जुडोलाई आइजेएफबाट पचास हजार डलर

काठमाडौं, ५ जेठ । अन्तर्राष्ट्रिय जुडो महासंघ (आइजेएफ) ले जुडोका भूकम्पपीडितका लागि ५० हजार अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । कुबेतमा भएको एसियाली जुडो महासंघ (जेयुए) को ओर्डिनरी कोंग्रेसमा आइजेएफका अध्यक्ष मारियस विजरले सोको घोषणा गरेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । मे ११ तारिखमा भएको सो कोंग्रेसमा वज्राचार्य पनि सहभागी थिए ।

‘वैशाख १२ गतेको विनाशकारी भूकम्पले जुडो सम्बद्ध सबै पक्षको क्षतिबारे मैले आइजेएफमा इमेलमार्फत लेखेर पठाएको थिएँ । त्यसैको आधारमा आइजेएफले आर्थिक सहयोग उपलब्ध गराउने भएको हो,’ वज्राचार्यले भने । उक्त कोंग्रेसले वज्राचार्यलाई जुयुएको कार्यसमितिको सदस्यमा समेत नियुक्त गरेको छ । साथै वज्राचार्यलाई जेयुएको एजुकेसन एन्ड कोचिङ डाइरेक्टरको जिम्मेवारीसमेत दिइएको उनले बताए । त्यस्तै मे १० तारिखमा कुबेतमै भएको दक्षिण एसियाली जुडो महासंघ
(एसएजेएफ) को कार्यसमिति बैठकले नेपाल जुडो संघका महासचिव रमेश महर्जनलाई एसएजेएफको एजुकेसन एन्ड कोचिङ डाइरेक्टरको जिम्मेवारी प्रदान गरेको वज्राचार्यले जानकारी गराए ।

प्रतिक्रिया