भूकम्पले मोरङका ९८ विद्यालयमा क्षति

मोरङ, ३० वैशाख । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले मोरङका ९८ विद्यालयमा क्षति भएको जिल्ला शिक्षा कार्यालय मोरङले जनाएको छ ।

कार्यालयका अनुसार केही विद्यालयका भवनका पर्खाल चिरा परेका छन् भने धेरै विद्यालयका कम्पाउन्ड भत्किएका छन् ।

शिक्षा कार्यालय मोरङले १० विद्यालय भवनका पर्खाल चिरा परेर लड्ने अवस्थामा पुगेको जनाएको छ । चिरा परेका कक्षाकोठाका पर्खाल हल्लिएर लड्ने अवस्थामा पुगेका विद्यालयका कक्षाकोठामा विद्यार्थी नराख्न शिक्षा कार्यालयले निर्देशन दिएको सहायक जिल्ला शिक्षा अधिकारी राजेन्द्र बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीले चर्किएका र भत्किएका विद्यालय भवनका कक्षाकोठा बजेट अभावका कारण निर्माण सम्भव नरहेको बताए ।

विद्यालयमा भएको क्षतिका बारेमा जिल्ला दैवी प्रकोप उद्धार समिति, शिक्षा मन्त्रालय, शिक्षा विभागमा समेत जानकारी गराइसकिएको बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया