विवादका बाबजुद एनपिएल क्रिकेट हुने निश्चित

काठमाडौं, ४ वैशाख । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार जोहरा स्पोट्र्स म्यानेजमेन्टलाई एनपिएल क्रिकेट गर्न दिने निर्णय गरेसँगै कर्पोरेट हाउसले पनि सहभागिता जनाउने निश्चित भएको छ । बिहीबार क्यान र कर्पोरेट हाउसबीच भएको छलफलपछि कर्पोरेट हाउसले एनपिएलमा सहभागिता जनाउने निश्चित गरेका हुन् ।

जोहरालाई एनपिएल क्रिकेट गर्न दिने बारे क्यान भित्रको विवादका कारण पछिल्लो समय कर्पोरेट टिमले सहभागिता नजाउने सम्भावना देखिएको थियो । बिहीबार भएको छलफलमा क्यानले कर्पोरेट टिम र प्रायोजकलाई अर्काे वर्ष नयाँ ढंगबाट विवादरहित प्रतियोगिता गर्ने विश्वास दिलाएपछि कर्पोरेट टिम सहभागिता जनाउन राजी भएका हुन् । तर, एनपिएल लिग हुने र कर्पोरेट टिमले पनि सहभागिता जनाउने निर्णय भए पनि खेलाडीहरू यसबारे थाहा नभएको बताउँछन् ।
क्यानले नेपाल टेलिकमसँगं भएको सम्झौता अनुरूप हुने टि–ट्वान्टी क्रिकेटलाई असर नपर्ने गरी एनपिएल क्रिकेट गर्ने क्यानका अध्यक्ष दीपक कोइरालाले जानकारी गराए ।
एनपिएल लिगमा सात कर्पोरेट टिमले १२ देखि २२ वैशाखसम्म खेल्नेछन् । नेपाल टेलिकमसँग भएको टि–ट्वान्टी क्रिकेट जेठको पहिलो सातादेखि सुरु हुनेछ । टेलिकमले क्यानसँग टि–ट्वान्टी क्रिकेट जिल्लाबाट सुरु गर्ने सम्झौता गरेको छ ।
यसअघि बुधबार नेपाल क्रिकेट संघ क्यानले प्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरेको कार्यकाल थप गरेको थियो । बुधबार बसेको क्यान बोर्ड बैठकले घिमिरेको कार्यकाल तीन महिना थप गर्ने निर्णय गरेको हो ।
घिमिरेको कार्यकाल १ वैशाखबाट सकिएको थियो । घिमिरे ६ महिने कार्यकालका लागि नियुक्त भएकी थिइन् । नेपाली क्रिकेट विकासका लागि सिइओको आवश्यकता रहेको भन्दै क्यानले उनीलाई नियुक्ति गरेको थियो । तर, उनको कार्यकाल सकिएलगत्तै क्यानमा घिमिरेको कार्यकाल बढाउने विषयमा विवाद चर्किएको थियो ।
त्यस्तै क्यानको बोर्ड बैठकले अन्य दुई महत्वपूर्ण निर्णय समेत गरेको थियो । क्यानले ३० वैशाखमा साधारणसभा गर्ने निर्णय गरेको छ । अब हुने साधारणसभामा प्रमुख कार्यकारी अधिकृत (सिइओ) र क्रिकेट अपरेसन म्यानेजर राख्ने विधान पास गर्ने क्यानका अध्यक्ष दीपकले जानकारी दिए । क्यानको बोर्ड बैठकले क्रिकेट अपरेसन म्यानेजरका लागि केही दिनमा पदपूर्तिका लागि आवेदन आह्वान गर्ने निर्णय गरेको थियो ।
क्यानले जोहरा स्पोट्र्स म्यानजमेन्टले गर्ने प्रतियोगिताका लागि १२ वैशाखबाट कीर्तिपुर मैदान उपलब्ध गराउने निर्णय गरेको छ । तर, यसमा आफ्नो कुनै संलग्नता नहुने नेपाल क्रिकेट संघले जनाएको छ । एनपिएलका लागि खेलाडी र म्याच अफिसियल भने क्यानले उपलब्ध गराउनेछ । क्यानको यस्तो निर्णयसँगै अनिश्चित रहेको एनपिएल क्रिकेट हुने भएको छ ।

प्रतिक्रिया