विवाद भएपछि पूरानैलाई निरन्तरता

Krantikari Akhilकाठमाडौं, २३ चैत । मोहन बैद्य नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीमा विवाद भएपछि नयाँ नेतृत्व चयनविनै २० औँ राष्ट्रिय सम्मेलन सक्किएको छ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सुरू भएको सम्मेलनमा नेतृत्वको विषयमा विवाद भएपछि कार्यसमिति चयनविनै सक्किएको हो । सचिव वीरेन्द्र बस्नेतले संगठनको नेतृत्वमा आकंक्षी धेरै भएपछि नयाँ नेतृत्व चयन गर्न नसकिएको बताए ।

नयाँ नेतृत्वका लागि कार्यवहाक अध्यक्ष सुरेश गौतम र महासचिव रत्न ढकाल आकंक्षी देखिएका थिए । गौतम र ढकालबीच सहमति हुन नसक्दा नेतृत्व चयनमा समस्या भएको बस्नेतले बताए । ‘हाम्रो संगठनमा निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने परिपाटी छैन’, उनले भने, ‘सहमतिका लागि दुवैले नछाडेपछि सम्मेलनले नयाँ नेतृत्व चयन गर्न सकेन ।’

नयाँ नेतृत्व चयन नभएपछि अहिलेकै कार्यसमितिलाई निरन्तरता दिइएको छ ।
कार्यवहाक अध्यक्ष गौतमलाई अध्यक्ष बनाएर १ सय ५१ सदस्सीय केन्द्रीय कमिटी गठन गरिएको बस्नेतले बताए ।

दुई महिनापछि गौतमले संगठनबाट विदा लिने र त्यसपछि ढकाललाई नेतृत्व हस्तातरण गर्ने सहमतिमा कमिटी पुनःगठन गरिएको उनले जानकारी दिए ।
स्रोतका अनुसार पार्टीले ढकाललाई अध्यक्षको जिम्मेवारी दिने तयार गरेको थियो ।

गौतमले नमानेपछि अहिलेकै कमिटीलाई दुई महिना निरन्तरता दिने र त्यसपछि गौतम संगठनबाट विदा भएपछि ढकाललाई अध्यक्षको जिम्मेवारी दिने सहमति भएको छ ।

सम्मेलनमा देशभरिबाट ७ सय २० प्रतिनिधिको सहभागिता रहेको थियो भएका थिए । सम्मेलन आजैबाट सक्किएको छ ।

प्रतिक्रिया