महाभूकम्पपछि नेपालप्रति संसारका खेलकर्मीको चासो

yuna_kimकाठमाडौं, २१ वैशाख । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले नेपालमा गएको महाभूकम्पपछिको अवस्थामा सहयोग गर्न आह्वान गरेका छन् । उनको जस्तै अभिव्यक्ति अर्जेन्टाइन फुटबल स्टार लियानेल मेसीले पनि गरेका छन् । यी दुवै स्टारले सेभ द चिल्ड्रेनले नेपालमा प्रभावित भएका १० लाख बालबालिकाका लागि कार्यक्रम ल्याउन जोड गरेका छन् । यिनीहरू मात्र होइन शीर्ष बरियताकी महिला गल्फर लिडिया कोले त एक साताको आम्दानी नेपालका भूकम्पपीडितका लागि सहयोग गर्ने बताएकी छन् । शुक्रबार मात्र १८ वर्ष पूरा गरेकी कोले नर्थटेक्सास सुटआउटको उपाधिसहित तीन लाख अमेरिकी डलर हात पारेकी छन् ।

यी तीनैजनासँग नेपालको न रगतको साइनो छ न जात न त धर्मको । मानवताको नाताले उनीहरू सहयोग गर्न तत्पर भएका हुन् । यसैबीच, अखिल नेपाल फुटबल संघ (एन्फा) ले भूकम्पपीडितका लागि १७ लाख ६० हजार रुपैयाँ सहयोग गरेको छ । एन्फा मात्र होइन, ओलम्पिक मुभमेन्टको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईसीसी) सँग नेपाल ओलम्पिक कमिटीले सहयोगका लागि प्रस्ताव गरिसकेको छ । यो प्रस्तावप्रति आईओसी सकारात्मक पनि भएको छ । आईओसीका अध्यक्ष थोमस ब्लोचले नेपालको भौतिक संरचना पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् । यसैगरी, अस्ट्रेलियामा बस्ने विजय शर्माले नेपाली क्रिकेट टोलीको जर्सी एक हजार तीन सय अमेरिकी डलरमा खरिद गरेका छन् । फिगर स्केटिङकी ओलम्पिक च्याम्पियन सुना किमले युनिसेफमार्फत नेपालका लागि एक लाख अमेरिकी डलर सहयोग गरेकी छन् ।
अन्तर्राष्ट्रिय खेल निकायको नेपालप्रतिको यो सद्भाव र सहयोगको सूचि अझ लामो हुन सक्छ । भारतीय क्रिकेट स्टार सचिन तेन्दुलकर, सौरभ गांगुली र राहुल द्रविडले नेपाललाई सहयोग गर्नका लागि आह्वान गरेका छन् । शीर्ष टेनिस खेलाडी राफेल नाडालले पनि महाभूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरिसकेका छन् ।
९ मेमा रुसमा विश्व तेक्वान्दो महासंघ (डब्लूटीएफ) को साधारणसभा छ । त्यस साधारणसभा र त्यहीबेला बस्ने कार्यसमिति बैठकमा नेपालको दैवीविपत्तिका बारे छलफल हुनेछ । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणा डब्लूटीएफलाई नेपालको दैवी विपत्तिको जानकारी गराउँदै अपिल गरेको बताउँदै भन्छन्, ‘विश्वास छ, तेक्वान्दो मुख्यालयले नेपालमा भएको दैवी विपत्तिमा उद्धारका लागि केही गर्ने छ ।’ त्यसो त नेपालले नेपालमा भएको दैवी विपत्तिका कारण सहभागी हुन नसक्ने र नेपालको यो समस्यामा मुख्यालयको पनि सहयोग आवश्यक रहेको जनाउँदै अपिल गरिसकेको छ ।
नेपालमा हुने कुनै सुखद् खबर या दैवी विपत्तिमा विदेशमा रहने नेपालीको पनि ठूलो साथ रहँदै आएको छ । खासमा क्यानडामा गिरीप्रसाद बुढाथोकी, अमेरिकामा लब गोर्खाली, मनमोहन वाइवा, कुमार कार्की, सविता राजभन्डारी र किशोर श्रेष्ठ, मकाउमा राजन खत्री, राजु नगरकोटी र घनश्याम खड्कालगायत नेपालीको भूमिका सधैँ सहयोगी रहँदै आएको छ । त्यो सहयोग चाहे नेपालमा बाढी पहिरोको समस्या हुँदा होस् या कसैको अल्पायुमा निधन हुँदा होस् । ती सहयोगी हातहरूको साथ यसपटकको महाभूकम्पको समयमा पनि पीडितहरूले पाउने नै छन् ।
त्यसो त नेपालमै राष्ट्रिय खेलकुद परिषद्ले सबै खेलाडीलाई भूकम्पपीडितको उद्धारमा सक्रिय हुन सर्कुलर जारी गर्नुले अनिवार्य सबै खेलकर्मीको सक्रिय सहयोग रह्यो । थुप्रै राष्ट्रिय खेलाडी यसमा होमिए । कराँतेका महेन्द्र राईको नेतृत्वमा किराँत खेलकुद संघ काठमाडौंको विपत्ति प्रभावित ठाउँमा राहत वितरण गरेर सिन्धुपाल्चोक पुगेको छ । कराँतेकै आरके श्रेष्ठले एक लाख रुपैयाँ सहयोग गरेका छन् । दीपक विस्ट, अशोक खड्का र रोमी गिरीलगायतको समूह यसै कार्यका लागि सिन्धुपाल्चोक पुगेको छ । यति हिमालयन शेर्पा क्लब राहत वितरणमा सक्रिय छ । तेक्वान्दोका राजीव बस्नेत र क्योकुसीनका उमेश गुरुङ यसै सहयोगी कार्यमा सक्रिय छन् । भलिबल प्रशिक्षक कपिलकिशोर श्रेष्ठ आफँ खाना खुवाउन पुगे । कराँतेका राष्ट्रिय टोलीका प्रशिक्षक कुशल श्रेष्ठ तीन दिनसम्म दशरथ रंगशालामा सेल्टर बनाउनका लागि खाना खुवाउन व्यस्त रहे । बाराका तेक्वान्दो प्रशिक्षक कासिम मिया खाद्यान्न सामग्री लिएर गोरखा पुगेका छन् । सागर थापा र अन्जन केसीलगायतको फुटबलको एउटा जत्था ललितपुरमा राहत वितरणमा सक्रिय रह्यो । खेलकर्मीको यो सहयोगी भावनालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाको प्रतिक्रिया यस्तो रह्यो, ‘खेलकर्मीको मानसिकता नै सहयोगी हुन्छ ।’
नेपाल मात्र होइन, संसारको खेल जगतमा नेपालमा भएको विपत्तिमा एकजुटझँै देखिएको छ । फिगर स्केटिङ, फुटबल, गल्फ, टेनिस, ओलम्पिक कमिटीलगायत संसारको सबै खेल क्षेत्र नेपालको विपत्तिमा दुःखित रह्यो । यो दुःख एउटा औपचारिकता मात्र भने पक्कै होइन, खेलकर्मी असल व्यक्ति हुनुपर्छ भन्ने मान्यताको अनुसरण हो । संसारमा खेलकर्मीमा देखिएको मानवीय संवेदनाको उदाहरण पनि हो ।
विश्व खेलकुद सन् ८० को दशकमा आइपुग्दा विभाजित थियो । भुगोल, राजनीति, वाद, धार्मिक सम्प्रदाय र शक्ति केन्द्रहरूको अत्यधिक प्रभाव खेलकुदका सामान्य विषय थिए । यी सबै विभेदलाई चिर्दै सन् १९८८ मा सोल ओलम्पिक भएको थियो । यसअघिका दुई ओलम्पिक लस एन्जलस पँुजीवादी राष्ट्रहरूको ओलम्पिक र मस्को ओलम्पिक साम्यवादीहरूको ओलम्पिकको रूपमा चित्रित थियो । सोलदेखि यताका हरेक ओलम्पिकमा संसारका सबै राष्ट्रको ऐक्यबद्धता रहँदै आयो । सन् २००८ मा आइपुग्दा बेइजिङ ओलम्पिकले ‘वान वल्र्ड वान ड्रिम’ को मोट्टो तय ग¥यो ।
‘संसारका सबै मानव जाति एकजुट हौँ’ भन्ने खेलकुदको सर्वमान्य सोचको विकास हुँदै जाने क्रममा सबै खेलका महासंघले समाज विकासमा खेलकर्मीको भूमिका महसुस गर्दै ‘सोसल रेस्पोन्सिबिलिटी डिपार्टमेन्ट’ को सोच अघि बढाए । यसको ध्येय तेस्रो विश्वमा रहेका सबै समस्यामा खेलकर्मीको भूमिका रहनुपर्छ भन्ने नै हो । एकपटक फुटबल स्टार जिनेदिन जिदानले अन्तर्वार्तामा भनेका थिए, ‘जतिसुकै ठूलो स्टार भए पनि मानवीय संवेदना भएन भने त्यसको अर्थ छैन ।’ उनले भनेजस्तै संसारमा रहेका सबै नेपाली खेलकर्मी त एकजुट रहे, नेपालीसँग अन्य कुनै साइनो नरहेकाहरू पनि मानवताको साइनोले यो विपत्तिमा साथ दिन तत्पर रहेका छन् ।
अबको बाटो
युद्धले क्षत विक्षत भएको अफगानिस्तानले खेलकुदमा लामो फड्को मा¥यो । कठीन जीवनशैली बिताएपछिको संघर्ष गर्ने खुबीको विकास नै अफगान प्रगतिको कारक हो । युद्धले जर्जर भएको अफगान खेलकुदप्रति खेलकुद निकायको सद्भाव प्रगतिको एउटा कारण बन्यो । सबै महासंघका ‘सोसल रेस्पोन्सीबीलीटी’ विभाग अफगानिस्तामा पनि सक्रिय रहे ।
८० को दशकको अन्त्यसम्म रंगभेद नीतिका विरुद्ध संघर्ष गरिरहेको दक्षिण अफ्रिका त्यसपछि लामो फड्को मार्न सफल भयो । त्यहाँको आर्थिक र सामाजिक विकासमा पनि खेलकुदका महासंघहरूको भूमिका महत्वपूर्ण थियो । क्रिकेट, बेसबल, एथलेटिक्स, फुटबल र पौडीका सबै खेलका महासंघ दक्षिण अफ्रिकाप्रति सकारात्मक भए । यी सबैको परिणाम पनि देखिएको छ ।
दस वर्षे माओवादी सशस्त्र युद्ध र अविरल वर्षाका कारण वार्षिक रूपमा हुने क्षति, अस्थिर राजनीतिक अवस्था, छोटो समयको अन्तरालमै हुने गरेका हवाई दुर्घटना र बढ्दो सडक दुर्घटनाका कारण आहत नेपाली अहिले महाभूकम्पबाट पीडित भएका छन् । यो क्षणपछि संसारका सबै खेलकुद निकाय र धेरै खेलका ‘सोसल रेस्पोन्सीबीलीटी’ विभागको सद्भाव नेपालीको यो पीडा कम गर्न केही सहयोगी हुनेछ ।

प्रतिक्रिया