ओखलढुंगाका दुई सय बढी विद्यालयमा क्षति

educationओखलढुंगा, २६ वैशाख । ओखलढुंगाका दुई सयभन्दा बढी विद्यालय भवनमा भूकम्पले क्षति पर्‍याएको छ । १२ वैशाखामा गएको विनाशकारी महाभूकम्पका कारण जिल्लाका २ सय ११ विद्यालय भवनमा क्षति पुगेको हो । क्षति पुगेका विद्यालयका ४ सय ५८ कक्षा कोठा प्रयोग गर्नै नमिल्ने गरी भत्किएका जिल्ला शिक्षा अधिकारी विजयप्रसाद आचार्यले बताए ।

श्रोत व्यक्तिलगायत विद्यालयका सम्बन्धित व्यक्तिबाट सूचना तथा तथ्यांक संकलन हुने काम भइरहेकाले यो संख्या थपिन सक्ने बताइएको छ । भूकम्पका कारण भत्किएका तथा क्षति पुगेको विद्यालयमा पठनपाठन सुचारु गर्न चाँडै अस्थाइ सिकाइ केन्द्र अर्थात् टिएलसी निमार्ण गरिने भएको छ । ध्वस्त विद्यालयमा टिएलसी निर्माण निर्माण गरी एक जेठदेखि पठनपाठन सुचारु गरिने श्रोतले जनाएको छ । टिएलसी निमार्ण तथ्यांक संकलनका लागि शिक्षा विभागका उपनिर्देशक गिरमान थापा ओखलढुंगा आइपुगेका छन् । उनका अनुसार चाँडै एकिन तथ्यांक संकलन गरेर पूर्ण क्षति पुगेका विद्यालयमा अस्थाइ सिकाइ केन्द्र निर्माण गरेर यही आउँदो जेठ एक गतेबाट कक्षा सञ्चालन गरिने भएको छ । जिल्ला शिक्षा कार्यालयमा शिक्षा विभागका उपनिर्देशक, जिल्ला शिक्षा अधिकारीलगायत शिक्षकका पेसागत संघ संगठनका प्रतिनिधि, शिक्षक र सञ्चारकर्मीलगायत उपस्थित भएको अन्तरक्रिया कार्यक्रममा ध्वस्त भएका विद्यालयको संरचनाको पुन. निर्माण र चाँडो विद्यालय सुचारु गर्ने विषयमा छलफल भएको थियो ।
छलफलका क्रममा चाँडै विद्यालय खोल्दा भूकम्पले पारेको नकारात्मक मानसिक प्रभावलाई न्यूनीकरण हुने साथै समुदायमा सकारात्मक प्रभाव पर्ने भएकाले त्यसप्रति सबै सरोकारवाला लाग्नुपर्ने बताइएको छ । यसैबीच भूकम्प प्रभावित जिल्लाका विद्यार्थीलाई दिउँसोको खाजाको व्यवस्था, पाठ्पुस्तक तथा विद्यालय पोसाकको व्यवस्थाका लागि पहल भइरहेको शिक्षा विभागका उपनिर्देशक थापाले अन्तरक्रियाका क्रममा जानकारी दिइएको छ ।

प्रतिक्रिया