कही पढेको थिएँ–
यो जिन्दगी नै एक चलचित्र जस्तो
भेटिन्न निर्देशक छैन जस्तो
केही हराएसरि जिन्दगीमा
टन्टा छ नानाथरि जिन्दगीमा
सर्वशक्तिमान प्रकृति माताको बागडोर हाम्रो हातमा हुने भए सायद महाभूकम्प २०७२ जस्ता विपत्ति विरलै आउँथे होला । तर, अफशोस ! त्यो त केवल कल्पनामा मात्रै सीमित छ । काल्पनिक र वास्तविक जीवनको यो भूकम्प प्रतिरोधात्मक पर्खाल न विज्ञान प्रविधिले नै फोर्न सक्यो न त आध्यात्मिकताले नै । यही विज्ञान प्रविधि र आध्यात्मिकताको द्वन्द्व–प्रतिद्वन्द्वको बीचमा एउटा नयाँ सोचको दोष मेरो मानसपटलमा ढुंगा फोरेर उम्रिएको पिपलको बिरुवासरह पलायो ।
सत्य हो, सबै सफल व्यक्तिको जीवनले एउटा यस्तो मोड लिन्छ जहाँ म यो संसारमा किन छु या भनौँ मेरो अस्तित्व के हो भन्ने कुरा त्यस परिस्थितिले बोध गराउँछ । सायद यो महाभूकम्प २०७२ ले मेरो जीवनमा यस्तै परिस्थिति सिर्जना गर्यो । स्वाभाविकै हो, सफलताको पछाडि निकै नै उतारचढाव हुन्छन् । मेरो मस्तिष्कलाई भान भएको यो एउटा सफलता पनि यस्तै उकाली र ओराली पार गरिसकेपछिको सम्झना हो । संघर्ष पीडादायक र तीतो हुन्छ तर प्राप्ति मीठो र अमृतुल्य । सफलताको परिभाषा सायद एकपछि अर्को मानिसमा फरक हुन्छ होला तर मेरा लागि त सफलता भनेको आफ्ना सानातिना कमजोरीमाथि विजय हासिल गर्न हो । त्यस विजय प्राप्तिपछिको त्यो आत्मसन्तुष्टि मेरा लागि सुनको पगरीसरह हो ।
त्यो कहालीलाग्दो शानिबारको मध्यदिन साझा रूपमा मेरो लागि पनि उत्तिकै त्रासपूर्ण नै रह्यो । त्यो समय र त्यसपछिका केही घन्टाका लागि मानिसको मन र मस्तिष्कमा आएका ती काल्पनिक घटनाहरू वास्तविक रूपमा आफ्नै अगाडि प्रस्तुत भएर आइदिँदा त सिर्जना भएको मनको कम्पन आम जनमानसमा सायद एकै किसिमको हुँदो हो । वनको बाघले होइन, मनको बाघले खाइरहेको अवस्थामा आइरहेका ती कम्पनले दिएको मानसिक तनाव असैह्य थियो । त्यसपछिका केही दिनसम्म सञ्चारमाध्यमबाट थाहा पाइएका ती दुःखद् समाचारले हामीलाई मात्र नभई सारा विश्वलाई नै मर्माहित तुल्यायो ।
म अझै सम्झन्छु, गठबन्धित रूपमा जब सारा समाज एउटै साझा खुला आकाशमुनि बिताएका थियौँ । त्यो रातमा के धनी, के गरिब सबै दत्तचित्त भई हातेमालो गर्दै एक अर्कालाई मद्दत गर्दाका ती पलहरू यी क्यामेरारूपी आँखाले सधँका लागि मस्तिष्कका भित्ताहरूमा कैद गरे । म त सोच्दथेँ, ‘म’ एउटा यस्तो शब्द हो जसको कार्याकालमा यस शब्दको सार्वभौम शक्ति कोही व्यक्तिलाई भान भएमा सारा विश्वलाई हाक्न सक्ने शक्ति उसले पैदा गर्न सक्छ तर त्यो ‘म’ लाई पनि अरू ‘म’हरूको साहारा चाहिँदो रहेछ । त्यस बखत सञ्चारमाध्यमहरूमा ९० सालको भूकम्प त्यस बेलाको परिस्थितिका बारेमा सुनाउने र सम्प्रेषण गर्ने व्यक्तिहरूको कमी थिएन ।
सोही समयम मेरो जीवनले एउटा नयाँ मोड लियो । तब मैले सम्झेँ, कालान्तरमा मैले पनि यसैगरी अनुभव मात्र सुनाउनेछु ? या भनौँ के मलाई पश्चात्ताप त हुने छैन– कतै भूकम्पजस्तो महाविपत्ति परेको बेला मैले देशलाई केही गर्न सकिनँ ? यदि आउँदा पिँढीहरूलाई देशमा भूकम्प जस्तो महाविपत्ति आएको बेला मैले पनि देशका लागि केही योगदान गरेको थिएँ भने सायद उनीहरूका लागि पनि देशप्रतिको मोह बढ्नेछ भन्ने सोचले मलाई त्यो रात सुत्नै दिएन । ‘म’ त पूर्ण रूपमा तयार थिएँ । आवश्यक थियो त केवल त्यस ‘म’ लाई साहारा दिने अरू ‘म’ हरूको ।
स्वाभाविकै हो, सानै उमेरमा केही गर्छु भन्ने सोच राख्नेका निमित्त घर, परिवार र समाजबाट स्वीकृति प्राप्त गर्नु अर्को एउटा चुनौती हो । ममा यो पाकोपन नहुँदो हो त सायद मेरो बाआमाले पनि मलाई सहयोग गर्नु हुने थिएन होला । यो चुनौतिलाई पनि सहज रूपमा पार गरी त्यस आत्मसन्तुष्टिका लागि म तत्पर रहेँ तर अब आउने समस्या र चुनौतिका लागि पनि म पूर्ण रूपमा तयार थिएँ । त्यसपश्चात् इन्टर¥याक्ट क्लब अफ सेन्ट जेभियर्स जावलाखेल र एनिमल नेपालको सहयोगमा मेरा अग्रज दाइ–दिदीहरू र केही मित्र मिलेर अनेकौँ योजना बुन्न थाल्यौँ । मालिको देहावसान र इँटाभरटाको पूर्णरूपमा क्षति भएपछि दिनमा न्यून रूपमा कमाइ हुने इँटाभटाका कामदार र तिनीहरूका खच्चड, घोडा आदिलाई मद्दत गर्ने हेतुले हामीले आफ्ना योजना कार्यान्वयन गर्न थाल्यौँ ।
सजिलो त विल्कुलै थिएन तापनि जसोतसो गरेर हामीले केही रकम उठाएर राहतका सामाग्री संकलन ग¥यौँ र वितरणका निमित्त ललितपुरका अनेकौँ ठाउँमा पुग्यौँ । त्यहाँ पुग्दा राहत लिनेको आतुरता देख्दा त लाग्यो, मैले एक दिन खुला आकाशमुनि रात बिताउँदा बोध भएको दुःख तुलनात्मक रूपमा न्यून रहेछ । लेले, टउखेल जस्ता ठाउँमा पुगी असहायको मद्दत गर्ने मेरो धोको पूरा हुँदै गर्दा एउटा अचम्मको खालीपन महसुस भयो । हाम्रो प्रयासले यति धेरैजनाको परेलीका ओठबाट खुसीका आँसु टप्किँदो रहेछ भने म यत्रो समय किन यो संसारिक मोहमा तल्लिन थिएँ ? किन मैले परिवर्तन ल्याउन पहल गरिनँ ? भन्ने एउटा खालिपनले मलाई कुटुक्क डस्यो तथापि एउटा आत्मसन्तुष्टि पनि थियो– हामीले केही हदसम्म आफ्नो कर्तव्य निर्वाह ग¥यौँ ।
पूर्णतामा बाँचेको जीवन भन्नु एकोहोरो, एकैखाले घटनाको समजोड होइन । अनेकौँ परस्पर विपरीत रङ मिले पो इन्द्रेणी ! तातो घाममा नहिँडेको मानिसले शीतलताको महत्व कसरी बुझ्न सक्छ ? जाडोमा नकठ्यांग्रिएको कसैले न्यानोपनलाई सम्पूर्णतामा कसरी अनुभव गर्न सक्छ ? एउटा दुःखको अनुभूतिले मलाई आफ्नो कर्तव्यबोध गरायो । संघर्ष पीडादायक र तीतो भए पनि प्राप्ति अन्ततः आत्मसन्तुष्टि हो ।
यो गर्नैपर्ने योजनामा अथक परिश्रम र मिहिनेत गर्नुहुने अग्रज दाइ विकल्प राजभण्डारी, एनिमल नेपालको टिम, शुभांक ज्ञावली (अध्यक्ष, इन्टर्याकट क्लब), विश्वास नेपाल, सर्वज्ञ मल्ल र अन्य साथीहरू आजको युवाशक्तिका लागि एउटा उदाहरण हुनुहुन्छ र यो लेयाड नामक प्रयोजना विस्थापित व्यक्तिहरूका निमित्त धेरै योजना कार्यान्वयन गर्ने क्रममा छ । तसर्थ, उमेर या अनुभवले होइन, मनको चाहना, जोस र जाँगरले परिवर्तनका निमित्त गतिशील बनाउँछ र अथक प्रयासले निम्त्याउँछ आत्मसन्तुष्टि ।
प्रतिक्रिया