काठमाडौं, २६ चैत । एमालेको केन्द्रीय तहको विवादको असर जिल्ला–जिल्लामा पनि देखिएको छ । यही चैत २७ गते शुक्रबारका लागि तय भएको एमाले महोत्तरीको जिल्ला अधिवेशन नेतृत्व तहको विवादका कारण स्थगित हुन पुगेको छ । यसअघि गुटबन्दीकै कारण जाजरकोट र पर्वतको अधिवेशन पनि रोकिएका थिए ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रमुख अतिथि बनाइएको जिल्ला अधिवेशन महासचिव ईश्वर पोखरेल र संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले स्थगित गरेका हुन् । पोखरेल र गुरुङ पार्टीमा अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् । उनीहरुले बुधबार जिल्लालाई सर्कुलर गरेको पत्रमा केन्द्रसँगको समन्वयमा अधिवेशनको नयाँ मिति तोक्ने गरी स्थगित गरिएको उल्लेख छ ।
नेपाल पक्षले जिल्ला अधिवेशनका लागि छानिएका प्रतिनिधिमा ८० प्रतिशत आफ्नो पक्षमा रहेको र बाँकी ओली पक्षमा रहेको दाबी गरेको छ । नेपाल पक्षबाट जामुन मण्डल र ओली पक्षबाट सरोज यादव जिल्ला अध्यक्षका दाबेदार छन् ।
संगठन विभागका उपप्रमुख ज्ञानबहादुर भुजेलले प्रतिनिधि छनोटमा मनोमानीका साथै किर्तेसमेत गरेको पाइएकाले त्यसको अनुसन्धान गरी सत्यतथ्य प्रमाणित गर्दासम्मका लागि जिल्ला अधिवेशन स्थगित गरिएको बताए ।
पार्टी सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले विवाद समाधानको पहल गर्नुपर्ने बेला संस्थापन पक्ष गुटबन्दीमा आएको आरोप लगाए । भने, ‘हामी कार्यकर्तामाथि अन्याय हुन दिँदैनौं ।’
प्रतिक्रिया