विवाहको अन्यौलमा कंगना

Kanganaमुम्बई । विवाहको निर्णय गर्न कोही हतारिन्छन् त कोही निकै समय सोच्ने गर्दछन् । बलिउड नायिका कंगना रनावत पनि अहिले नै विवाह गर्ने या नगर्ने भन्ने विषयमा अन्यौलमा छिन् ।

हाल २८ वर्षको उमेरमा पाइला टेक्दै गरेकी कंगना चाहिँ ३५ वर्षभन्दा अगाडि बिहे गर्न नहुने धारणा राख्छिन् ।

‘कहिलेकाहीँ मलाई बिहे गर्नुपर्छ जस्तो लाग्छ, तर कहिले फेरि यति चाँडै बिहे गर्नु हुँदैन भन्ने पनि लाग्छ,’ उनी भन्छिन्, ‘मलाई लाग्छ बिहेको सही उमेर ३५ वर्ष नै हो ।’

कंगना चाँडै नै आनन्द एल रायको फिल्म ‘तनु वेड्स मनु’ को सिक्वेलमा देखिँदैछिन् । जसमा आर माधवन, जिमी शेरगिलको पनि अभिनय रहेको छ । यो फिल्ममा कंगना दोहोरो भूमिकामा देखिँदैछिन् ।

माधवनका अनुसार फिल्मको कथा तनु र मनुको बिहेको चार वर्षपछिबाट सुरु हुन्छ । बिहेको कारण तनावमा रहेका यी दुई सम्बन्धविच्छेद गर्ने निर्णयमा पुग्छन् । यही बेला मनु हरियाणवीका एक एथलेटिक्स खेलाडीसँगको प्रेममा पर्छन् जसको अनुहार तनुको जस्तै हुन्छ ।

कंगनाले हरियाणवी युवतीको भूमिकामा अभिनय गर्न निकै मिहिनेत गर्नुपरेको थियो । फिल्मका लागि उनले हरियाणवीका एक शिक्षक पनि भाडामा लिएकी थिइन् ।

प्रतिक्रिया