नेपालले पहिलो खेल अमेरिकासँग खेल्ने

काठमाडौं, १ जेठ । अर्काे वर्ष भारतमा हुने टी–ट्वान्टी विश्वकप छनोट चरणको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले आगामी जुलाई ९ देखि २६ सम्म आयरल्यान्ड र स्कटल्यान्डमा हुने आइसीसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगिताको सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेलमा जुलाई १० मा अमेरिकासँग खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले ११ जुलाईमा नामिविया, १३ जुलाईमा आयरल्यान्ड, १५ जुलाईमा हङकङ, १७ जुलाईमा पीएनजी तथा १८ जुलाईमा जर्सीसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै आइसीसीले सार्वजनिक गरेको अभ्यास खेल तालिकाअनुसार प्रतियोगिताअघि नेपालले पहिलो अभ्यास खेलमा ६ जुलाईमा ओमान तथा दोस्रो अभ्यास खेलमा ७ जुलाईमा युएईसँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल डब्लिनमा २६ जुलाईमा हुनेछ । प्रतियोगिताका शीर्ष ६ टोलीले अर्काे वर्ष (मार्च ११– अप्रिल ३) सम्म भारतमा हुने टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनेछ ।
स्कटल्यान्ड र युएईबीच जुलाई ९ तारिखमा इडेनवर्गमा उद्घाटन खेल हुनेछ । प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन आयरल्यान्ड हो । आयरल्यान्डले प्रतियोगितामा ह्याट्रिक गरिसकेको छ ।
प्रतियोगितामा १४ टोलीले सहभागिता जनाएका छन् । सहभागी १४ टोलीलाई आइसीसीले दुई समूहमा विभाजन गरेको छ ।
नेपाल सम्मिलित ‘समूह ए’ मा आयरल्यान्ड, हङकङ, पपुवा न्युगिनी (पीएनजी), नामिविया, अमेरिका र जर्सी रहेका छन् । यस्तै ‘समूह बी’ मा अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (युएई), नेदरल्यान्ड, स्कटल्यान्ड, क्यानडा, केन्या र ओमान रहेका छन् ।

प्रतिक्रिया