काठमाडौं, २ जेठ । रविना महर्जन नेपाली टेबल टेनिसकी पछिल्लो समयकी चर्चित खेलाडी हुन् । दिनदिनै प्रगतिपथमा लम्किएकी यी खेलाडीलाई १२ वैशाखमा आएको विनाशकारी भूकम्पका कारण खेलस्तर खस्कने डर लाग्न थालेको छ । नियमित प्रशिक्षण गर्न नपाउँदा खेल नै खस्कने हो कि भन्ने उनको चिन्ता
बढेको हो ।
लाजिम्पाटस्थित आपू बस्ने घर १२ गते र २९ गते आएको विनाशकारी भूकम्पले सामान्य रूपमा चर्काए पनि निरन्तर आइरहेका पराकम्पनका त्रासले घरनजिकै रहेको खुला चौरमा तीन–चार दिन खुला चौरमा बिताएको उनी बताउँछिन् । पहिलो भूकम्प वैशाख १२ आउनअघि अप्रिल २४–मे ५ सम्म हुने प्रतियोगिताको तयारी थियो तर प्रतियोगिता नै रद्द भयो । निरन्तरका पराकम्पनले प्रतियोगिता नै अनिश्चित बन्यो । ‘जनजीवन सामान्य बन्दै गर्दा एक्कासि २९ गते मंगलबार आएको ६.८ रिक्टर स्केलको भूकम्पले फेरि जनजीवन त्रसिद बनाउँदा फेरि पनि खुला चौरमा रात बिताउनुपरेको छ ।’ रबिनाले भनिन्, ‘अझै पनि पराकम्पन आउने क्रम जारी छ । सबैमा डर र त्रास अझै छ । खुला चौरमा रात बिताउँदा घरमा बसेजस्तो त कहाँ हुन्छ र ? एकदमै असजिलो बनेको छ । सम्पूर्ण नेपाली खेलकुद पनि विनाशकारी भूकम्पले अस्तव्यस्त बनेको छ ।’
नियमित प्रतियोगिता हुन नसक्नु र नियमित प्रशिक्षण गर्ने मौका पनि नपाएपछि यसको असर लामो समयसम्म रहने निश्चित नै छ ।
खेलकुदका विभिन्न संघले अब नियमित प्रशिक्षणका साथमा मानसिक अवस्था पनि बलियो बनाउने खालको कार्यक्रमअघि लैजानुपर्ने रबिनाको सुझाव छ । ‘यस्तो हुन सके मात्र नेपाली खेलकुद पुरानो अवस्थामा फर्कन धरैबेर लाग्दैन’, उनको अनुमान छ । १२ गतेको विनाशकारी भूकम्पपछि संघले जेठ १ गतेबाट नियमित प्रशिक्षण गराउने निर्णय गरेको थियो । तर, २९ गते फेरि आएको भूकम्पका कारण प्रशिक्षण पनि अनिश्चितजस्तै बनेको महर्जनले बताइन् । ‘तर, पनि हामी आफैँ आफ्नो खेल नखस्कियोस भनेर त्रासै त्रासबीच पनि दैनिक १/२ घन्टा क्लबमा गएर नियमित प्रशिक्षण गरिरहेका छौँ’, उनले थपिन ।
प्रतिक्रिया