शुल्कवृद्धिको विरोधमा क्रान्तिकारीद्वारा धर्ना

annfsu-flagकाठमाडौं, २ वैशाख । जिल्ला शिक्षा कार्यालयले संस्थागत रुपमा विद्यालयलाई शुल्कवृद्धिको अनुमति दिएको भन्दै नेकपा–माओवादीसम्बद्ध अखिल (क्रान्तिकारी)ले आज जिल्ला शिक्षा कार्यालय काठमाडौंमा धर्ना दिएको छ ।

नयाँ शैक्षिकसत्रका लागि विभिन्न जिल्ला शिक्षा कार्यालयको अनुमतिमा २२ देखि ४४ प्रतिशतसम्म शुल्कवृद्धि गरेको पाइएको सङ्गठनका महासचिव रत्न ढकालले बताए ।

शुल्कवृद्धिको विरोधमा संगठनले उपत्यकाका लिटिल एञ्जेल्स, पाठशाला, चेल्सी, भिएस निकेतन, सूर्योदय, तक्षशीला, रेडन, युनाइटेड, युलेन्स, ग्यालेक्सीलगायतका ७० विद्यालयमा तालाबन्दी गरेको छ ।

यसैगरी नवलपरासी, कैलाली, कञ्चनपुर, दाङलगायतका जिल्लाका विभिन्न विद्यालयमा समेत तालाबन्दी गरिएको छ ।

अनुगमन तथा निरीक्षण नगरी निजी शैक्षिक संस्थाको दबाब र प्रभावमा शुल्कवृद्धिको निर्णय गरिएको भन्दै धर्ना तथा विद्यालयमा तालाबन्दीजस्ता विरोधका कार्यक्रम गरिएको ढकालले बताए ।

प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले शुल्कवृद्धिको विरोधमा विद्यालयमा तालाबन्दी गरिनुले नकारात्मक सन्देश गएको भन्दै यसका लागि जिल्ला शिक्षा कार्यालयसँग नै छलफल गरेर समस्याको निकास खोज्नुपर्ने बताए ।

प्रतिक्रिया