बितेको वैशाख १२ गतेको मध्यान्हपछि जसरी जसरी दिनहरू बित्दै जाँदा छन्, नेपालकै दोस्रो ठूलो महाभूकम्पले उत्पन्न गरेका त्रासदी र यसले दिएका अवसादहरू क्रमशः अभ्यस्त हुँदै जान थालेका छन् ।
भनिन्छ नि, समय संसारको सबैभन्दा ठूलो औषधि हो र यसले जस्तोसुकै घाउ पनि क्रमशः पुर्दै लान्छ । यद्यपि, मुटु र मन–मस्तिष्कमा एक किसिमको रित्तो अनुभूति र कहिल्यै नभरिने शून्यता रहिरहन्छ । महाभूकम्पले अनेक परिवारका सदस्यहरू लग्यो, अंगभंग तुल्याइदियो र घरबार ध्वस्त पारिदियो ।
पीडाको योभन्दा ठूलो अतिरेक भाव अरु के नै पो हुन सक्छ र ? तर, हामी जो जसले यो एक बारको जुनीमा फेरि पनि बाँचिरहने सौभाग्य पाएका छौँ, जिन्दगीको गाडी अगाडि बढाउनै पर्ने हुन्छ । आखिर, द सो मस्ट गो अन… ।
… … …
आज (शुक्रबार) एक साता पूरा भएको छ, गत १२ गते शनिबार लगभग मध्यान्हमा ७.८ रिक्टर स्केलको भुइँचालो नेपाललाई नराम्ररी हल्लाएर गएको थियो । त्यसको तत्काल प्रभावका रूपमा देखिएका र थाहा पाइएका कुरा थिए– धरहरा ढलेको थियो, वसन्तपुर र भक्तपुर दरबार ध्वस्त भएका थिए, काष्ठमण्डप र कालमोचन मन्दिर धूलिसात् भएका थिए, लोहकन्थली–कौशलटार सडकखण्ड भासिनुका साथै ठाउँठाउँमा धाँजा परेको छ, अनि यसबाहेक कति ठाउँका आवासीय भवन र पर्खालहरू ढले ।
सबैको यक्किन तथ्यांक थिएन तर समाचार प्रायः कानमा गुञ्जिरहेकै हुन्थे । भूकम्प गएको सातौँ दिनसम्म आइपुग्दा त्यो महाभूकम्पबाट मुलुकका विभिन्न भागमा १ लाख ३० हजारभन्दा बढी घर ध्वस्त भएका, झन्डै १० हजार मानिसको ज्यान गएको (वा जाने सम्भावना अत्यधिक रहेको) र लाखौँ मानिस घाइते भएको विवरण सार्वजनिक भइरहेको छ ।
देशी–विदेशी व्यक्तित्व, संघसंस्था र निकायहरू महाभूकम्पबाट पीडितहरूको उद्धार र राहत कार्यमा खटिएका छन् । नेपाल लगातार पछिल्ला अनेक दिनदेखि विश्व मिडियाको केन्द्र बनिरहेको छ । खण्डहरमय अवशेष र भग्नावशेषहरूबाट ५–६ दिनको अन्तरालपछि पनि महाभूकम्पले पुरेकाहरूको सकुशल उद्धार भएको छ ।
खासगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान र अधिकारीहरूले जति तदारुकतासाथ उद्धार एवंं राहत कार्यमा आफूलाई समर्पित गरेका छन्, त्यसको सबै नेपाली जनले मुक्त कण्ठले प्रशंसा गरिरहेका छन् ।
… … …
तर म कसरी भुल्न सक्छु त्यो महाभूकम्पको आतंक र त्रासदीपूर्ण क्षण ! त्यो अकल्पनीय मानवीय आर्तनाद र त्राहिमामको ईश्वरीय पुकारा ! सारा वातावरण नै त्यसरी पनि त्रसित, आतंकित र कोलाहलमय हुन सक्दो रहेछ भनेर मैले पहिलोपटक त्यही दिन थाहा पाएँ ।
उही भन्छन् नि, विपत्ति कसैलाई भनेर आउँदैन । अनि, हामी मनुवालाई के थाहा– हामी रमाइरहेको वातावरणमा अर्कै क्षण के हुन गइरहेको छ ? विगत मानिसले भोगिसकेको हुन्छ, वर्तमान देखिरहेको हुन्छ तर भविष्य उसले कहिल्यै थाहा पाउन सक्दैन । सायद त्यस दिन प्रकृति–निर्मित यही सत्यको ‘प्राक्टिकल कक्षा’ थियो ।
… … …
म आफू कार्यरत ‘सौर्य’ दैनिकको कार्यालय टंगाल जाने क्रममा अनामनगरमा थिएँ । बिहानै गठ्ठाघरस्थित निवासबाट निजी काममा कलंकी पुगेको थिएँ । त्यहाँका काम समाप्त भएपछि म एकजना सहधर्मी भाइ लक्ष्मणलाई भेट्ने मनसायले मोटरसाइकल पार्क गरेर अनामनगरको एउटा बेकरी पसल (पोखरेल बेकरी) को बेन्चमा बसेको थिएँ ।
घडी हरेँ, बिहानको ११ः५५ भइरहेको थियो । छेउको सडकमा ट्राफिक खासै थिएन । वाहनहरूको आवतजावत पातलै थियो । पैदल हिँड्नेहरू पनि उति बाक्लो संख्यामा थिएनन् ।
त्यो भाइलाई फोन गरेँ, उसले हनुमानथाननिजकै आइरहेको जानकारी दियो । फोन राखेको मात्र के थिएँ, अचानक हल्का कम्पन महसुस भयो । सुरुमा खासै ध्यान दिइन तर एकै छिनपछि कम्पन बढ्न थाल्यो । अनि बल्ल भूकम्प आएको निश्चित भयो ।
केही सेकेन्ड बिते पनि कम्पन रोकिएन बरु बढ्दै जान थाल्यो । वरिपरि हेरेँ– त्यहाँका अग्ला घरहरू भत्किएर च्याप्ने हुन् कि भन्ने भय पलायो ।
लगत्तै आफू बसिरहेको बेन्चबाट जुरुक्क उठेँ र सडक पार गरेर पारि सिंहदरबारको पक्की भित्तामा अडेसिएर उभिन्छु भन्ने सोच बनाएँ । तर, यो के ? बाटो नाघ्न खोजेको, हिँड्नै त के उभिनै पनि नसकिने भयो । सडक त पानीको सतहमा ठूला तरंगहरू गइरहे जसरी यताउता हल्लिइरहेको थियो । उभिन खोजेको म, त्यहीँ बाटामै ढलेँ । घुँडामा चोट लाग्यो ।
तैपनि, हात र खुट्टाले टेक्दै अनि क्रलिङ गर्दै जेनतेन म बाटो पार गर्न सफल भएँ र सिंहदरबारको पक्की भित्तामा अडेसिन पुगेँ । अझै भूकम्पको कम्पन रोकिएको थिएन । निरन्तर धक्काहरू गइरहेका थिए । अग्ला भवन र बिजलीका पोल एवं तारहरू पिङ खेले जसरी हल्लिइरहेका थिए ।
मानिस चिच्याउँदै यता र उता दौडिरहेका थिए । सडकमा ठाउँठाउँमा मोटरसाइकलहरू लडिरहेका थिए ।
पार्किङ गरिएका मोटरसाइकल पनि ढल्दै थिए । लाग्न थाल्दै थियो, हातमा विधिले लेखिदिएको
जीवनरेखा सायद आजसम्मको मात्रै पो थियो कि ! अनि आफैसित प्रश्न पनि गरेँ– भूकम्पका धक्काहरू किन यति लामो समयसम्म गइरहेका होलान् ? यस्तो त कहिल्यै सुनिएको थिएन !
… … …
मानिसलाई आतंकित र वातावरणलाई नै भयभीत पार्दै केही बेरपछि भूकम्प जाने क्रम रोकियो । हत्त न पत्त फोन झिकेर श्रीमतीजीलाई नम्बर डायल गरेँ । रिङ गयो, फोन उठेन ।
पटकपटक प्रयास गरेँ तर असफलता मात्र हात लाग्यो । साला भाइ नेपाललाई फोन गरेको संयोगवश उठ्यो र सन्चोबिसन्चो साटफेर भयो । सबै सकुशल रहेछौँ । मन केही ढुक्क भयो । अन्यत्र फोन गर्न खोजेँ तर कतै लागेन । अनि सडकतिर आँखा दौडाएँ ।
मानिस पीडा, छटपटि र त्रास बोकेर यताउता दौडिरहेका छन् । कोही नांगा खुट्टा ‘हे भगवान्’ भन्दै तेज गतिमा हिँडिरहेका छन् । म सिंहदरबारको पूर्वी गेटतर्फ बढेँ । एकजना महिला भेटिइन्, उनी भूकम्पबाट बँच्न भर्याङबाट तल ओर्लंदै गर्दा ठोक्किएर काखे शिशुको टाउकोमा गहिरो चोट लागेछ र त्यसमै हल्का औषधि र टिङ्चर आयोडिन लगाएर एक हातले शिशुको टाउकोमा कपासले च्याप्दै आँसु खसाल्दै थिइन् ।
अलि पर अर्की महिला भूकम्पले हल्लाएर ढोका आफँ लाग्दा दाहिने हातका चारवटा औँला थिचिएर चिरिएकाले आर्तनाद गर्दै थिइन् । अर्को कुनै स्थानीय मानिस भन्दै थिए– झ्यालमा बसिरहेको एकजना मानिसलाई भूकम्पले बाटोमा खसालिदियो । तत्काल अस्पताल पुर्याइएको त्यो व्यक्तिको दाहिने खुट्टा भाँचिए छ ।
भूकम्पको फेरि झड्का महसुस गरियो तर त्यो लामो समयसम्मको थिएन । अब त्यहाँ उपस्थित सबैजना खुला स्थानको खोजीमा दौडिन थाले । सिंहदरबारभन्दा अर्को उपयुक्त खुला ठाउँ त्यहाँ अन्यत्र थिएन । त्यही पूर्वतर्फको ठूलो गेट खोल्न लगाएर मानिस धमाधम भित्र पस्न थाले । ठूलै भिड जम्मा हुन थाल्यो ।
भूकम्पका झड्काहरू पनि निरन्तर गइरहेका थिए । त्यहीँ एकजना सर्वाङ भिजेका मानिस खाली खुट्टा अत्तालिँदै उभिएको देखा परे । सोधेको त उनले भने, ‘बल्ल बल्ल बाँचेर आउन सकेँ ।
पुरेश्वरस्थित वल्र्ड टे«ड सेन्टरमा थियौँ । अचानक भूकम्प आएर त्यहाँको स्विमिङ पुल र पानी ट्यांकीको पानी सबै माथिसम्म आएर बाहिर बग्न थाल्यो ।
त्यही पानीले बगाएर मसमेत अरू चारपाँच जनालाई परैसम्म हुत्यायो । बाहिरबाट ठीकै देखिए पनि भित्र निकै घाउ लागेजसरी दुःखिरहेको छ ।’ त्यो व्यक्ति लुगलुग काँपिरहेको थियो, यस्तैमा कुनै अर्को मानिसले उसलाई आफ्नो सर्ट फुकालेर दियो ।
ज्यान जोगाउने त्यहाँ भेला भएका हामीकै भिडमा गायक जीवन शर्मा, राजनीतिकर्मी परी थापा र अरूहरू पनि सपरिवार देखा परिरहेका थिए ।
… … …
अब समाचारहरू धमाधम आउन थाले– धरहरा ढल्यो ! बसन्तपुर, भक्तपुर, पाटन दरबार स्क्वायरहरूमा व्यापक विनाश भयो ! पाटनको कृष्ण मन्दिर, काष्ठमण्डप, कालमोचन मन्दिरहरू सबै ध्वस्त भए ! सडक भासियो र धाँजा परे ! धेरै ठाउँमा धेरै मान्छे पुरिए ! पर्खाल र ईंटाले लागेर वा च्यापेर अनेकको मृत्यु भयो ! आह, दैव ! जता सुन्यो, एकपछि अर्को हृदयविदारक समाचार मात्र । यस्तैमा भूकम्पका झड्काहरू रोकिइरोकिइ आइरहेकै थिए, मानौँ कुनै बालक हिक्का छाडेर सम्झिसम्झी रोइरहेको हुन्छ ।
… … …
तीन बजेतिर त्यहाँबाट निस्केर पत्रिकाको कार्यालयतिर हानिएँ । सिंहदरबारको पर्खाल ठाउँठाउँ भत्किएका रहेछन् । बबरमहल रिभिजेड स्थलमा बाटो छेउको भवन भत्केर दुईवटा कार माथिलाई थिचेको रहेछ । भद्रकालीमन्दिरतिरबाट हेरेको धरहराको नामनिसान नै थिएन ।
अलि पर ललितकला क्याम्पस र दरबार हाइस्कुल पनि भत्केछन् । त्यहाँबाट कमलपोखरी पुग्दा कृष्ण पाउरोटी भवनभन्दा अलि पर र खेलकुद मन्त्रालयभन्दा पछाडितिर रहेका दुई ठूला भवन भत्किएछन्, त्यहाँ मानिस पुरिएको कुरा उपस्थितहरू गरिरहेका थिए ।
अन्यत्र पनि पर्खालहरू भत्केको हेर्दै म कार्यालय पुगेँ । त्यहाँ प्रबन्ध निर्देशक अनुप घिमिरे, लेखक आनन्दराम पौडेल, सहकर्मी विमल योगी र एकजना गार्ड भाइ मात्र थिए । कार्यालय भवनमा भित्र बस्न सक्ने अवस्था थिएन । सबैलाई बाहिर चहुरमा भेटेँ ।
भोलि आइतबारका लागि सम्भावित सामग्री तयार पारेँ । तर, अन्य सहकर्मी साथीहरू को कता भन्ने केही थाहा भएन । कार्यालयमा सञ्चार उपकरणले राम्ररी काम गर्न सकेका थिएनन् । अनि सामान्य कुराकानीपछि म भक्तपुर निवासतर्फ हानिएँ ।
… … …
शरीर दुःखीरहेको थियो । घर र टोलका सबै मानिस घरभित्र नसुतेर बाहिर खुला ठाउँमा पाल टाँगेर सुत्ने तर्खरमा थिए । म पनि त्यसैमा मिसिनुको विकल्प थिएन ।
तीन दिन त्यसरी नै घरबाहिर पालमा चिसो, पानी, बतास र लामखुट्टेसित मितेरी लाउँदै सुतियो । बेलाबेलामा भूकम्पका झड्काहरूले निरन्तर तर्साइरहे । पाँच दिनको कहालीलाग्दो अवधिपछि मात्रै मानिसहरू क्रमशः घरभित्र सुत्ने साहस जुटाउन सफल भए ।
… … …
नब्बे सालपछिको यो ठूलो भूकम्प थियो । यस महाभूकम्पका पीडित एवं प्रभावितहरूलाई केही सहयोग पुर्याउने मनशायले मंगलबार भृकुटीमण्डप पुगेर रक्तसञ्चार केन्द्रमा म र सालो भाइ नेपाल थापाले एक–एक पिन्ट रगत दान ग¥यौँ । अरू सहयोग पनि गर्नैपर्ने हाम्रो नैतिक दायित्व छँदै छ ।
त्यसरी रक्तदान गर्नेहरूमा युवाकवि चन्द्रवीर तुम्बापोसमेत अरूहरू पनि अनेक थिए । त्यहाँ पनि समस्या देखियो । रक्तदाताहरू रक्तसञ्चार केन्द्रको क्षमताभन्दा निकै बढी संख्यामा
उपस्थित थिए ।
यो मैले जीवनमा गरेको १९औँ पटकको रक्तदान थियो । तर, यसपटक रक्तदान गर्दा केही फरक अनुभूति भइरहेको थियो । सायद म कालबाट बाँचेको थिएँ, त्यसैकारण रक्तदान गर्न समर्थ भएँ । ती जो जो महाभूकम्पमा परेर आफू हराए, आफ्ना हराए र आफ्नो गुमाए, उनीहरूका लागि मेरो एक पिन्ट रगतको मूल्य कति नै पो होला र ?
तापनि, मलाई लागिरहेछ, प्रकृतिका अगाडि हामी मानवहरू कति निरीह ? यद्यपि, यही प्रकृति वा प्रारब्धले यत्रो ठूलो भूकम्पबाट मलाई सुरक्षित राख्यो । सायद मैले यो एक बारको जुनीमा थप केही असल कार्य गर्न बाँकी नै रहेछ । धन्यवाद प्रारब्ध ।
प्रतिक्रिया