हालसम्म ३९ हजार घाइते र बिरामीको उपचार

Bhukampa-Bhaktapurकाठमाडौं, २२ वैशाख । भूकम्पपीडित र प्रभावितहरुको उद्धार र उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट ८५ वटा अन्तर्राष्ट्रिय टोली परिचालन गरिएका छन् ।

यसैगरी, १०० भन्दा बढी राष्ट्रिय तथा गैरआवासीय नेपाली स्वास्थ्य विशेषज्ञहरुको टोली पनि भूकम्प प्रभावित क्षेत्रहरुमा परिचालन भएका छन् ।

आज भारतीय टोलीले लगनखेलमा, स्टकपाइलले पाटन, शिक्षण अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा, इजराइलले आर्मी अस्पताल छाउनीमा, पाकिस्तानले भक्तपुरमा उपचार गरेको छ ।

चीनले सिंहदरबार र धुलिखेल काभ्रेमा, भुटानले नुवाकोटमा, इन्डियन आर्मीले सिनामङ्गलमा, जाइका जापानले सिन्धुपाल्चोकको बाह्रबिसेमा, चेक रिपब्लिक र जापानले सिन्धुपाल्चोकको मेलम्चीमा, नर्वेले सिन्धुपाल्चोकको चौतारामा, थाइल्यान्डले सिन्धुपाल्चोकको सिपाघाटमा उपचार गरेको जनाइएको छ ।

जर्मनीले सिन्धुपाल्चोकको जलविरेमा, टर्कीले गोरखामा, एमएसएफ फ्रान्सले गोरखाको आरुघाटमा, कतार रेडक्रसले नुवाकोटको खरानीटारमा र क्यानडा र नर्वेले रसुवाको धुन्चेमा अस्थायी फिल्ड अस्पताल स्थापना गरी उपचार गर्न थालेका छन् ।

सोमबारसम्ममा भक्तपुर, धादिङ, दोलखा, गोरखा, काठमाडौं, काभ्रे, ललितपुर, मकवानपुर, नुवाकोट, ओखलढुङ्गा, रामेछाप, रसुवा, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङ र निजामती अस्पताल काठमाडौंमा गरी कुल ३८ हजार ८६५ जना घाइते र बिरामीको उपचार गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया