काठमाडौं, १ जेठ । सरकारले विद्यालय सञ्चालन गर्न अस्थायी कक्षा कोठा निर्माणका लागि ७५ हजारदेखि ३ लाख रुपैयाँ विद्यालयलाई दिने भएको छ ।
शिक्षा विभागले क्षतिग्रस्त कक्षाकोठा निर्माणका लागि रकम दिने भएको हो । विभागका प्रवक्ता खगेन्द्र नेपालले देशभरका क्षतिग्रस्त विद्यालयका कक्षाकोठा निर्माण गर्न रकम छुट्याइएको जानकारी दिए । विभागले भूकम्पबाट क्षतिग्रस्त सबै जिल्लाका विद्यालयलाई रकम दिने भएको छ । उनले २५ हजारका दरले अस्थायी सिकाइ कक्षाकोठा निर्माण गर्न रकम दिइने बताए । ‘२५ हजारका दरले कक्षा कोठा निर्माण गर्न रकम छुट्याइएको छ,’ उनले भने, ‘नपुगेको रकमका लागि फेरि प्याकेज ल्याउँछौँ ।’ उनले स्थानीय जनताको श्रमदानबाट ती टहरा निर्माण गर्ने जानकारी दिए ।
मन्त्रालयले दुई अर्ब रकम अस्थायी टहरा निर्माणका लागि छुट्याएको छ । प्रवक्ता नेपालका अनुसार करिब १५ हजार कक्षाकोठा पूर्णरूपमा भत्किएका छन् । उनका अनुसार कक्षा एकदेखि तीनसम्मकालाई ७५ हजार, कक्षा एकदेखि पाँचसम्मका लागि एक लाख २५ हजार, एकदेखि आठ कक्षासम्म दुई लाख, एक देखि १० कक्षासम्म दुई लाख ५० हजार र एक देखि १२ कक्षासम्मका लागि तीन लाख रुपैयाँ दिइने भएको छ । आंशिक क्षति भएका विद्यालयलाई मर्मत गर्न ३५ हजारदेखि एक लाख ५० रुपैयाँ दिइने भएको छ । विभागले शिक्षा कार्यालयलाई रकम निकासा गरिसकेको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिले रकम वितरण गर्नेछ ।
प्रतिक्रिया