ओम अस्पतालमा उपचार पाइनन् मिठुदेवीले

Om-Hospitalकाठमाडौं, २६ वैशाख । ‘गरिबले बाँच्न पनि नपाउने,’ अधबैँसेले झर्किंदै भनिन्, ‘पैसा छैन भनेपछि बिरामी हेर्नै नहुने–छुनै नहुने ?’ चावहिलस्थित ओम अस्पतालको दृश्य हो यो ।

एउटी अधबैँसे ९० वर्षकी वृद्धा लिएर अस्पताल आएकी थिइन् । वृद्धाको गोडा सुन्निएका थिए । शुक्रबार बिहानदेखि नै उनको पिसाब बन्द भएको रहेछ ।

घरेलु औषधिमूलोले नभएपछि अस्पताल ल्याइएको हो । मजदुरी गरेर जीवन चलाएकी वृद्धाकी धर्मपुत्री मंगलीले पैसा नभएको बताएपछि अस्पतालका कुनै स्वास्थ्यकर्मीले वृद्धालाई उपचार त परको कुरा, छुँदा पनि नछोएको उनले बताइन् ।

अस्पताल परिसरका भलादमीतर्फ हेरेर प्रश्न गर्ने महिला जोरपाटी ओरालोमा बस्दै आएकी भगवती थापा हुन् । आफूसँगै बस्ने बहिनीले सहयोग मागेपछि अस्पताल आएको उनले बताइन् । बहिनीतिर देखाउँदै भगवतीले भनिन्, ‘यी बहिनीले आमालाई लिएर अपस्ताल जान लागेको, एक्लै परेँ, सहयोग गरिदिनुस् न भनेपछि आएकी हुँ ।’

उनले अस्पतालको व्यवहारले रिस उठेको बताइन् । ‘यो बूढी अब उपचार नपाएर मर्ने भइन् । यसको जिम्मा कसले लिन्छ ?’ भगवतीले प्रश्न गरिन् ।

वृद्धासँग बस्दै आएकी किशोरीले आफ्नै दुःख सुनाइन्, ‘मेरो नाम मंगली हो । भुइँचालो गएपछि मात्र थाहा पाएँ, मलाई यिनले जन्माएकी होइन रहिछिन् । तर, मैले थाहा पाउँदा मलाई यिनैले हुर्काएकी हुन् ।’ वृद्धाको नाम मिठुदेवी बस्नेत हो ।

मंगलीसँगै आएकी भगवतीले भनिन्, ‘कसैले सहयोग गर्छन् भने जानकारी दिनु होला है ! मेरो मोबाइल नम्बर ९८४११९८१३४ हो ।’

 

मंगलीले घरढलानमा ज्यामी काम गरेर आफू र आमा मिठुदेवीको दैनिकी चलाएकी रहिछिन् । उनी १५ वर्षकी छिन् ।

‘मोबाइल पनि किन्न सकेको छैन, शनिबार पहिलो दिनको भुइँचालोमा त हिँड्नै डर लाग्यो, जोपाटीमै बसेँ । दोस्रो दिन आइतबार बिहानै आमा हेर्न कलंकी पुगेकी थिएँ, घर ढलेछ तर आमा घिस्रिँदै बाहिर निस्केर रातभर बाहिरै बसिछन्,’ मंगलीले भनिन्, ‘बसमा राखेर जोरपाटी ल्याएँ ।’

जोरपाटी ल्याए पनि भूकम्प नरोकिएकाले बुधबारसम्म बाहिरै सुत्नुपरेको सुनाइन् । ओत बनाउने केही पनि थिएन र खुलै आकाशमा सुतेको मंगलीले बताइन् । साथीको डेरामा पाहुना लागेकाले ओढ्ने, ओछ्याउने थिएन । त्यसपछि आमालाई चिसो लागेर बिरामी परेको उनले सुनाइन् ।

‘आमालाई चिसो लाग्यो भनेर तातो खान, न्यानो पारेर राखियो तर हातखुट्टा त झन् सुन्निए,’ मंगलीले भनिन्, ‘बिहानदेखि पिसाब बन्द भयो, पहिले त घरमै औषधि ग¥यौँ, नभएपछि सहारा मागेर अस्पतालसम्म आयौँ ।’ उनले छिमेकीले भुइँचालोका कारण बिरामी र घाइतेलाई निःशुल्क दबाइ गर्छन् भनेकाले अस्पताल ल्याएकी हुँ ।’

अस्पतालका स्वास्थ्यकर्मीले निजी अस्पताल भएकाले निःशुल्क उपचार नहुने र मिठुदेवी भूकम्पपीडित नभएको बताए । ओम अस्पताल परिसरमा बाहिर दुईवटा पाल हालेर स्वास्थ्यकर्मी बसेको देखिए पनि ती वृद्धा गएपछि दुवै पाल रित्ता थिए ।

‘तपाईं चैँ को ?’ मंगलीले सौर्यसँग प्रश्न गरिन् । पत्रकार भएको जानकारी दिएपछि मंगलीसँगै आएकी भगवतीले भनिन्, ‘कसैले सहयोग गर्छन् भने जानकारी दिनु होला है ! मेरो मोबाइल नम्बर ९८४११९८१३४ हो ।’

प्रतिक्रिया