नेवि सङ्घले एक हजार विद्यार्थी पढाउने

जनकपुरधाम, १ जेठ । गत वैशाखमा गएको विनाशकारी भूकम्पबाट प्रभावित एक हजार छात्रछात्रालाई नेपाल विद्यार्थी सङ्घले पढाउने भएको छ ।

वैशाख १२ र २९ गते गएको ठूलो भूकम्प पढ्नबाट वञ्चित भएका भूकम्प प्रभावित जिल्लाका एक हजार विद्यार्थीलाई आफूहरुले पढाउने नेवि सङ्घले जनाएको छ ।

नेवि सङ्घका केन्द्रीय अध्यक्ष तथा सभासद् रञ्जित कर्णले भूकम्प प्रभावित एक हजार छात्रछात्राका लागि आफूहरुले पढाउने व्यवस्था मिलाउने बताए ।

नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभासद् कर्णले शक्तिशाली भूकम्पमा परी बाबुआमा गुमाएका त्यस्ता संरक्षणविहीन पीडित एक हजार विद्यार्थीको पठनपाठनको जिम्मेवारी आफूहरुले लिने बताए ।

भूकम्पका कारण अभिभावकविहीन भइसकेका त्यस्ता बालबालिकालाई अध्यापन गराउन नेवि सङ्घ र नेपाल बाल सङ्गठनबीच सम्झौतासमेत भइसकेको कर्णले जानकारी दिए ।

यसैगरी भूकम्पबाट प्रभावित मुख्य जिल्लामा नेवि सङ्घले एक लाख स्वयंसेवक परिचालन गरी भौतिक पुनःसंरचना निर्माणमा सहयोग गर्ने निर्णय गरेको कर्णले बताए ।

सरकारले अवलम्बन गर्ने भनेको एकद्वार प्रणाली राम्रो रहेको दाबी गर्दै सभासद् कर्णले एकद्वार प्रणालीबाट प्राप्त राहत सामग्री र रकम पारदर्शी हुने जनाए ।

भूकम्प प्रभावित प्रत्येक जिल्लामा क्षतिग्रस्त एक/एक विद्यालय निर्माण गर्ने लक्ष्य लिएको भन्दै सभासद् कर्णले यसका लागि नेवि सङ्घले प्रत्येक विद्यार्थीबाट न्यूनतम १५ सहयोग मागेको जानकारी दिए ।

यसैगरी राहत, उद्धार एवम् पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन नेवि सङ्घले १३ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको छ ।

प्रतिक्रिया