‘अन्नपूर्ण पोस्टले पीत पत्रकारिता गरेकै हो ?’

Yuvaraj_Ghimireकाठमाडौं, २७ वैशाख । समाचारमा चित्त नबुझे त्यसको कानुनी उपचार खोज्ने बाटो छ । माध्यम छ । तर भारतीयहरूको मिचाह र हेपाह प्रवृत्तिले नेपाली जनता र सञ्चारमाध्यमहरू पटक पटक पीडित बन्नु परेको छ ।

समाचारको गहिराइसम्मै नपुगी भारतीय पक्षले नेपाली सञ्चारमाध्यम र त्यसमा काम गर्नेहरूलाई पत्रकारिताको पाठ सिकाउन थालेको छ । यसको उदाहरण बनेको छ ‘अन्नपूर्ण पोस्ट’ दैनिक ।

भारतको पछिल्लो शिकार ‘अन्नपूर्ण पोस्ट’ दैनिकका प्रधान सम्पादक युवराज घिमिरे भएका छन् । उनलाई काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासका एक कर्मचारीले कुटनीतिक मर्यादा विपरित पत्रकारिताको पाठ सिकाएका छन् । मर्यादा भुल्ने दूतावासका कर्मचारीको चौतर्फी आलोचना भएको छ ।

कुटनीतिक मर्यादा भुल्ने कर्मचारीको रवैयाको नेपाल पत्रकार महांघले आपत्ति जनाउँदै गम्भीर भएको जनाएको छ । महासचिव उजिर मगरले विज्ञप्ति जारी गरेर भारतीय राजदूतावास र कर्मचारीको कडा शब्दमा आलोचना गरेका छन् ।

‘वरिष्ठ पत्रकार तथा ‘अन्नपूर्ण पोस्ट’ दैनिकका प्रधान सम्पादक युवराज घिमिरेलाई भारतीय राजदूतावासका एक अधिकारीले कुटनीतिक मर्यादा विपरित लगाएको आरोपप्रति नेपाल पत्रकार महासंघ गम्भीर भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रधान सम्पादक घिमिरेका अनुसार बिहीबार नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव तथा प्रवक्ता अभय कुमारले अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारमाथि आपत्ति जनाएर ‘पीत पत्रकारिता’ गरेको आरोप लगाउँदै धम्काएका थिए ।

‘विनाशकारी भूकम्पबाट प्रभावित भएर पनि देश र जनतालाई सू–सुचित गर्ने आफ्नो कर्तव्यबाट पछाडि नहटि दिनरात खटिरहेको नेपाली मिडियालाई सम्बन्धित सबैबाट सहयोग र सद्भाव व्यक्त हुनुको साटो स्वतन्त्र पत्रकारिताको मर्म विपरित यसरी आरोपित गरिनु निन्दनीय छ’, महासचिव मगरले भनेका छन् ।

नेपाली मिडियामा प्रकाशित कुनै समाचारबाट दूतावासलाई आपत्ति भएको भए उक्त विषयमा कुटनीतिक तहबाटै तथ्य के हो ? भन्ने कुरा सार्वजनिक गर्नुपर्नेमा व्यक्तिगतरुपमा प्रधान सम्पादकलाई आरोप लगाइनु आफैंमा नेपाली मिडिया तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ ।

संचारकर्मीहरुलाई समाचार आफू अनुकुल भएन भन्दै आरोप लगाइनु कुनै पनि अर्थमा कुटनीतिक मर्यादा एवं स्वतन्त्र पत्रकारिताको मर्म अनुकुल हुन सक्दैन । ‘महासंघ घट्नाको छानबिन र संस्थागत धारणाका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँद छ’, विज्ञप्तिमा भनिएको छ ।

भूकम्पमा परेकाहरूको ण्उद्धारका लागि आएको भारतीय सेनाले ल्याएका दर्जन बढी पत्रकारहरूले दिएका गलत सूचनाबाट नेपालीहरू आजित भइरहेका बेला दूतावासका कर्मचारीको कार्यले सबैलाई चकित तुल्याएको छ । काममा भन्दा पनि सस्तो प्रचारमा रमाउन चाहने भारतीय पक्षको यो व्यवहारको सबैले आलोचना गरेका छन् ।

भारत के चाहन्छ ?

नेपालप्रति आफ्नो दबदबा रहेको देखाउन भारतीय पक्षले हदैसम्मको प्रयास गर्ने गरेको यसअघिका तथ्य कसैबाट लुकेको छैन । भारतले सानोभन्दा सानो कुरामा समेत हस्तक्षेप गर्ने गरेको छ । तराईका जिल्लामा साईकल वितरण होस् वा शिक्षा, विकास र सहयोगका नाममा भारतले नेपालीहरूलाई होच्याउने गरेको आरोप लाग्दै आएको छ । भारतीय पक्षको गतिविधिले पनि त्याही देखाउने गरेको कुटनीतिक क्षेत्रका जानकारहरूको बुझाइ छ ।

प्रभाव घटेकै हो ?

आफ्नो पक्षमा समाचार आएन भने धम्काउने लैनचौरको प्रवृत्ति हो । आफ्नो नकारात्मक समाचार नजाओस् भन्ने सोँच लैनचौरको छ । उसले सञ्चारमाध्यम र पत्रकारहरूलाई आफ्नो प्रभावमा पार्न समय समयमा डिनर, पार्टी र भारतको सयर गराउँदै आएको छ । तै पनि भारतीय पक्षले चाहे जस्तो समाचार नेपाली सञ्चारमाध्यमहरूले दिने गरेका छैनन् ।

के भन्छ लैनचौर ?

दूतावासका प्रथम सचिव अभयकुमारले प्रधानसम्पादक युवराज घिमिरेलाइ धम्की नदिएको दाबी गरेका छन् । उनले समाचारको विषयमा प्रधानसम्पादक घिमिरेसँग कुरा भएपनि आफूले कुनै अभद्र व्यवहार नगरेको दाबी गरेका छन् । ‘समाचार लेख्दा दुवै पक्षको कुरा राख्नुपर्छ भन्ने आग्रह गरेको हो’, अभयले भने, ‘मैले धम्याउने काम गरेको छैन ।’ चौतर्फी आक्रमण सुरू भएपछि भारतीय पक्ष बचाउको लविङमा लागेको छ ।

अभयलाई कारबाही

कुटनीतिक मर्यादा विपरित सम्पादकलाई धम्किदिने अभयकुमारलाई कारबाही होला त ? धेरैले भन्छन् हुँदैन । मर्यादा भुल्ने उनलाई कारबाही गर्नुपर्ने माग चौतर्फी उठ्न थालेको छ । यसमा नेपाल सरकारले पहल गर्नुपर्ने पत्रकार महासंघको माग छ ।

प्रतिक्रिया