काठमाडौं, ३१ वैशाख । राणाशासनको अन्त्यसँगै शिक्षाको ज्योति फैल्याउने उद्देश्यले २००७ सालमा साँखुमा खुलेको उग्रतारा पुस्तकालय मङ्गलबारको पराकम्पनले ध्वस्त भएकोे छ ।
यही वैशाख १२ गतेको भूकम्पले सामान्य क्षति भए पनि पुस्तकालय सञ्चालन हुँदै आएकामा मङ्गलबारको पराकम्पनले पछाडिको घर भत्किएर थिचेका कारण भवन पूर्ण रुपमा क्षति भएको पुस्तकालयका अध्यक्ष गोपालाल श्रेष्ठले जानकारी दिए ।
केही वर्षअघि पाठक बढेपछि पुल्चोक हरिहरभवनस्थित नेपाल राष्ट्रिय पुस्तकालयबाट पुस्तक ल्याई घुम्ती पुस्तकालय समेत चलाइएको थियो ।
पुस्तकालयले २००९ सालमा नेपालमा पहिलो पटक बुद्धिचाल प्रतियोगिताको आयोजना गरेको थियो जसलाई नेपाल बुद्धिचाल सङ्घले ऐतिहासिक घटनाका रुपमा लिपिबद्ध गरेको छ ।
इतिहासलाई जोगाउन पुस्तकालयले २०६१ सालमा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिताको समेत आयोजना गरेको थियो ।
“अहिलेका बालबालिकामा पुस्तक र पत्रपत्रिका पढ्ने बानी बढाउन पनि पुस्तकालयलाई निरन्तरता दिनु आवश्यक छ, भवन नै भत्किएपछि कसरी सञ्चालन गर्ने भन्ने समस्या आएको छ”, स्थानीय पवनलाल श्रेष्ठले भने ।
शङ्करापुर नगरपालिकास्थित बज्रयोगिनीमा रहेको पुस्तकालयमा तीन हजार महत्वपूर्ण पुस्तक छन् । पुस्तकालयमा नेपाली, नेवारी, हिन्दी, अङ्ग्रेजी, संस्कृत, तामाङ र केही पुस्तक जर्मन भाषाको समेत रहेको अध्यक्ष श्रेष्ठले बताए ।
पुस्तकालयमा विद्यालय र क्याम्पसस्तरका पाँच सय पाठ्यपुस्तक समेत छन् ।
भूकम्पले भवन नै भत्काएपछि पुस्तकालयमा पानी समेत छिर्न थालेको छ । ऐतिहासिक धरोहरका रुपमा रहेको पुस्तकालय जोगाउन समस्या परेको पुस्तकालय सञ्चालक समितिले जनाएको छ । पुस्तक जोगाउन कोठा भाडामा खोज्दा पनि पाइएको छैन ।
प्रतिक्रिया