बुरुन्डीमा ‘कु’ गर्ने प्रयासको राष्ट्रसङ्घद्वारा निन्दा

burundiसंयुक्त राष्ट्रसङ्घ, १ जेठ । बुरुन्डीमा बल प्रयोग गरी सत्ता हत्याउन खोजिएको प्रयासको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको समाचार छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सो घटनाको विरोध गर्दै कानुन विपरीत र अवैध तरिकाहरु अपनाई यस्तो कार्य गर्ने प्रयत्न गरेको भन्दै सो घटनाको निन्दा गरेको हो ।

परिषद्ले यसरी अवैध तरिकाबाट शासन हत्याउन खोज्ने तथा यस्तो कार्यका लागि उक्साउने काम कानुन विपरीत भएको बिहीबार बताएको छ ।

पन्ध्र सदस्यीय सो परिषद्को बिहीबार बसेको बैठकले सबै सदस्य राष्ट्रहरुको सर्वसहमतिबाटै यो निर्णय भएको थियो ।

उक्त निर्णयपछि प्रकाशित विज्ञप्तिमा यस्ता कानुन विपरीतका कार्य गर्नेलाई कतैबाट पनि मलजल नगर्न पनि सबैसँग आग्रह गरिएको छ ।

परिषद्ले कानुनी शासनमा फर्किन तथा सबैले कानुनी शासन र आवधिक एवम् सबै नागरिकको सहभागितामा हुने निर्वाचनमा सघाउन पनि आग्रह गरेको छ ।

बिहीबार बुरुन्डीमा केही सशस्त्र हतियारधारीसमेतका प्रदर्शनकारीहरुले आन्दोलन गरी राष्ट्रपतिको सत्ता हत्याउने प्रयत्न गरेका थिए ।

तर सो प्रयास सफल भने हुन सकेन । तर पनि उक्त विद्रोह नरोकिएकाले आगामी दिनमा यस्ता क्रियाकलाप हुनसक्ने भन्दै कानुनी शासनका लागि राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सबैको ध्यानाकर्षण गराएको हो ।

प्रतिक्रिया