काठमाडौं, २९ वैशाख । वैशाख १२ गते गएको भूकम्पमा परेका खेलाडी तथा पीडितलाई मानसिक तनाव कम गराउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । थुप्रै मानिस त्रासपूर्ण वातावरणमा बसिरहेका कारण त्रासपूर्ण स्थितिलाई हटाउन कार्यक्रम गर्न लागिएको परिषद्ले जनाएको छ । यो योजनाअन्तर्गत आउँदोे शुक्रबारदेखि चार हप्तासम्म विभिन्न कार्यक्रम आयोजना हुनेछन् ।
शुक्रबार र शनिबार करिब एक महिना मानसिक तनाव मुक्त कार्यक्रम सञ्चालन गर्ने परिषद्को योजना छ । यसअन्तर्गत योगासहितका कार्यक्रम हुनेछन् । दशरथ रंगशालामा आयोजना गरिने सो कार्यक्रममा प्रत्येक दिन करिब ५ सय मानिसको उपस्थिति रहने अनुमान गरिएको छ । यसैबीच, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले क्षति पुगेका विभिन्न ठाउँमा निरीक्षण गरेका छन् । परिषद्ले विभिन्न खेलकुदका स्थल तथा अन्य ठाउँमा सरसफाइ र राहत कोष स्थापनालगायत कार्यक्रम सञ्चालन गरिसकेको छ ।
त्यस्तै, भूकम्पले राष्ट्रिय खेलकुद परिषद्मा पनि केही क्षति पुगेकाले परिषद् सदस्य सचिवको सचिवालयलगायत कार्यालय अन्यत्र सारिएका छन् । मुलुकको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला दरशरथ रंगशालाको केही भाग र अन्य महत्वपूर्ण स्थान क्षतिग्रस्त भएकाले परिषद् पुनर्निमार्णमा पनि सक्रिय हुने जनाइएको छ । वैशाख १२ गते गएको विनाशकारी भूकम्पले
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् र आसपासका खेल संरचनामा क्षति पु-याए पनि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भने असर गरेको छैन ।
प्रतिक्रिया