सल्यानमा क्षयरोगीको संख्या वृद्धि

TB Rogसल्यान, २४ चैत । सल्यान जिल्लामा क्षयरोगीको सङ्ख्या वृद्धि हुदै गएको छ ।

धूम्रपान र मद्यपान सेवनको वृद्धि तथा रासायनिक मलको प्रयोग गरेका खाद्य वस्तुको प्रयोग बढेसंँगै रोगी बढ्दै गएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरि तीन सय १९ क्षयरोगीका बिरामी रहेको पाइएको छ ।

गत आवमा जिल्लाभरि दुई सय २९ मात्रै क्षयरोगीका बिरामी भेटिएकामा यस वर्ष थप ९० नयाँ रोगी पत्ता लागेको कार्यालयका क्षयरोग स्रोत व्यक्ति लक्ष्मण केसीले जानकारी दिए ।

उनका अनुसार गत आवमा एक सय २० जनामा ‘पोजेटिभ’ र एक सय नौ जनामा ‘नेगेटिभ’ गरी दुई सय २९ जना सङ्क्रमित फेला परेका थिए भने चालु आवमा ३४ ‘पोजेटिभ’ र ५६ जना ‘नेगेटिभ’ सङ्क्रमित पाइएको छ ।

रोगीले लाजले रोग लुकाउने र उपचारका लागि स्वास्थ्य संस्थामा नआउने भएकाले पनि रोगीको सङ्ख्या बढ्ने उनको भनाइ छ ।

जिल्लाका ४८ स्वास्थ्य केन्द्रबाट क्षयरोगको निःशुल्क औषधि पाइने र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगारानीमा औषधि सेवन गरेमा निको हुने भए पनि बिरामी औषधि सेवन गर्न स्वास्थ्य संस्थासम्म नआउने भएकाले समस्या भएको केसीले बताए ।

प्रतिक्रिया