कामले थाकेर सुतिरहेकै बेला पुरिएर २२ घन्टापछि जीवितै उद्धार भएका गोविन्दलालको अनुभूति
बिहानभरि खानीमा बालुवा बोकेर खाना खानका लागि घर आएको थिएँ । बिहान ११ः४५ बजे खाना खाएर यसो ढल्केको मात्रै थिएँ । काम गरेर धेरै थाकेकाले अलिकति रक्सी पनि पिएर सुतेको थिएँ । सुरुमा धेरै थाकेकाले केही थाहा पाइनँ तर भूकम्पका धक्काहरूले घरै नराम्रोसँग हल्लाउन थालेपछि भने पिएको नसाले पनि तुरुन्तै छोडेको थियो ।
नसाले छाडेसँगै भाग्नलाई धेरै प्रयास गरेको थिएँ । खुट्टा लरबराएको भए पनि ढुनमुनिँदै बाहिर निस्कन खोजेको थिएँ । सुतेको खाटबाट बाहिर जानका लागि ढोकामा के मात्रै पुगेको थिएँ, यसो सम्झिएँ र ज्वारीकोट सुतेको ठाउँमा छुटेकाले त्यो लिनका लागि फेरि अघि सुतेको ठाउँमा पुगेँ ।
तर, त्यो ज्वारीकोट समात्न नपाई घर ढल्न थालेको आवाज आयो । म एकदमै आत्तिएँ र हतारमा बाहिरतिर भाग्न खोजेँ । केही पाइला ढोकातिर लम्केको मात्र के थिएँ, घर त ढलिहालेछ । ढल्दै गरेको घरका इँटाहरूले मेरो शरीरमा लाग्न सुरु भयो । आत्तिएर झन् भाग्न थालेँ । ढोकाको कुनामा मात्रै पुगेको थिएँ, सबैका घर भत्केको आवाजसँगै आप्mनो घर पनि भत्कियो । अब इँटाहरूले मलाई थिच्न सुरु गरे । देव्रे हातले ममाथि आउँदै गरेका इँटा रोक्ने र कुहीनोले भित्ताको गारो समात्दै आफूलाई छेल्ने प्रयास गरिरहेँ । दाहिने हातले टाउकोमाथि आइरहेका र थुपिँ्रदै जान थालेका इँटा थेगेर बस्नुबाहेक अरू उपाय देख्न छोडेँ । केही अर्धचेत अवस्थामा रहँदासमेत आफूमाथि ओइरिँदै गरेका इँटा रोक्ने प्रयास गरिरहेको थिएँ । राति नजिकै केही आवाज आएको जस्तो सुनेर ‘मलाई बचाउ’ भन्दै चिच्याएँ । तर, कोही आएन । आवाज मात्रै सुनिरहेँ । रात छिप्पिएसँगै आकाशबाट पानी ठूलौ परेको अनुभव भयो । मलाई धेरै तिर्खा लागेको थियो । केही समय बितेपछि पानीको धारा टाउको नजिक आउन थाल्यो । त्यही पानी जेनतेन दाहिने हातले मुखसम्म पु¥याएर खाएको थिएँ । पानी खाँदा माटैमाटो भएको चाहिँ अनुभव भएको थियो । पानीको प्यास मेटियो ।
यसैगरी बस्दाबस्दै शरीरका विभिन्न भाग दुःखेको महसुस भइरहेको थियो । विस्तारै शरीरका ठाउँ–ठाउँमा लागेका चोटबाट बगेको रगतसमेत रोकिएको थियो । केही समयपछि अचेत अवस्था हुन पुग्यो । होस् आउँदा अस्पतालमा बेडमा उपचारमा कसरी कसले ल्याए, केही थाहा पाइनँ । (काठमाडौं शंखरापुर नगरपालिका–११ साँखुस्थित साल्खा टोलका गोविन्दलाल श्रेष्ठ । परिवारले समेत माया मारिसकेका ६० वर्षीय गोविन्दलाललाई करिब २२ घन्टा पछाडि स्थानीयले जिउँदै उद्धार गरेका हुन् । केही दिनको उपचारपछि डिस्चार्ज भएका गोविन्दलाल श्रेष्ठ पालमा बस्दै आइरहेका छन् । उनीसँग न बस्ने बास छ न त खाने अन्न । राहतको नाममा केही पाएका छैनन् । बाँकी उपचारसमेत ऋण गरेर गरिरहेका छन् ।)
यसै सन्दर्भमा गोविन्दलालकी श्रीमतीले आफ्नो अनुभूति यसरी सुनाइन्– ढोकाको आग्लोको प्वालबाट आएको हावा पाएर बाँच्न सफल भएका हुन् गोविन्दलाल श्रेष्ठ । शनिबार बालुवा खानीमा काम गरेर घरमा खाना खाएका थिए । खाना खाएर खाटमा सुतेका मात्रै के थिए, भूकम्पको कम्पन्न सुरु भयो र उनी आत्तिएर बाहिर निस्कन खोज्दा ढोकामा पुग्नै लाग्दा घर ढल्यो । गोविन्दलाई आफ्नै घरले पुरिदिएको दियो । ढोकाको कुनामा पुरिए पनि ढोकाको आग्लाको प्वालबाट आएको हावा खाएर उनी बाँच्न सफल भएका हुन् ।
उनी, गोविन्दलालकी श्रीमती सनमाया श्रेष्ठ, खेतबारीमा ज्यालादारीमा काम गर्ने भएकाले शनिबारसमेत खाना खाएर खेतमा काम गर्न गएकी थिइन् । भूकम्प जानासाथ काम छाडेर घरतर्फ हान्निइन् । उनी घरमा पुगेकी मात्रै के थिइन्, घरको हालत देखेर मूर्छा परिन् । केही समयपछाडि श्रीमान्को खोजी गर्दा राति अबेरसम्म नभेटिएपछि घरमै पुरिएको पत्ता लाग्यो । सनमायाको परिवारमा रुवाबासी मच्चिएको थियो । सनमाया श्रीमान्को जिउँदो नभएको शरीर भए पनि घरबाट निकाल्नुपर्यो भन्दै प्रहरी र स्थानीय सबैमा गुहार माग्न पुगिन् । तर, सुनुवाई कसैले गरेनन् । उनलाई लाग्यो, आफू महिला भएकैले उनको फरियाद कसैले नसुनेको हो । राति धेरै छिप्पिएकाले घरमा खोजी गर्ने सम्भावना थिएन । राति १० बजे गोविन्दलालका भतिज सुरेशलाल त्यो भत्किएको घरमा खोजीको क्रममा आइपुगे । काका भनेर चिच्याएर बोलाउँदा भित्रबाट काका गोविन्दलाल बोलेको आवाज सुनियो । त्यसपछि काका बाँचेको पत्ता लाग्नासाथ परिवारमा भएको रुबावासी हर्षमा परिणत भएको थियो । भोलिपल्ट सबेरै गोविन्दलालको सकुशल उद्धार भयो ।
त्यही टोलमा गोविन्दलालकै छिमेकको घटना हो, भूकम्पले नभत्किएको तर चर्किएको आफ्नो घरमा सामान झिक्नका लागि घरभित्र पस्दा घर भत्किएर पुरिएकी एक महिलाको एपीएफ टोलीले पौने घन्टाको अनवरत प्रयासमा शनिबार नै जीवितै उद्धार गरेको थियो । साँखुस्थित साल्खा टोलमा रहेको उक्त घरमा बिहान करिब साढे आठ बजे ४५ वर्षीया माया विष्ट सामान झिक्नका लागि घरभित्र गएकी थिइन् । घरको ताल्चा खोलेर भित्र पस्नासाथै उक्त घर भत्किएर विष्ट पुरिएकी थिइन् । ती महिला उक्त घरमा पुरिएको थाहा पाउना साथ त्यस ठाउँबाट करिब तीस मिटर टाढा ‘खोजी तथा उद्धार कार्य’ मा जुटिरहेका सशस्त्र प्रहरीको टोलीले त्यस ठाउँमा पुगी उनको उद्धार गरेको थियो ।
वैशाख १२ गतेको विनाशकारी महाभूकम्पमा परी साँखु क्षेत्रका प्रायः सबै घर ध्वस्त भएका छन् ।
प्रस्तुति : सञ्जीव दाहाल
प्रतिक्रिया