काठमाडौं, वैशाख १८ । महाभूकम्पको छैटौँ दिनदेखि काठमाडौंमा दुर्गन्ध बढ्न थालेको छ । भूकम्पले भत्काएका भौतिक संरचना क्षेत्रमा झिँगा भन्किन थालेका छन् । राजधानीको कलंकीस्थित स्युचाटारनजिकै भत्किएको घरमा झिँगा भन्किएको छ । त्यहाँ भूकम्पले ६ तले घर भत्काएको छ ।
घर भत्किएपछि नेपाल आर्मी, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको उद्धार टोलीले ९ जनाको शव तथा १२ जनालाई जीवित्तै उद्धार गरेको थियो । त्यहाँ अझै पनि शवहरू रहनसक्ने स्थानीयले अनुमान गरेका छन् । विभिन्न देशका उद्धार टोली त्यहाँ पुगेर चेकजाँच गरे पनि जीवित मानिस भने नभएको ठहर गर्दै फर्किएका थिए । स्थानीयका अनुसार गेस्ट हाउस रहेको घरमा बैठक भइरहेको र बैठकमा ४० को संख्यामा मानिस भएको अनुमान छ । त्यहाँ अझै केही मानिस पुरिएको र उनीहरूको शव गन्हाएकाले झिँगा भन्किएको हुनसक्ने स्थानीय बताउँछन् ।
पानीपोखरी तथा गोंगबु आसपासमा भत्किएका घरहरूमा पनि झिँगा भन्किन थालेका छन् । राजधानीको सीतापाइलामा भत्किएका केही घरमा पनि दुर्गन्ध फैलिन थालेको छ । कतिपय स्थानमा भत्किएका घरहरूमा अझै पनि शवहरू पुरिएर रहेकाले गन्हाउन थालेका हुन् । घर भत्किएर मानिस पुरिएका सम्भावित स्थानहरूमा बिहीबार पनि उद्धार कार्य जारी रह्यो । सो क्रममा विभिन्न ठाउँमा झन्डै दर्जनको संख्यामा शव निकालिएको छ ।
धरहरा भत्किएपछि तेस्रो दिनमै सो क्षेत्र दुर्गन्धित बनेको थियो । अहिले भने धरहरा आसपास तथा अन्य विभिन्न ठाउँमा दुर्गन्ध कम गर्ने केमिकलसमेत प्रयोग गर्न थालिएको छ । खुल्लामञ्चमा पनि केमिकल प्रयोग गरिएको छ । तर, बाहिरी सडकपेटीमा थोपरिएको फोहोर भने गन्हाउन थालेको छ ।
शनिबारको महाभूकम्पपछि फोहोर उठाउने कार्यसमेत रोकिएको छ । फोहोर लिन नआएपछि स्थानीयले सडक तथा खुला ठाउँमा नै फोहोर फाल्दा त्यसले पनि उपत्यका दुर्गन्धित बन्न थालेको छ । महाभूकम्पमा मरेका विभिन्न पशुपंक्षी मरेर कुहिन थालेका छन् । कति ठाउँमा शवसमेत गन्हाउन थालेको छ । अझै फोहोरको उचित व्यवस्थापन हुन नसक्दा काठमाडौंसहित उपत्यकामा नै दुर्गन्धित बन्न थालेको हो । उपत्यका दुर्गन्धित बनेसँगै विभिन्न सरुवा रोगको महामारी फैलने सम्भावना पनि बढेर गएको छ । स्वास्थ्य मन्त्रालयले भने दुर्गन्ध रोक्न र त्यसबाट उत्पन्न हुनसक्ने रोगको महामारीबाट सचेत हुन सबैलाई आग्रह गरेको छ ।
सडकपेटीबाट शव उठाइयो
महाभूकम्प गएको ६ दिनपछि जमलस्थित कान्तिपथ मार्गको सडक छेउमा एउटा शव फेला परेको छ । शव गन्हाएर झिँगा भन्किएपछि प्रहरीले खोजी गर्दा बाटोमा नै शव फेला परेको हो ।
शनिबार मध्याह्न गएको भूकम्पमा बाटोछेउको पुरानो घर भत्किएर बाटो हिँड्ने यात्रुको मृत्यु भएको हो । सोही ठाउँमा यसअघि डोजरले सडकमा खसेको माटो पन्छाएको थियो । डोजरले सडक बाटो पन्छाउने क्रममा थोरै ख्याल गरेको भए उक्त शव पहिले नै फेला पर्नसक्ने स्थानीयको भनाइ छ ।
स्थानीयले लडेर थुप्रिएको बाटोको घरमा अरू पनि मानिस पुरिएको हुनसक्ने अनुमान गरेका छन् । गन्ध आइरहेको छ, झिँगा पनि देखिन्छ एक स्थानीयले भने, ‘यहाँ अझै मानिस पुरिएका छन् जस्तो छ तर कसैले खोज्दैनन् ।’
प्रतिक्रिया