्काका नाममा अक्षय कोष स्थापना गर्ने भएको छ ।
उनको सिन्धुपाल्चोकको थाङपाल दाप गाविसमा आफ्नै घरले पुरिएर उनको निधन भएको थियो । श्री धनजला प्रथामिक विद्यालयका शिक्षकसमेत रहेका उनी २७ वर्षका थिए ।
कोष स्थापनाका लागि पहिलो अन्तर्राष्ट्रिय पारा तेक्वान्दोका पदक विजेता खेलाडी यादव कुवँरलगायत विभिन्न पारा खेलाडीले सहयोग गर्ने भएका छन् ।
नेपालका पारा खेलाडी, संघका पदाधिकारी र विभिन्न अन्तर्राष्ट्रिय खेल संघहरूको पहलमा पारा खेलाडी जितबाहदुरको परिवारलाई सहयोग गर्ने उद्देश्यले कोष स्थापना गर्न लागिएको हो । कमिटीले अक्षय कोषमार्फत स्वर्गीय जितबहादुरको परिवारलाई प्रतिमहिना १५ हजारको दरले आर्थिक सहयोग गर्नेछ । साथै उनकी छोरीलाई १६ वर्ष नपुगेसम्म पठनपाठनलगायत खर्च बेहोर्ने भएको छ । त्यस्तै कमिटीले घाइते तथा घरबारविहीन भएका पारा खेलाडीका लागि राहतको व्यवस्थापनसमेत गर्नेछ ।
पारा ओलम्कि कमिटीले भूकम्पका कारण समस्यामा रहेका आफ्ना विभिन्न खेलाडीका लागि समेत प्रक्रियागत रूपमा सहयोग गर्ने जनाएको छ । विभिन्न श्रोतहरूबाट भएको रकमहरूलाई अक्षय कोषमा राखी पीडामा रहेका पारा खेलाडीलाई राहतका लागि व्यवस्थापन गर्ने नेपाल पारालम्पीक कमिटीका कोषाध्यक्ष एवं पारा एथलेटिक संघका अध्यक्ष ओमकृष्ण शिवाकोटीले बताए ।
कमिटीका कोषाध्यक्ष शिवाकोटी भने ‘जितबहादुरका घरमा हामी पुगिसकेका छौँ । अक्षय कोषका बारेमा उनको परिवारलाई जानकारी गराएर परिवारको सहमतिमा हामीले अक्षय कोषको स्थापना गरको हौँ ।’
हाल अन्तर्राष्ट्रिय मान्यता प्राप्त पारा ओलम्किमा तेक्वान्दो, एथलेटिक, बोसीया, टेबलटेनिस लगायत गरी कुल १४ खेल संघहरू आबद्ध छन् । र, कमिटीले ती १४ पारा खेल संघका खेलाडीलाई राहतका तथा विभिन्न दीर्घकालीन व्यवस्थाका लागि अन्तर्राष्ट्रिय पारा ओलम्किलगायत विभिन्न संघ, संस्थाहरूलाई समन्वयन गरी पाराको सहयोगमा अगाडि बढ्ने जानकरी दिए ।
प्रतिक्रिया