काठमाडौं, २३ वैशाख । भूकम्पबारे जानकारी दिने राष्ट्रिय भूकम्पमापन केन्द्रका कर्मचारीका पीडा पनि भूकम्पपीडितका भन्दा कम छैनन् । केन्द्रमा बसेर सबैलाई सूचना दिइरहेका उनीहरू न समयमा खाना खान पाउँछन्, न सुत्न नै ।
लैनचौरस्थित खानी तथा भूगर्भ विभागको पुरानो भवनबाट भूकम्प आएको जानकारी गराइरहेका उनीहरूको दैनिकी भूकम्प प्रभावितजस्तै छ । चर्किएको घरमा बसेर उनीहरू पनि २४ सै घन्टा भूकम्पमापनका गतिविधि अपडेट गरिरहेका छन् । केन्द्रमा ६ कर्मचारी मात्र छन् ।
तारन्तार भूकम्प आएपछि उनीहरू घर पनि जान पाएका छैनन् । कार्यालयमा नै राम्रोसँग बस्न र खाना पनि समस्या छ । ‘हामी सूचना दिने मान्छे आफैँ डराइडराइ दिइरहेका छौँ,’ केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने, ‘भूकम्प आएको दिनदेखि घर जान पाएका छैनौँ ।’ उनले आफ्नै घर कस्तो छ भन्नेसमेत थाहा नभएको बताए ।
उनीहरू कार्यालयको कोठामा कतै भुइँको कार्पेट र सोफामा सुतेर सेवा दिइरहेका छन् । खाना बाहिर पकाउने गरिएको छ । ‘म यहीँ भित्र कोठामा सुत्छु, साथीहरू कोही त्यतिकै कार्पेटमा, कोही सोफामा सुत्नुहुन्छ,’ उनले आफ्नो टेबुलबाट सुत्ने ठाउँ देखाउँदै भने, ‘खाना पनि बाहिर पकाएर खान्छौँ । भूकम्प आएको दोस्रो दिनपछि मात्र खाना खायौँ ।’
अधिकारीले भूकम्प आएदेखि पहिलोपटक मंगलबार बाहिर निस्किएको बताए । अन्य कर्मचारी भने बाहिर निस्केका छैनन् । केन्द्रमा ६ कर्मचारीले निरन्तर भूकम्पमापनको गतिविधि जानकारी गराइरहेका छन् । केन्द्रप्रमुखले भूकम्पबारे गृहमन्त्री, सूचनामन्त्री, उद्योगमन्त्री, मुख्यसचिव र सूचना सचिवलाई अपडेट गराइरहेका छन् । ‘निरन्तर भूकम्प आइरहेको छ । कार्यालय छाडेर जाने कुरा पनि भएन । अपडेट गराउनुपरिरहन्छ,’ उनले भने, ‘तैपनि भवन भत्किने डरमा पनि बस्न र खानाबारे वास्ता नगरी काम गरिरहेका छौँ ।’ उनी दोस्रोपटकको भूकम्प आउँदा कार्यालयमा एक्लै थिए । शनिबार साढे १२ बजेको ६.६ को भूकम्प आउँदा उनी कार्यालयमा काम गरिरहेका थिए । भूकम्प आएपछि भागेको सुनाए ।
केन्द्रका सिस्मोजोजिस्ट भरतप्रसाद अधिकारी रात÷दिन भूकम्पबारे जानकारी दिनुपर्ने भएकाले कार्यालयमा नै दिनरात बित्ने गरेको बताउँछन् । उनी अन्य कार्यालयका कर्मचारीसँग रात÷दिन भूकम्पमापनबारे अपडेट गरिरहेका हुन्छन् । ‘निरन्तर भूकम्प आएको छ । त्यसको अपडेट गर्नुपर्छ,’ उनले भने, ‘त्यसैले कार्यालयमै बसेका छौँ । राति कार्यालयमै सुत्छौँ ।’
केन्द्रमा दरबन्दीअनुसार कर्मचारी छैनन् । केन्द्रमा भूकम्पमापन गर्न समस्या भएको छ । १५ कर्मचारीको दरबन्दीमा आधा जति कर्मचारी कार्यरत छन् । ८ कर्मचारी भए पनि ६ जनाले २४ सै घन्टा भूकम्पबारे अपडेट गरिरहेका छन् ।
केन्द्रप्रमुख अधिकारीले दरबन्दीअनुसार कर्मचारी नहुँदा समस्या परेको बताए । ‘दरबन्दीको आधा मात्र छाँै,’ उनले भने, ‘अहिले यस्तो बेला समस्या छ । सबैले दिन÷रात काम गरिरहेका छौँ ।’ उनले कार्यालयबाट २४ सै घन्टा अपडेट गर्नुपर्ने भएकाले दरबन्दीअनुसार कर्मचारी राखिनुपर्ने बताए । ‘अब हामी २४ सै घन्टा कार्यालय सञ्चालन गर्छौं,’ उनले भने, ‘गृह र उद्योग मन्त्रालयले पनि २४ घन्टा कार्यालय सञ्चालन गर्न भनेका छन् । कर्मचारी थपेर २४ सै घन्टा कार्यालय सञ्चालनमा ल्याउँछौँ ।’
यसअघि कर्मचारीले घरबाटै ल्यापटपमा इन्टरनेटसहितको डिभाइस जोडेर कार्यालय समयभन्दा अघि वा पछि भूकम्पबारे जानकारी गराउने गरेका थिए । ‘कार्यालय समयभन्दा अघि वा पछि हामीले घरमै बसेर भूकम्प आएको जानकारी गराउने गरेका थियौँ,’ उनले भने, ‘त्यो पनि सम्बन्धित अधिकारीलाई भूकम्प गएको आधा घन्टापछि मात्र जानकारी गराउँथ्यौँ । तर, अब हामी २४ सै घन्टा यहीँ बसेर मिनेट मिनेटमा जानकारी गराउँछौँ ।’
भूकम्पको पराकम्पन घट्दै
काठमाडौं । अघिल्लो शनिबार गएको ७.६ रिक्टर स्केल भूकम्पको पराकम्पन घट्दै गएको छ । अहिले पहिलेका तुलनामा निकै कम मात्रामा भूकम्पका पराकम्पन आइरहेका केन्द्रका सिस्मोजोलिस्ट रत्नमणि गुप्ताले जानकारी दिए । उनका अनुसार, मंगलबार तीन पराकम्पन आएका थिए । बिहान ६.३९ बजेर र दिउँसो ४.२३ र ५ बजे भूकम्पका पराकम्पन गएका थिए । सबै पराकम्पन ४ रिक्टरभन्दा माथि थिए । ‘मंगलबार तीन पराकम्पन आए,’ उनले भने, ‘पहिलेका तुलनामा अहिले निकै कम मात्रामा भूकम्प आइरहेको छ ।’ पहिलो दिन ३८ पटक कम्पन आएको सोमबार १० औँ दिनमा ९ पटक मात्र भूकम्प आएको थियो ।
१० औँ दिनको तुलनामा १० गुणा कम भूकम्प आएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । उनका अनुसार अहिलो दिनभन्दा आधाआधा हँुदै कम कम्पन आइरहेका छन् । अहिलेसम्म १ सय ४३ पटक ४ रिक्टरभन्दा बढीका भूकम्प आएका छन् ।
प्रतिक्रिया