बागलुङ, २४ वैशाख । गत चैत २८ गते बागलुङ जिल्लाको क्षेत्र नं १ मा सम्पन्न संविधानसभाको उपनिर्वाचनमा दोस्रो ठूलो सत्तारुढ दल एमालेले आठ लाख ४६ हजार पाँच रुपियाँ खर्च भएको जनाएको छ ।
उपनिर्वाचनमा दोस्रो स्थान पाएको एमाले निर्वाचन आयोगसमक्ष खर्च विवरण बुझाउने पहिलो दल बनेको छ । बुधबारसम्म एमालेले मात्र खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी बाबुराम आचार्यले जानकारी दिए ।
उपनिर्वाचनबाट कांग्रेसका उम्मेदवार चम्पादेवी खड्का विजेता भएकी थिइन् । एमाले उम्मेदवार मनाकुमारी केसी दोस्रो बनेकी हुन् । निर्वाचनमा १० राजनीतिक दल र तीन स्वतन्त्रसहित १३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।
संविधानसभाको निर्वाचन ऐन २०७० अनुसार चुनावी परिणाम घोषणा भएको ३० दिनभित्र आयोगसमक्ष खर्च विवरण पेस गर्नुपर्ने प्रावधान छ । ऐनले निर्वाचनमा बढीमा रु १० लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ । उपनिर्वाचनको परिणाम चैत २९ गते घोषणा गरिएको थियो ।
ऐनअनुसार आगामी जेठ ३ गतेसम्ममा सम्पूर्ण राजनीतिक दलले विवरण बुझाउनुपर्नेछ । उपनिर्वाचनमा कांग्रेस, एमाले, एकीकृत माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र नेपाल परिवार दल तथा स्वतन्त्रबाट तुलसी थापा, सरस्वती पन्त र नैनकुमारी केसी चुनावी मैदानमा थिए । चैत २८ गते विद्युतीय मतदान भएको थियो ।
प्रतिक्रिया