भौतिक संरचनाको क्षतिले खेल गतिविधि प्रभावित

rangashalaकाठमाडौं, २६ वैशाख । गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पले नेपाली खेलकुद क्षेत्रमा पनि नराम्रो असर परेको छ । त्रिपुरेश्वरस्थित नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालामा रहेको खेलकुदसम्बन्धी विभिन्न भौतिक संरचना पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त हँुदा अहिले खेलकुदका सबै गतिविधि ठप्प छन् ।

विनाशकारी भूकम्पले अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको मुख्य प्रवेशद्वार पनि ढलेको छ । रंगशालाकै निर्माणधिन साधारण प्याराफिटको भागहरू चर्किनुका साथै फुटेको छ । बन्दै गरेको प्याराफिटमा नयाँ पिल्लर राखिएको कारण कम क्षति पुगेको अनुमान गर्न सकिन्छ भने रंगशालावरिपरिका सम्र्पूण पर्खाल भत्किएका छन् ।
यस्तै, त्रिपुरेश्वरमै रहेको राष्ट्रिय खेलकुद परिषद्का संरचनामा पनि विनाशकारी भूकम्पले ठूलो क्षति पुर्‍याएको छ । परिषद् भवनमा आंशिक रूपमा क्षति तथा परिषद् हाताभित्र रहेको लनटेनिस कोर्ट पूर्णरूपले क्षतिग्रस्त भएको छ । यस्तै, कभर्डहल र मिनी कभर्ड हलमा सामान्य क्षति पुगेको छ । पौडी पोखरी सबै फुटेर भग्नावशेषमा परिणत भएको छ । पौडी पोखरी क्षतिग्रस्त भएका कारण यसको भने पूर्णरूपले पुनर्निर्माण गर्नुपर्ने देखिएको छ ।
विनाशकारी भूकम्पले राष्ट्रिय खेलकुद परिषद् र रंगशाला गरी करिब ७/८ करोड बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिए पनि प्राविधिक टोलीको अनुगमनले क्षति अझै बढ्न सक्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले जानकारी गराए ।
सदस्य–सचिव लामाले विनाशकारी भूकम्पले क्षति पुर्‍याएको सबै संरचनाको पुनःनिमार्णका लागि अहिलेको बजेटले नपुग्ने भन्दै सरकारले सबै संरचनाको पुनःनिमार्णका लागि छुट्टै बजेट छुट्याउनुपर्ने बताएका छन् । केही पुनःनिर्माणका कार्य हामीले गरेका छौँ । तर, त्यो सबै सीमित श्रोतले गर्न नसकिने भएकाले सरकारले छुट्टै बजेट छुट्याउनुपर्ने उनले बताए । पुनःनिर्माणमा सबैभन्दा धेरै लागत रंगशालालाई लाग्ने सदस्य–सचिव लामाले बताए ।
उनले दशरथ रंगशालाको प्राविधिक टोलीले अध्ययन गरेपछि मात्रै के कति लागत लाग्ने त्यो आउने बताए । पुरानै संरचनामा केही थपेर बनाउन सकिने भए रंगशाला कम लागतम पुनःनिर्माण गर्न सकिने तथा पुरानो संरचनाले काम नगरे धेरै लागत लाग्न सक्ने थपे । त्यसपछि सबैभन्दा धरै लागत लाग्ने भनेको पौडी पोखरी हो । लामाले भने । यो पूरै भग्नावशेषमा परिणत भएको छ । यस पौडी पोखरी पुनःनिर्माण गर्न मात्रै करिब दुईदेखि तीन करोडसम्म लागत लाग्न सक्ने बताए ।
‘तत्कालै खेल सञ्चालन गर्न सकिने अवस्था छैन ।’ सदस्य–सचिव लामाले भने, ‘नियमित खेल सञ्चालनका लागि परिषद्को विशेष बोर्डको बैठक बसेर जेठको पहिलो साताबाट नियमित खेल सञ्चालन गर्ने तयारी गरिरहेका छौँ ।’ यस्तै, सदस्य–सचिव लामाले हिजो खेल अर्कै तरिकाले हुन्थ्यो भने अब केही समयका खेल फरक हुन सक्छ । सबैभन्दा पहिले खेलाडीलाई मानसिक रूपमा तयार गरी नयाँ ढंगबाट नयाँ सोचविचारसाथ खेल गतिविधिलाई अगाडि बढाउने तयारी गरिररहेको बताए । लामाले बढी प्रभावित भौतिक संरचना पुनर्निर्माण नभएसम्म खेलकुदका गतिविधि सञ्चालन गर्न सकिने कुनै अवस्था नदेखिएको भन्दै कम प्रभावित स्थानमा भने खेल सञ्चालन गर्न सकिने उनले बताए ।
भूकम्पपछि सबै संरचना ध्वस्त भए पनि परिषद्का नियमित प्रसाशनिक कार्य तथा बैठक खुला आकाशमुनि भइरहेको छ । केही कार्यालय भने क्षति नपुगेका ठाउँमा सारेर नियमित कार्यलाई अघि बढाइरहेको छ । दशरथ रंगशालामा भूकम्पले क्षति पुर्‍याउँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुन सकेका छैनन् भने खेलाडीले दैनिक रूपमा प्रशिक्षण गर्ने मौका पनि पाएका छैनन् । भूकम्पले पारेको असरले खेलकुदका विभिन्न प्रतियोगिता रद्द भएका छन् भने कतिपय प्रतियोगिता केही महिनाका लागि पछि सारिएको छ ।

प्रतिक्रिया