शरणार्थी जसरी क्याम्पमा बसेका लाखौँ जनता प्रत्येक सेकेन्डमा मृत्युको भ्रम चिरेर बाँचेका छन् । धेरैलाई गत शनिबार नै लागेको थियो, ‘अब बाँचिँदैन ।’ काठमाडौँको विरासत मानिने धरहरा ढलेको छ । लडेको धरहराले विपत्तिको स्पष्ट संकेत विश्व जनसमुदायलाई दिएको थियो, अहिलेसम्म मृत्यु हुनेको संख्या ६ हजार नाघिसकेको छ, कम्तीमा पनि यो संख्या १५ हजार पुग्ने अनुमान नेपालका प्रमुख सेनापतिले नै गरिसकेका छन् ।
धनजनको क्षति ठूलो छ, चौपायाहरू किचिएका छन्, संरचनाहरू ध्वस्त छन् । त्रासदीको यस कठिन समयमा गाउँका मानिसहरू त्रिपालको अभावमा छन्, सहरका जनताले पानी खान पाएका छैनन् । चाउचाउ र बिस्कुट पुग्न नसक्दा भोकभोकै दिन काट्नेहरूको कमी छैन । साता दिनअघि सामान्य देखिने नेपालको दैनिकी अहिले चित्कार, छट्पटाहट, अभाव र तनावमा जेलिएको छ । साता दिनसम्म पनि भूकम्पको त्रास सकिएको छैन । सानातिना झट्काहरू आइरहेका छन् । जनता शोकमा परेका बेला सरकारमाथि नै उद्धारका लागि पर्याप्त ध्यान दिन नसकेको आरोप लागेको छ । तर, विश्वचर्चित केही खेलाडी, कलाकार तथा नेताहरूले नेपालप्रति आफ्नो ठूलो सद्भाव देखाएका छन् ।
तिब्बती धर्मगुरु दलाई लामाले नेपालमा गएको प्रलयकारी भूकम्पका विषयमा सुशील कोइरालालाई लेखेको पत्रमा भनेका छन्, ‘नेपालका जनता र तिब्बतका जनता इतिहासदेखि नै छिमेकी रहँदै आएका छन् । नेपालमा धेरै तिब्बती शरणार्थीसमेत बस्छन् ।’ उनले श्रद्धाञ्जली प्रकट गर्दै लेखेका छन्, ‘यस घटनामा परिवार गुमाउने, साथीभाइ गुमाउने तथा घरबार गुमाउनेप्रति म व्यक्तिगत रूपमा दुःख व्यक्त गर्न चाहन्छु ।
अब एक भएर विपत्तिको सामना गर्नुको विकल्प छैन । मैले दलाई लामा ट्रस्टमार्फत उद्धार तथा सहयोगका लागि हात फैलाएको छु ।’ क्याथोलिन धर्मगुरु पोप फ्रान्सिसले भ्याटिकन सिटीमा भूकम्पमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अपर्ण गर्दै उद्धारमा जुट्न सबैलाई आग्रह गरेका छन् । वर्तमान समयमा विश्वकै शक्तिशाली व्यक्ति मानिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालका राष्ट्रपति रामवरण यादवलाई लेखेको शोक सन्देशमा भनेका छन्, ‘हामी उद्धारका लागि तयार छौँ । म मृतक सबैप्रति समवेदना प्रकट गर्न चाहन्छु ।’
अमेरिकाका राष्ट्रपति बाराक ओबामा, दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकुब जुमा, अस्टे«लियाका प्रधानमन्त्री टोनी एबटलगायतले पनि नेपाललाई उद्धारको खाँचो रहेको बताएका थिए । साउदीका राजकुमार विन तलालले नेपालका लागि १० लाख डलर सहयोग गरिसकेका छन् । अमेरिका, रुस, बेलायत, जापान, चीन, भारतलगायत देशबाट समेत अर्बौं रकम सहयोग स्वरूप आइसकेको छ । तर, दुर्भाग्य राहत अझै गाउँ, गाउँमा पुगेको छैन । गाउँका जनता उल्टै प्रतिप्रश्न गर्दै छन्, ‘खोइ, कहाँ छ सरकार ?’
त्रासदीका एक साताबीच सकुशल रहेका नेपालीहरूले के–के गर्न भ्याएनन् । कालोबजारी गर्नेदेखि भारतीय मिडिया तथा उद्धार र सहयोगका लागि आएका भारतीय सेनाका जवानलाई हतोत्साही बनाउनेसम्म गरे । कालोबजारी नेपालकै केही स्वार्थी व्यापारीहरूले गरेका थिए, नेपालका मिडिया उनीहरूविरुद्ध होइन, भारतका सञ्चारकर्मी तथा सैनिक जवानहरूविरुद्ध कुर्लिए । विपत्को समयमा पनि भारतीयलाई मात्रै सैनिक जवानहरूले ओसारेको आरोप लगाउन नेपाली मिडिया अघि सरे । कतिले भारतीयहरूले उद्धारका नाममा नेपालमा जासुसी गरेको आरोपसमेत लगाए ।
भारतीय मिडियाले नेपालको बारपाक र सिन्धुपाल्चोकबाट प्रत्यक्ष प्रसारण गरेको हामीलाई कसरी सैह्य होस्, हाम्रा टेलिभिजनकर्मी काठमाडौँ बाहिर जान हम्मेहम्मे छ । हामीले खुलेयाम आरोप लगायौँ, ‘भारतीय सेनाको जहाजले पत्रकार ओसारेर प्रचारबाजी गर्यो ।’ आरोप त्यतिले पुगेन, उद्धारमा जुट्नुपर्ने हामी नेपाली अर्को आरोप लगाउन मस्त रह्यौँ, ‘भारतले जासुसी गर्यो ।’ आरोप–प्रत्यारोप र विपत्का समयमा केहीले देखाएको स्वार्थी चरित्रका बाबजुद भारत, चीन, पाकिस्तान, अमेरिका, फ्रान्स, बेलायतलगायत देशले नेपालीहरूको उद्धारमा निरन्तर सक्रियता देखाइरहेका छन् । कसैले ४८ घन्टा, कसैले ७२ घन्टा तथा कसैले ८० घन्टापछि समेत केही सीमित व्यक्तिलाई जिउँदै उद्धार गरेर विपत्का समयमा आशाको सञ्चार गराएका छन् ।
कहा कहा चुक्यो सरकार
गाउँमा हाहाकार मच्चिइरहँदा पनि उद्धार टोली अझै पुग्न सकेको छैन । समुद्रनजिक पर्ने देशहरूमा भूकम्पसँगै सुनामी आउँदा उद्धारमा कठिनाइ निम्तिएका घटना धेरै छन् । नेपालमा समुद्र नभएका कारण सुनामी आउने कुरै भएन, विपत् अवश्य ठूलो छ तर सरकारले खुट्टा छाड्दै केही गर्न नसक्ने बताइसकेको छ । अघिल्लो दिन चिनियाँ विमानलाई नेपाल आउन अनुमति दिने सरकारले २४ घन्टाभित्रै विमानलाई नेपाल नआउन भनिसकेको छ । तर, फेरि उद्धारका लागि हेलिकोप्टर चाहिएको सरकारकै भनाइ छ ।
विपत्का समयमा सरकारले देखाएको नौटंकीको सबैतिरबाट विरोध भइरहेको छ । जनताका नाममा राहत स्वरूप आएको रकम संसद्मा सार्वजनिक गराउनुको सट्टा संसद्को ढोका थुनेर अर्को वितण्डा मच्चाइरहेको छ । गोर्खाको बारपाक, सिन्धुपाल्चोक, काभ्रे, धादिङ र रसुवाको कुरै छाडौँ, काठमाडौंका जनताले समेत कहाँ देखेका छन्, सरकार । अहिले बारपाकका जनता भन्दै छन्, ‘कहाँ छ सरकार ?’ सिन्धुपाल्चोकका जनता भन्दै छन्, ‘खोइ सरकार ?’ काठमाडौँको टुडिँखेलमै टेन्टमा त्रसित भएर बसेका जनता भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा भन्दै छन्, ‘मोदी जिन्दावाद !’
अविरल–अविश्राम यात्रामा लागौँ
वरिष्ठ पत्ररकार विजयकुमार पाण्डेले सिन्धुपाल्चोककी एक बालिकालाई उद्धृत गर्दै लेखेका छन्, ‘भूइँचालो आउँदा दिएनन् भन्ने कुनै गुनासो छैन । भूइँचालो नआउँदा कहिलै केहि दिएको भए पो आस गर्नू ! माटोको घर थियो, भत्कियो । फेरि माटोले नै जोडौँला । ज्यान बाँच्यो । यही लाख भो हामीलाई ।’ उनीमात्रै होइन, अहिले सबैले आरोप–प्रत्यारोपका शृंखला छाडेर उद्धारमा जुट्नुपर्ने समय रहेको बताएका छन् । तर, यति भन्दैमा सरकारको कमजोर उपस्थितिको मूल्यांकन इतिहासले गर्दैन भन्ने होइन । धेरैले अहिले नै वर्तमान सरकारभन्दा राणाकालीन जुद्धशमशेरको सरकार जनमुखी रहेको बताइरहेका छन्् । भनिन्छ, ‘त्यतिबेला जुद्धशमशेरले कालोबजारी गर्नेलाई पाँचजना साक्षी राखेर गिड्न आदेश दिएका थिए ।’ तर अहिले विपत्मा कालोबजारी गर्नेमाथि सरकारले कारबाही गर्न बनाएको खास कुनै मापदण्ड बनाएको छैन ।
मौकाको फाइदा उठाउनेहरू बढेका छन् । राहतका नाममा विदेशबाट आएका त्रिपालहरू वास्तविक भूकम्पपीडितहरूले पाउन सकेका छैनन् । धनी व्यक्तिहरू सहयोग र उद्धारका लागि खट्न सकेका छैनन् । राजनीतिक पार्टीका नेता र कार्यकर्ताहरू उद्धारमा खटेका छैनन् । अहिलेको आवश्यकता सबै मिलेर उद्धारका लागि अघि बढ्नु हो । सबै वैमनस्य त्यागेर उद्धारमा खट्नु हो । कसका के–के कमजोरी भए भन्ने मूल्यांकन पछि गरौँला । अहिलेलाई दलाई लामाले भनेजस्तै सबै एक भएर अघि बढौँ, आफ्नो निर्वाचन क्षेत्र, जिल्ला वा गाउँ होइन, देश सम्झेर अझै देशभन्दा ठूलो धर्ती र मानवताको सम्बन्ध सम्झेर अघि बढौँ, उद्धार र राहत संकलनका लागि अविरल–अविश्राम यात्रामा लागौँ ।
प्रतिक्रिया