काठमाडौं । वर्षेनि सयको हाराहारीमा फिल्म बन्ने क्रम रोकिएको छैन । व्यावसायिक सफलता हात नपारेपनि फिल्म बन्ने क्रम भने रोकिएको छैन ।
पुरुषसँगै महिलाहरू पनि फिल्म निर्माणमा अघि बढिरहेका छन् । यसै क्रममा छोटो समयमै नेपाली फिल्ममा स्थापित हुने तयारीमा रहेकी नायिका पूजा शर्मा अब निर्माताको रुपमा दर्शकमाझ आउन लागेकी छन् ।
फिल्म ‘थ्री लभर्स’बाट सहनायिकाको रुपमा डेब्यू गरेपनि ‘मधुमास’बाट पूर्ण नायिका बनेकी पूजाले ‘मीरा’ नामको फिल्म बनाउन लागेकी हुन् । उनी एक्लैले भने यो फिल्म बनाउन लागेकी होइनन् ।
निर्माता, निर्देशक र अहिले अभिनेताका रुपमा समेत पहिचान बनाइसकेका सुदर्शन थापा तथा अर्का निर्माता सन्तोष सेनसँग सहकार्य गर्दै उनले ‘मीरा’ बनाउन लागेकी हुन् ।
‘म आज जे छु, फिल्म लाइनकै कारणले भएकी हुँ, त्यसकारण पनि म यो क्षेत्रलाई छोड्न सक्दिन,’ आफू अभिनित फिल्म ‘चंखे शंखे पंखे’को इन्डक्ल्यापमा उनले भनिन्, ‘मेरो पनि फिल्म क्षेत्रमा केही योगदान होस् भन्ने सोँचले फिल्म निर्माणमा हात हालेकी हुँ ।’
पूजा सोलो नायिकाको रुपमा अभिनय गरेको फिल्म ‘अझै पनि’ र ‘चंखे शंखे पंखे’ हो । फिल्म ‘मीरा’को निर्देशन र सम्पादन सुरेन्द्र पौडेलले गर्नेछन् । यसको छायांकन नेपालका विभिन्न स्थानसहित थाइल्याण्डको बैंककमा हुनेछ ।
‘फिल्म विशुद्ध रुपमा नारीप्रधान एक्सन फ्लेबरको हुनेछ’, निर्देशक पौडेलले भने, ‘फिल्मले प्रेम र बदलालाई प्राथमिकता दिनेछ ।’ उनका अनुसार फिल्मका लागि कलाकार छनौंटको काम भइरहेको छ ।
पब्लिसिटी खर्चसहित करिब डेढ करोड रुपियाँमा निर्माण गरिएको फिल्म ‘चंखे शंखे पंखे’ले इन्डक्ल्यापमा फिल्मको पहिलो ट्रेलरसँगै अर्को नयाँ फिल्म ‘प्रेमगीत’को पनि घोषणा गरिएको छ ।
एक करोडको लागतमा बन्ने फिल्ममा सुदर्शन थापाको निर्देशन हुनेछ भने निर्माता सन्तोष सेन रहनेछन् ।
आँशुसेन फिल्म प्रोडक्सनको व्यानरमा सन्तोषको निर्माण र सुदर्शनको निर्देशनमा बनेको फिल्म ‘चंखे शंखे पंखे’मा सुदर्शनसँगै पूजा शर्मा, प्रेम पुरी, सुवास थापा, प्रमोद अग्रहरी, नन्दिता केसी, रविन्द्र खड्कालगायतको अभिनय रहेको छ । फिल्म जेठ १ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।
नायिका हुँदै निर्माता बन्नेहरूमा करिश्मा मानन्धर, झरना थापा पनि हुन् ।
प्रतिक्रिया