गौरवान्वित विगत् सम्झदै कमला

kamala-lopchnकाठमाडौं, ३ जेठ । कुनै समय नेपालका चर्चित उसु जोडी राजेश लामा र कमला लोप्चन अमेरिका पुगेको दुई दशक भइसकेको छ । यो दुई दशकको बीचमा नेपाली खेलकुद विगतको जस्तै गौरवशाली छैन तथापी यो जोडीलाई नेपालको मायाले छाडेको छैन । सन् १९९२ को तेस्रो एसियन उसु च्याम्पियनसीपकी रजत विजेता कमला भन्छिन्, ‘आफ्नै बलबुतामा हामी विश्व च्याम्पियनसिपमा सहभागी भएका हौँ । अझ हामीलाई नै देशको खेलकुदको चासो छ ।’ कमला र राजेश देशको खेलकुदको सहयोगविना नै सन् १९९५ मा भएको विश्व उसु च्याम्पियनसिपमा सहभागिता जनाएका थिए ।

यो वर्ष नेपाल आउँदा ललितपुर जिल्ला उसु संघले आयोजना गरेको सम्मान कार्यक्रममा उपस्थित कमला आफ्नो विगतलाई नेपाली उसुले अहिले पनि सम्झिएकोमा गौरवान्वित भएको बताउँछिन् । काठमाडौं बौद्धकी कमला उसु खेल्न थालेको केही समयपछि नै नेपालको स्टार खेलाडीको रूपमा स्थापित भएकी थिइन् । चन्द्र लामामार्पत उसु खेलमा प्रवेश गरेकी यी स्टार सन् १९८८ को पहिलो सेसौ उसु च्याम्पियनसिपमा स्वर्ण पदक हात पारेपछि नेपाली खेलकुदमा सबैको चासोको पात्र बनेकी थिइन् ।
त्यसको लगत्तै सन् १९९० को एसियाली खेलकुदमा सहभागी उनी सन् १९९१ मा भएको विश्व च्याम्पियनसिपको ब्रोडसोर्ड स्पर्धामा पाँचौँ स्थानमा रहेकी छिन् । नेपाली खेलाडी विश्व च्याम्पियनसिपको पाँचौँ स्थानमा रहने बिरलै सफलता उनले पाएकी थिइन् । यी बाहेक उनले लखनउमा भएको आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक पाएकी थिइन् ।
खेल जीवनका यी नै महत्वपूर्ण सफलताका कारण उनी अध्ययनरत विद्यालय सिद्धार्थ बनस्थलीले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसँग भेट गर्ने संयोग जुराएको थियो । कमलालाई त्यो विगतका सम्झनाले अभै गौरवको अनुभूत भइ नै रहेको छ । नेपालमा रहँदा प्रभावशाली उसु खेलाडी कमला ‘छवा्ंग–छ्वांग’, ‘ब्रोडसोर्ड’ र ‘स्टीक’ तीनै स्पर्धामा उत्कृष्ट रहेकी थिइन् । बाल्टिमोरको विश्व च्याम्पियनसिप हँदा नेपालका उत्कृष्ट पुरष खेलाडी राजेश लामासँग कमला विवाह बन्धनमा बाँधिएको धेरै भएको थिएन । यी दुवै खेलाडी नेपालका उत्कृष्ट खेलाडी थिए । राज्यले यी दुवै खेलाडीको क्षमतालाई कदर गर्दै सहभागिताको प्रयास समेत नगरेको तत्कालीन समयमा नेपालको उसुलाई नजिकबाट नियाल्नेहरू बताउँछन् ।
मानवीय संवेदना भएका यो जोडीको अमेरिकामा रहे पनि नेपालका बारे अभैm चासो छ । उनीहरूको केही गर्ने चाहना पनि यथावत रहेको छ ।

प्रतिक्रिया