हैटीपथबाट फर्केर

चाइनिजहरू हरेक विपत्ति अवसर पनि हो भन्छन् । त्यस हिसाबले महाविनाशकारी भूकम्पले ल्याएको यो विपत्ति नेपालीका लागि राष्ट्र पुनर्निर्माणको अaवसर हुनसक्ने सम्भावना पनि देखिन्छ । राजनीतिक पार्टीका नेताहरूले दया, माया, करुणा र विवेक जस्ता मानवीय गुणलाई सिध्याएर र मूल्य अनि मान्यतालाई फालेर नेपाली समाजलाई स्वार्थी, लम्पट, पतीत र भ्रष्ट बनाउन कुनै कसर बाँकी राखेका थिएनन् । तिनीहरूले सम्पूर्ण बल लगाएर यत्रो अभियान चलाउँदा पनि नेपाली समाज धेरै बिग्रिसकेको रहेनछ । राष्ट्रलाई विपत्ति परेको यो घडीमा देशभित्र र बाहिर रहेका नेपालीहरू स्वस्फूर्त रूपमा जसरी सोहोरिएर आए र पीडित नेपालीको आँसु पुछ्न जुटे, यही स्वस्फूर्त भावना, त्याग र समर्पण नै हाम्रो अमूल्य पुँजी हो जसले राष्ट्र निर्माणको उज्यालो भविष्यको संकेत गरिरहेको छ ।
सन् २०११ मार्च ११ तरिखको अपराह्न ३ बजे जापानमा ८ दशमलब ९ रेक्टर स्केलको भूइँचालो गएको थियो । भूकम्प गइरहँदा गगनचुम्बी भवनहरू पिपलको पातसरी हल्लिएका थिए । नाङ्लोले अन्न निफनेझैं मान्छे निफनिएका थिए । भूकम्पको सम्भावनालाई ख्याल गरेर संरचनाहरू निर्माण गरिएकाले त्यत्रो भूकम्प आउँदा पनि त्यहँँ खासै क्षति भएन । भूकम्पले नगरेको क्षति भूकम्पपश्चात् आएको सुनामीले गर्‍यो । सुनामी अर्थात् समुद्री छालले जापानको सेन्दाई र फुकुसिमालाई सर्लक्कै निल्यो । तेल प्रशोधन केन्द्रहरूमा आगो लागेर फैलिरहेको थियो । आणविक ऊर्जा केन्द्रमा विस्फोट भएकाले विद्युत् उत्पादन बन्द भयो । आणविक विकरण चुहिएर अर्को संकटापन्न स्थिति बन्यो । सुनामीले १८ हजार मानिसलाई मृत्युको मुखमा पुर्‍यायो । तीन लाखभन्दा बढी विस्थापित भए । एकातिर विद्युत् सप्लाइ छैन, सञ्चार विच्छेद छ भने अर्कोतिर बजारमा ग्याँस, पेट्रोल, मट्टितेल र खाद्यान्न अभाव छ । यस्तो संकटापन्न स्थितिमा पनि जापानीजहरू अलि कति पनि विचलित भएनन् । यो संकटबाट राष्ट्रलाई पार लाउन सम्पूर्ण जापानीज एकजुट भए । टोकियोमा लोडसेडिङ हुँदा अन्य सहरका जापानीजले विद्युत् खपत आफैं घटाए । इन्धनको प्रयोग कम गरे । तत्कालको संकटबाट पार पाउन मात्र होइन, अझै विकसित, उन्नत, वैज्ञानिक र सुरक्षित जापान निर्माण गर्ने महाअभियानमा जापानीजहरू एक ढिक्का भएर दृढसंकल्पका साथ जुटिहाले । जापानीजहरूको राष्ट्रिय एकता, समर्पण र कर्मठतालाई विश्वले मुक्तकण्ठले प्रशंसा गर्‍यो ।
हुन त राजनीतिक पार्टीका नेताहरूले अमानवीयता, द्वेष र वैमनस्यको विष घोलेर नेपाली समाजलाई प्रदूषित गरिसकेका छन् । तैपनि अहिले महाविपत्तिमा छटपटाइरहेका नेपालीको आँसु पुछ्न र एकले अर्कोलाई सहयोग गर्न जसरी टाढा–टाढादेखि नेपालीहरू स्वस्फूर्त तवरले जुटे, यसले नेपालीहरू राष्ट्रनिर्माणमा पनि एकजुट हुन सक्छन् भनेर देखाउँछ । केवल एउटै मात्र खँँचो रहेछ– भिजन, अठोट, संकल्प, त्याग, समर्पण भएको एउटा दह्रो, इमानदार नेताको । जसले संयोजन गरोस्, ऊर्जा भरोस्, घच्घच्याओस् र आफैं नमुना बनेर देखाओस् ।
जनतालाई एक सूत्रमा बाँधेर राष्ट्रनिर्माणमा लगाउन सक्नु र नसक्नुको फरक हेर्न धेरै पर पुग्नु पर्दैन । सुनामीपश्चात्को जापान र भूकम्पपश्चात्को हैटीलाई हेरे पुग्छ । भयंकर सुनामीले ताण्डवनृत्य मच्चाएको जापानमा जापानीजहरूले एकजुट भएर पार लगाए अनि पुनर्निर्माण र पुनस्र्थापना पनि गरे । तर, भूकम्पग्रस्त हाइटीमा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय जगतले प्रदान गरेको १४ अर्ब डलरसमेत राजनीतिक भागबण्डा गरेर हजम गरिदिए । पुनर्निर्माणको चुनौति हाम्रो सामु छ । जापानलाई रोल मोडेल बनाएर त्यो पथमा अघि बढ्ने हो कि हैटीलाई
रोलमोडेल बनाएर हाइटीपथमा लाग्ने हो । हामी अहिले ठ्याक्कै दोसँँधमा छौं । हाम्रा राजनीतिक नेताहरूले आजसम्म आफ्नो स्वार्थका लागि राष्ट्रलाई नै भागबण्डा लगाउने भागबण्डाको परम्परा विकास गरेका हुन् । यो भनेको सरासर हैटीपथ नै हो । हैटीपथ छाडेर जापानी शैली अपनाऔं, हाम्रो यही शुभकामना छ ।

प्रतिक्रिया