होस्टोन, (संयुक्त राज्य अमेरिका), ४ जेठ । अमेरिकाको टेक्सास सहरमा आइतबार मोटरसाइकलमा आएका दुई परस्पर विरोधी समूहबीच भएको झडपको क्रममा नौ व्यक्तिको मृत्यु भएको जनाइएको छ ।
झडपमा परी अन्य १८ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।
मध्य टेक्सासको वकोमाअवस्थित ट्वीन पिकस् रेष्टुराँमा आइतबार मध्याह्नमा कम्तीमा तीन वटा मोटरसाइकलमा आएका विरोधी समूहबीच झडप भएको बताइएको छ ।
यी समूहबीचको झडप सुरुमा शौचालयबाट सुरु भएको र पछि बाहिर सवारी साधनको पार्किङ इलाकासम्म आइपुगेको जनाइएको छ ।
एक आपसमा कुटपिटबाट सुरु भएको सो झडपमा जञ्जिर, चक्कु र अन्त्यमा दोहोरो गोली हानाहान भएको बताइएको छ ।
गोली हानाहानका कारण नै धेरैको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । झडपको क्रममा आठ जनाको दुर्घटनास्थलमै र बाँकी एक जनाको भने उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।
चक्कु प्रहार र गोली हानाहानबाट अन्य व्यक्ति घाइते भएका र तीमध्ये सर्वसाधारण नागरिक भने नपरेका जनाइएको छ । उनीहरुको आपसी रिसइबीका कारण यस्तो अवस्थाको सिर्जना भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार सो झपडको क्रममा १ सयभन्दा बढी हातहतियार कब्जा गरिएको छ । झडपमा सम्लग्न युवाले शक्तिशाली हतियार बोकेका जनाइएको छ ।
प्रतिक्रिया