राष्ट्रकै उपचार

नेपाल राष्ट्रका लागि महाभूकम्पले गरेको विनाश र त्यसले पार्ने असर अहिले देखिएजति मात्रै छैन, राष्ट्रिय जीवनका धेरै आयाममा परेको छ । र, यो असरको परिणाम पछिसम्म देखिनेछ । अब दुई महिनापछि मनसुनी वर्षा सुरु हुनेछ । घरविहीनका लागि त्यसअगावै घर निर्माण हुन सकेन भने लालाबालाको बिचल्ली त हुने नै छ, तिनीहरूको स्वास्थ्यमा समेत गम्भीर असर पर्नेछ । यसपालिको वर्षाले ठूला–ठूला पहिरो ल्याउन सक्नेछ । अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र (नासा) ले वेबसाइटमा उल्लेख गरेअनुसार भूकम्पले नेपालको उच्च हिमाली भेग र पहाडी भेगका ठूला चट्टानसमेत चिरिएका छन् । नासा र अन्य वैज्ञानिक अनुसन्धान संस्थाले सार्वजनिक गरेको तस्बिरमा चट्टान फुटेको प्रस्टै देखिन्छ । अन्तर्र्रािष्ट्रय एकीकृत पर्वतीय विकास तथा अनुसन्धान केन्द्र (इसिमोड) ले तत्काल ठूला हिमताल फुट्ने खतरा नभए पनि चट्टानहरू चिरिएकाले ठूला–ठूला पहिरा जानसक्ने सम्भावना औल्याएको छ । अब बस्ती बसाउदा ती पहिरोको जोखिम रहेको स्थानबाट बचाएर बस्ती विकास गर्नुपर्नेछ । सुरक्षित स्थानमा एकीकृत बस्ती बसाल्न उपयुक्त हुनेछ । ठूला–ठूला पहिरो जा“दा नदी,खोलाहरू थुनिने र पहाडी राजमार्गहरू अवरुद्ध हुन सक्नेछन् । यसबाट पार पाउन छुट्टै पूर्वतयारीको जरुरत पर्नेछ । यसले असर पार्ने अर्को आयाममा नेपालको राष्ट्रिय अर्थतन्त्रलाई विभिन्न कोणबाट नकारात्मक असर पार्नसक्ने छ । विश्वसम्पदा सूचीमा रहेका पुरातात्विक संरचनाहरू ध्वस्त भएकाले, हिमपहिरो गएर हिमाल आरोहणमा असर परेकाले, ग्रामीण होमस्टे–घर तथा होटेलहरू भत्केकाले र बाटाघाटाहरू अवरुद्ध हुनसक्ने भएकाले पर्यटक आगमन स्वात्तै घट्नेछ । नेपाली अर्थतन्त्रको मेरुदन्डको रूपमा रहेको पर्यटन उद्योगमा असर पर्नासाथ अर्थतन्त्र थला पर्नेछ ।

अन्तर्राष्ट्रिय संस्था र अर्थशास्त्रीहरूको प्रारम्भिक विश्लेषणअनुसार भूकम्पले नेपालमा १० खर्बबराबरको भौतिक क्षति गरेको छ । यो क्षतिपूर्तिका लागि राष्ट्रिय आयस्रोतको सर्वाधिक हिस्सा पुनर्निर्माणमा लगाउनुपर्ने भएकाले ‘चेनरियाक्सन’को जोखिम न्यूनीकरण गर्न राष्ट्रको क्षमता हुने छैन । भूकम्पले पारेको मानसिक असर त छ“दै छ, त्यसबाहेक जनस्वास्थ्यमा अरू असर पनि पर्नेछ । उद्योग, व्यवसायलगायत आर्थिक कारोबारमा कमी आउनासाथ आयस्रोत घट्नेछ । आय नभएकाले पौस्टिक खाद्यपदार्थ खरिद गर्ने क्षमता घट्नेछ । यसले जनस्वास्थ्यलाई कमजोर बनाउनेछ । यही बेलामा हैजाजस्ता रोगको महामारी फैलियो भने नियन्त्रण गर्न हम्मे–हम्मे पर्नेछ । उपभोग क्षमता घट्नासाथ उत्पादनमा असर पर्नेछ । उसै त निर्यातको प्रतिस्पर्धात्मक क्षमता कमजोर रहेको नेपाल राष्ट्रको निर्यातक्षमता झन् कमजोर हुनेछ । सरकारले यस वर्ष राष्ट्रिय आय ६ प्रतिशतले वृद्धि हुने लक्ष्य राखेको थियो । एडिबीले समेत नेपालको राष्ट्रिय आय चार दशमलब सात प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको थियो । महाविपत्तिले गर्दा अब एक/दुई वर्ष नेपालको जिडिपी वृद्धिदर तीन दशमलब पा“च प्रतिशतभन्दा बढी जानसक्ने सम्भावना न्यून देखिन्छ ।
राष्ट्रिय पुनर्निर्माण गर्न र राष्ट्रिय जीवनमा नवऊर्जा भर्नका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन गुरुयोजना बनाएर अघि बढ्नुको विकल्प छैन । सन् २०११ मार्चमा भूकम्पपश्चात् आएको सुनामीले गरेको विनाशको क्षतिपूर्ति र पुनर्निर्माण गर्न तथा पुनर्जीवन दिन जापानी जुन आत्मबलका साथ जुटेका थिए र भूकम्पले सेन्चुवा प्रान्तमा क्षति पुर्‍याउदा चीनले जसरी नवनिर्माण ग¥यो, त्यो अनुभवबाट हामीले पाठ सिक्न सक्नेछौ । देशभित्र र विदेशमा रहेका नेपालीहरू आप्नो सम्पूर्ण काम छाडेर राष्ट्रिय उद्धारमा एकजुट भएर लागेको देख्दा नेपाल राष्ट्रको पुनर्निर्माण र राष्ट्रिय पुनर्जीवनको सम्भावना प्रस्ट देखिन्छ । तर, यही संकीर्ण राजनीति, पार्टीका क्षुद्र नेताहरूको कारणले अनावश्यक लम्बिएको संक्रमणकाल, भ्रष्ट प्रशासनिक संयन्त्र र कामचोर कर्मचारीलाई हेर्दा पुनर्निर्माण र पुनर्जीवन असम्भव देखिन्छ । यो राष्ट्रको रोग होइन, महारोग नै यही हो । यसको उपचार नगरी राष्ट्र स्वस्थ हुनेछैन । सर्वप्रथम यो रोगको उपचार गरिहालौ र राष्ट्रलाई भलाचंगा, स्वस्थ बनाउ ।

प्रतिक्रिया