काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका चित्रकला विभाग प्रमुखले मनोमानी ढंगले कार्य सञ्चालन गरेको भन्दै कला क्षेत्रका आठवटा संस्थाले विभागमा तालाबन्दी गरेका छन् । पाँचौं राष्ट्रिय ललितकला प्रदर्शनी चलिरहेका बेला विभागका प्रमुखको राजीनामा माग गर्दै एक्मी लर्निङ सर्कल स्कुल अफ फाइन आर्ट, कला क्रान्ति अभियान केन्द्रीय समिति, सुप्रभात आर्ट ग्यालरी ललितपुर, ब्लोजम आर्ट संगम काठमाडौं, ललितकला युनेस्को सेन्टर, तालतन्त्र फाइन आर्ट, सन स्टार क्लब र लार्भा समूहले बिहीबार संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।
बंगलादेशमा आयोजना हुने कलासम्बन्धी कार्यक्रममा कुनै संस्थासँग समन्वय नगरी र सूचनासमेत ननिकाली आफू नजिककालाई भाग लिन पठाएको, प्राज्ञिक संस्थामा अप्राज्ञिक गतिविधि सञ्चालन गर्नेलगायतका अमर्यादित क्रियाकलाप गरेकाले विभाग प्रमुखको राजीनामा माग गरिएको कला क्रान्ति अभियानकी अध्यक्ष ज्योति हमालले बताइन् ।
चित्रकला विभागीय प्रमुखको कार्य सञ्चालनप्रति असन्तुष्टि जनाउँदै प्रतिष्ठानका सदस्य सचिव नवराज भट्ट, प्राज्ञ सभा सदस्यहरू प्रवीणकुमार श्रेष्ठ, कुमार आले, अरुणा हिमाङ, नगेनसिंह ठकुरी, रामपूजन ठाकुर र चन्दा श्रेष्ठले बुधबारदेखि सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनीमा भाग नलिएको पनि हमालले जनाइन् ।
प्राज्ञसभा सदस्य ठाकुर साहित्यको व्यक्तिलाई ललितकलामा ल्याई चित्रकला विभाग प्रमुख बनाउँदा मनोमानी काम गर्ने अवसर मिलेकाले त्यसको विरोधमा आफूले प्रदर्शनीका लागि चित्र उपलब्ध नगराएको दाबी गरे । ललितकला युनेस्को सेन्टरका कार्यक्रम निर्देशक करुण गौतमले आठवटा संस्थाले संयुक्त संघर्ष समिति गठन गरी विभागीय प्रमुखको राजीनामा नआएसम्म ताला नखोल्ने र अन्य विरोधका कार्यक्रम गर्ने बताए ।
यता विभागका प्रमुख रमेश श्रेष्ठ प्रदर्शनीका लागि तीन सय चित्र प्रदर्शनी आए पनि छनोट समितिले गुणस्तरीयताको आधारमा एक सय ७० वटा मात्र चित्र छानिएकाले असन्तुष्ट पक्षले तालाबन्दी गरेको स्वीकार गरे । ‘म चित्रकला गरेको मानिस हुँ, प्रदर्शनीमा गुणस्तरका चित्र मात्र राख्न खोज्दा मेरो विरोध भए पनि म सहन तयार छु, मैले कुलपतिको निर्देशनअनुसार छनोटको काम गरेको हुँ,’ उनले भने ।
प्रतिक्रिया