बागलुङ, २५ चैत । आगामी शनिबार बागलुङ क्षेत्र नम्बर १ मा हुने संविधानसभा सदस्यको उपनिर्वाचन गराउन निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा खटिएका छन् ।
विद्युतीय मतदान उपकरणसहित ७३ किसिमका निर्वाचन सामग्री मतदान केन्द्रमा पठाइएको जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताए । ३५ मतदान स्थलमा रहेका ७० मतदान केन्द्रमा ३५० निजामती कर्मचारी र ४२० स्वयंसेवक खटिएका छन् ।
मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित एउटा केन्द्रमा ११ जना कर्मचारी खटिने अधिकृत उपाध्यायले जानकारी दिए । मतदाता शिक्षा कार्यकर्ता र अघिल्लो निर्वाचनमा खटिएकालाई प्राथमिकता दिएर स्वयम्सेवकका रुपमा परिचालन गरिएको छ । त्यस्तै, सबै मतदान केन्द्रमा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको स्थानीय प्रशासनले जनाएको छ ।
‘मतदान अधिकृतलाई निर्वाचन सञ्चालनको सम्पूर्ण जिम्मा लगाएर मतदान केन्द्रमा पठाएका छौं,’ अधिकृत उपाध्यायले भने, ‘कर्मचारीले मतदान केन्द्र बनाउनेदेखि राजनीतिक दल र मतदातालाई समेत विद्युतीय मतदान उपकरणसम्बन्धी प्रशिक्षण दिनेछन् ।’
उपनिर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले प्राविधिक कर्मचारीको व्यवस्थासमेत गरेको छ । विद्युतीय मतदान उपकरणमा कुनै समस्या आए त्यसको तत्काल समाधान प्राविधिक कर्मचारीले गर्ने जनाइएको छ । त्यस्ता कर्मचारी प्रत्येक मतदान केन्द्रमा नभए पनि आधा घन्टामा जुनसुकै केन्द्रमा पुग्नसक्ने दूरीमा परिचालन गरिने भएको छ ।
उपकरणमा कुनै खराबी आइहाले जगेडा उपकरण प्रयोग गरेर मतदान कार्य सुचारु गरिने जनाइएको छ । निर्वाचन अवधिभरको सुरक्षा व्यवस्थालाई थप कडा तुल्याइएको छ । पोस्ट, रिजर्भ, मोबाइल र स्ट्राइकिङका लागि प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेतको कमान्डमा प्रहरी अधिकृत खटिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपनिर्वाचनको सुरक्षा पहरा दिइरहेका छन् ।
१९ गाविस र एक नगरपालिका रहेको यस क्षेत्रमा कुल ५२ हजार २०२ मतदाता छन् ।
बुधबार राति शून्य समय सुरु हुँदै छ । शनिबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान कार्य चल्नेछ । सोही राति नै मतसहितका विद्युतीय मतदान उपकरण सदरमुकाम ल्याइसकिने जनाइएको छ । विद्युतीय मतदान उपकरणमा मतगणना छिटो हुने हुँदा आइतबार दिउँसोसम्म मत परिणाम आइसक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
परिचयपत्र नभएकालाई मतदानको वैकल्पिक व्यवस्था
निर्वाचन आयोगले यही चैत २८ गते बागलुङ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र नभएका मतदातालाई वैकल्पिक व्यवस्था गरेको छ ।
आयोगले मतदाता नामावलीमा रहेका नाम र विवरणसँग मिल्ने नेपाली नागरिकता प्रमाणपत्र वा जग्गाधनी प्रमाणपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व रहेका संस्थाबाट जारी गरिएका मतदाताको परिचय खुल्ने तस्बिरसहितको कागजातका आधारमा मतदान गर्न दिने भएको छ ।
प्रतिक्रिया