आफैंभित्र आमूल परिवर्तन

अहिले दुईवटा विचारधाराको तरंग राष्ट्रिय बहसको केन्द्रमा छ । एकथरीले महाविपत्तिलाई ठूलो अवसरको रूपमा लिएका छन् भने अर्कोथरीचाहिँ हैटीको उदाहरण अघि सारेर झस्काइरहेछन् । दुईवटै दृष्टिकोण वस्तुनिष्ठ र तर्कसंगत छन् । तर, हामीसँग हैटीको उदाहरण मात्र छैन । ठूला संकट र भयंकर विनाशपछि बौरेर झन् उन्नत विकास गरेका पोर्चुगल, जापान, चीन र क्युबाका उदाहरण पनि हामीसँग छन् । पोर्चुगल, जापान र चीनमा महाभूकम्पले अहिले नेपालमा भन्दा दसौँ गुणा बढी विनाश गरेको थियो । १२ मे २००८ मा चीनको बेन्चुआनमा गएको ८ रेक्टर स्केलको महाभूकम्पले अहिले नेपालको भन्दा १० गुणा बढी विनाश गरेको थियो । महाभूकम्पपछि पराकम्पन ‘आफ्टर सक’ ३० हजारपटक गयो । ८३ हजार ९ सय ८८ जनालाई भग्नावशेषबाट उद्धार गरिएको थियो भने करिब त्यतिकै संख्यामा शवहरू निकालिएका थिए । एक करोडभन्दा बढी घरबारविहीन भए । राम्रो कृषि उत्पादन दिइराखेका मलिला जग्गाहरू विलुप्त भए । एक सय चारवटा नयाँ ताल देखापरे । अधिकांश सडक भत्किए । विद्युत् आपूर्ति, खानेपानी आपूर्ति र सञ्चारका प्रणाली सखाप भए । मोटामोटी आठ सय ४५ अर्ब युआनको क्षति भएको आँकलन गरिएको थियो । यत्रो महाविनाशमा चिनियाँहरू पटक्कै अत्तालिएनन् । सिचुआन प्रान्तीय सरकारले सिचुआनलाई पश्चिम चीनको आर्थिक केन्द्र बनाउने भिजन अघि सार्‍यो । पुनर्निर्माणका लागि वैज्ञानिक कार्ययोजना तयार गरियो । यही लक्ष्य प्राप्तिमा जनता जुटे, केन्द्रले पूर्ण सहयोग गर्‍यो । सर्वप्रथम शान्तिसुरक्षा र कानुनी व्यवस्थामा चुक हुन नपाउने प्रबन्ध गरियो । फल्ट जोन, कमजोर बिन्दु, बाढी र पहिरोको सम्भावनालाई ख्याल गरी पुनर्निर्माण सुरु गरियो । पुरातात्त्विक संरचनामा साविकको शैली र कलात्मकतालाई यथावत् देखिने गरी वैज्ञानिक प्रविधि प्रयोग गरेर नवनिर्माण गरियो । कडा निरीक्षण र अनुगमन भएकाले सबै काम गुणस्तरीय भए । महाभूकम्प गएको तीन वर्ष नबित्दै सिचुआनले नयाँ कलेबर फेरिसकेको थियो । भयंकर विनाशलगत्तै उठेर सिचुआनले पुनर्निर्माणको उदाहरणीय नमुना देखायो ।
क्युबाचाहिँ भूकम्प वा प्राकृतिक कारणले महासंकटमा पुगेको थिएन । सन् १९६० देखि अमेरिका, युरोपको नाकाबन्दी झेल्दै आएको क्युबाको अर्थतन्त्रको प्राणाधार सोभियत रुस थियो । सोभियत संघको विघटन हुनासाथ अर्थतन्त्र धराशयी भयो । भूकम्पले ल्याएको अस्तव्यस्तताभन्दा सयौँ गुणा बढी हाहाकारको स्थितिमा क्युबा पुग्यो । तर, उनीहरू अत्तालिएनन् । उनीहरूले तुरुन्त उत्पादनका सम्भावना खोजे । बहुबाली उत्पादन हुने अर्गानिक खेती सुरु गरे । नयाँ मोडेलको आर्थिक उत्पादनले परिणाम देखायो । दस वर्ष नपुग्दै क्युबा जुरुक्कै उठ्यो ।
क्युबाले आफैँभित्र सम्भावनाको खोजी गरेजस्तै वा सिचुआनमा चीनले आफ्नै मौलिक ढाँचामा वैज्ञानिक प्रविधि प्रयोग गरेजस्तै हामीले पनि स्थानीय सीप र साधनमै वैज्ञानिक प्रविधि प्रयोग गरेर सुन्दर तथा सुरक्षित नेपाल निर्माण गर्न सक्छौँ । सम्भव किन देखिन्छ भने पार्टी नेताहरूले राजनीतिको आराधीकरण गरेर अपसंस्कृति भित्र्याए पनि नेपालीहरू अझै बिग्रिसकेका रहेनछन् भन्ने उदाहरण यसपालि भूकम्पपीडितको उद्धार र राहतमा स्वस्फूर्त जुटेका युवाहरू भए । नेपालीहरू आफ्नो राष्ट्रलाई सर्वोपरि राख्दारहेछन् भन्ने प्रस्टै देखियो । युएनह्याबिट्याट नेपालका वातावरणीय र सामाजिक हिसाबले दिगो वासस्थान कार्यक्रमका प्रबन्धक पद्मसुन्दर जोशीजी, ‘पुनर्निर्माण गर्दा वैज्ञानिक प्रविधिलाई मिसाएर स्थानीय सीप र साधनको अधिकतम प्रयोग गर्न सकिन्छ र गर्नु पनि पर्छ’ भन्छन् । आवासका लागि सहयोग समूह ९लुमन्ती० की प्रबन्धनिर्देशक लजना मानन्धर भन्छिन्, ‘भारत, पाकिस्तान, श्रीलंका र फिलिपिन्समा भुइँचालो र सुनामीको विनाशपश्चात् गरिएको पुनर्निर्माण हेर्दा स्थानीय समुदायलाई सुरक्षित भवन, संरचना निर्माण गर्ने प्रविधि, सीप सिकाएर उनीहरूकै अगुवाइमा स्थानीय सीप र साधन प्रयोग गरी सुरक्षित संरचना निर्माण गर्नु उपयुक्त हुन्छ ।’ नेपालीहरू राष्ट्रलाई विपत्ति पर्दा स्वस्फूर्त तबरले जुटिहाल्दारहेछन् । यस्तो अपूर्व पुँजी भएको नेपाल हैटीपथमा जाला कि भनेर किन शंका र अविश्वास उठिरहेछ रु कारण खोज्न धेरै टाढा जानुपर्दैन । राजनीतिक पार्टीहरूमा डनको पकड छ । माफिया र डनहरूले मिलाइदिने र परिचालन गरिदिने आर्थिक स्रोतमा नेताहरू आश्रित छन् । राजनीतिले सैद्धान्तिक आधारभूमि छाडिसकेको छ । मूल्य, मान्यताको जगमा उभिने र विचारको पक्षपोषण गर्ने मानिस असान्दर्भिक भएका छन् । अपराधी, डनहरूको पकडमा गएको पार्टी र उनीहरूमै आश्रित नेताहरूबाट राष्ट्रको पुनर्निर्माण कसरी सम्भव होला भनेर गरिएको आशंका जायज छ । यो आशंका र अविश्वासलाई चिर्न पार्टी नेताहरूले आचरण, व्यवहार र शैलीमा आमूल परिवर्तन ल्याउनुको विकल्प छैन ।

प्रतिक्रिया