“गडफादर” र “शुभेच्छुक” गुमाउनुको पीडा

chuda-newमैले भलिबल खेल्न थालेको १४ वर्ष भयो । यो १४ वर्षको अन्तरालमा मसँग गर्व गर्नलायक अनुभूति छन् । समाजमा चिनिएँ, केही महत्वपूर्ण सफलता पाएँ । एउटा खेलाडीकोज्ञ खेलजीवनको अन्त्य हुन्छ नै । म पनि भलिबलमा खेलाडीकै रूपमा त्यति लामो समय रहन्न होला । खेलाडी जीवनपछि के गर्ने भन्ने सोच्ने बेला आएको छ । हरेक खेलाडीको खेलजीवनको अन्त्यमा एउटा चाहना हुन्छ । समारोहमा आफ्नो खेलजीवनमा सबैभन्दा महत्वपूर्ण योगदान पुर्‍याउने सबै व्यक्तित्वलाई आभार व्यक्त गर्दै खेलाडीजीवनको अन्त्य गर्ने मेरो पनि चाहना हो । खेलजीवन र व्यक्तिगत जीवनका अभिभावकबाट आशीर्वाद लिँदै खेलाडीजीवनको अन्त्य र नयाँ भूमिकामा आफूलाई प्रस्तुत गर्ने चाहना मेरो पनि छ ।

१२ वैशाखमा आएको भूकम्पपछि म त सुरक्षित रहेँ । तर, एउटा खेलाडीले जीवनमा भोग्ने सबैभन्दा महत्वपूर्ण पीडा मैले भोेगेँ । मेरो ‘गडफादर’ जसको कारण म यहाँ छु र जसको कारण मैले सामाजिक जीवन पाएँ, उहाँलाई गुमाउनुको पीडा व्यक्त गर्न पनि कठिन छ । मलाई भलिबलको प्रारम्भिक ज्ञान दिनेदेखि राष्ट्रिय खेलाडी बनाउनेसम्मका गुरु केशवलाल श्रेष्ठको निधन मेरो जिन्दगीकै दुःखद् घटना हो ।
हाम्रो पहिलो भेट हेटौँडामै भयो र अन्तिम भेट पनि त्यहीँ रह्यो । ती दुई भेटमा हाम्रो परिस्थिति फरक थियो । ५ वैशाख शनिबारका दिन म आमाको मुख हेर्न भनेर हेटौँडा गएकी थिएँ । मूल बजारमा उहाँको घर हो । म हिँड्दै गर्दा हाम्रो भेट भएको थियो । म हतारमा थिएँ । गुरुले हुप्रा चौरसम्म आफू पनि जाने बताउँदै एकछिन पर्खन भने पनि म हतारमा भएकाले थोरै कुराकानी गरेर हिँडे । मैले कसरी कल्पना गर्न सक्थेँ र ? यो नै हाम्रो अन्तिम भेट हुन्छ भनेर ।
गुरुले मसँगको भेटमा एउटा गुनासो गर्नुभएको थियो । ‘हेटौँडामा भलिबल हराउनै लाग्यो’ भनेर । मैले हटाँैडामा एकेडेमी खोल्ने विन्द्र गुरु (विन्द्रलाल श्रेष्ठ) लगायतको योजनाबारे सुनाएँ । उहाँहरूको योजना भलिबलको व्यवस्थित एकेडेमी बनाउने भन्ने थियो । प्रशिक्षकका बारे पनि चर्चा चलेको थियो । यसले गुरुलाई केही खुसी तुल्याएको थियो । कमसे कम मकवानपुर जिल्ला भलिबल खेलमा फेरि छाउने छ भन्ने आशा जागेको थियो । मेरो असई परीक्षाको लिखितको नतिजा प्रकाशित भएको धेरै दिन भएको थिएन । उहाँले मलाई बधाइ दिनुभयो र अघिल्लो चरणका परीक्षाका लागि शुभकामना पनि । त्यसपछि र्‍याडिसन होटलमा संघ अध्यक्ष दानबहादुर तामाङको छोराको बिहेको पार्टी भएको र कार्ड आफूसँग भएको कुरा पनि गुरुले गर्नुभयो ।
त्यसपछि म काठमाडौं गएँ । शनिबार १२ वैशाखमा भूकम्प आयो । अन्य नेपालीझैँ म पनि असहज अवस्थामा पुगँ । प्रहरी विभागमा मेरो ड्युटी भएका कारण म यतै व्यस्त रहेँ । उहाँको दाहसंस्कार भएको दिन राति मलाई हटाँडाकै साथीबाट फोन आयो । मलाई विश्वास गर्न गाह्रो भयो । र, स्वीकार्न कठिन भयो । एउटा खेलाडीलाई आफ्नो खेलजीवनको ‘गडफादर’ गुमाउनु्को पीडा कति हुन्छ ? त्यो मैले भोगेँ ।
हाम्रो पहिलो भेट २०५८ मा भएको हो । म कराँते सिक्न भनेर गी किनेर प्रशिक्षण स्थल गएको थिएँ । आठ कक्षामा पढ्थँ । अहिलेका परिचित महिला मुक्केवाज अनुराधा लामा, पूर्ण लामा र कराँतेका ईश्वर ढुंगानासँग पनि त्यहीँ भेट भयो । विरेन्द्र शिल्डका लागि भलिबल टोली बनाउने चर्चा चलेको थियो । म भलिबल खेल्न लागेँ । त्यहीँबाट मेरो खेलजीवनले अनौठो मोड लियो । कक्षा नौ र १० मा पढ्दा मैले मकवानपुर जिल्लाको वीरेन्द्र शिल्ड खेलेँ । त्यसपछि म कोलम्बोमा भएको दक्षिण एसियाली खेलकुदमा नेपाली राष्ट्रिय टोलीमा प्रवेश पाउन सफल भएँ । हाम्रो टोलीले कास्य पदक जित्यो । मैले भलबिल खेल्न थालेको पाँच वर्ष पुग्दा नपुग्दै हाम्रो टोलीले अनेकौँ सफलता पाउन थलिसकेको थियो ।
त्यसपछि नेपाल पुलिस क्लबले भलिबल टोलीको निर्माण ग¥यो । म पनि त्यहाँ पुगेँ । अन्य प्रशिक्षक सबैले राम्रो सिकाउनुभयो । हरेक खेलाडी कहाँ पुग्ने भन्ने प्रशिक्षकमा निर्भर गर्छ । सबै गुरुसँग राम्रोसँग सिकेँ र खेलजीवनमा केही महत्वपूर्ण सफलता पाएँ । तर, केशव गुरु जसले मलाई भलिबलको प्रारम्भिक ज्ञान दिनुभयो उहाँ नभएको भए म यहाँ हुन्नथेँ । उहाँको सहयोग, सद्भाव र आशीर्वादलाई सधैँ सम्झने छु । अझ उहाँसँग पारिवारिक साइनो पनि रह्यो । मेरो बुबा आर्मीको जागिरे हुँदा त्यहाँ केशव गुरुले नै भलबिल सिकाउनु हँदो रहेछ । यसकारण मेरो बुबाले पनि उहाँलाई गुरुको रूपमा चिन्नुहुन्छ ।
सानो छँदा मैले मनमनले सपना देख्ने गर्थें । भोलिपर्सि ठूलो हुन्छु । म पनि भलिबल सिकाउँछु । मैले आफू खेल्न थाल्दा देखेको यो सपना कति कठिन हो, म अहिले बुझ्दै छु । पैसा, स्थान र अन्य व्यवस्थापकीय कुराले मात्र यसरी सिकाउन सकिन्छ भन्ने अहिलेको यो परिपक्व अवस्थामा बुझेको छु । तर पनि मैले बाल्यकालमा देखेको सपना र गुरुको अन्तिम अवस्थासम्मको चिन्ता मलाई याद छ । म त्यसमा सतर्क छु ।
खेलकुद पत्रकार सुमन भोम्जनसँगको मेरो पहिलो भेट पनि हेटौँडामै भएको हो । मकवानपुरमा अन्तरकलेज भलिबल प्रतियोगिता भएको थियो । मकवानपुर बहुमुखी क्याम्पस पहिलो भयो । म प्रमाणपत्र तहको विद्यार्थी भएको समयको कुरा हो । म उत्कृष्ट खेलाडी भएँ । सुमनले उत्कृष्ट खेलाडीको ट्रफी प्रायोजन गर्नुभएको थियो ।
त्यसपछि हाम्रो भेट खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर वर्ष खेलाडी अवार्डको समयमा भयो । मेरो पनि त्यहाँ भूमिका थियो । त्यसै समयमा हाम्रो जिम्मेवारीको चाँजोपाँजो मिलाउने काम उहाँकै थियो । त्यस क्रममा हाम्रो भेटघाट हुन्थ्यो । खेलकुद पत्रकार मञ्चको उहाँ जिल्ला शाखाको प्रमुख हुनुहँदो रहेछ । अबको २६ गते मकवानपुरमा यसै खाले अवार्डको तयारी थियो । कार्यक्रमको संयोजक सुमन नै हुन्थ्यो । यस क्रममा उहाँको मकवानपुरका चिनिएका खेलाडीसँग सम्पर्क भइरहेको थियो । मसँग पनि सल्लाह हुने गरेको थियो ।
उहाँ हराएको कुरा अन्य साथीबाट थाहा पाएँ । अनुराधा, पूर्ण र मेरोबीचमा यस बारेमा कुरा हुन्थ्यो । तर, म साथीहरूको माझमा पनि उहाँ रिपोर्टिङको क्रममा कतै फसेको हुन सक्ने र फेरि पाइन सकिने सम्भावना व्यक्त गर्थें । मेरो यो कुराले हाम्रो समूहमा ढाडस दिन्थ्यो । तर, शुक्रबार उहाँको मोबाइल भेटियो, मान्छे भेटिएन भन्ने समाचारले हामी अत्तालिन थाल्यौँ । नभन्दै शनिबार उहाँको शव भेटियो । अरू साथीहरू जानुभयो । म ड्युटीमै थिएँ । पछि थाहा पाएँ । शव मकवानपुर लगेर दाह संस्कार भएछ ।
उहाँहरूको निधन नेपाली खेलकुदका लागि अपूरणीय क्षति हो । हामी मकवानपुरका खेलकर्मीका लागि थुप्रै कार्यक्रममा सँगै रहेका दुई व्यक्तिलाई गुमाउनुको थप पीडा छँदैछ ।
(मनोज घिमिरेसगको कुराकानीमा आधारित)

प्रतिक्रिया