कछु्वा गतिमा उद्धार, लुकामारी खेल्दै भूकम्प

Bus-&-Nepali-Yatruकाडमाडौं, १६ वैशाख । सानामा सबैले खेल्ने खेल हो लुकामारी । यो खेल लुक्ने र खोज्नेबीच खेलिन्छ । ठ्याक्कै यस्तै महसुस हुन्छ अहिलेको भूकम्प । कतिखेर आउँछ कति खेर हराउँछ पत्तै पाइँदैन ।

तेस्रो दिन बितिसक्दा पनि त्रास कायमै छ । केही समयको अन्तरसम्म भूकम्प आएन भने सर्वसाधरण घर फर्कंदा जनजीवन सामान्यझंै देखिन्छ । तर, भूकम्प आउन साथ फेरि घरवाहिर निस्कन बाध्य छन् ।

महाभूकम्पको त्रासदीबाट बिस्तारै उपत्यकाको जनजीवन सामान्यतर्फ उन्मुख भइरहेको जस्तो देखिए पनि त्रास भने कायमै छ । मंगलबार साँझसम्म भूकम्पको ठूलो झट्काको महसुस भएको छैन । पहिलो र दोस्रो दिनको तुलनामा भने जनजीवन सामान्य बन्दै गएको छ ।

सोमबार साँझदेखि आफू बसिरहेको पाल उठाएर घर फर्किनेहरू बढ्न थालेका छन् । तर, रातको ९ बजे आएको भूकम्पको झटकाले पुन: खुला ठाउँ खोज्दै घरबाट ओछ्याउन बोकेर निस्कनेको लस्कर पनि उस्तै थियो । राजधानी काठमाडौंलगायत उपत्यकाका कुनै त्यस्ता खाली स्थान छैनन्, जहाँ पाल नहालिएको होस ।

अग्ला घरहरूमा बस्नेहरू खुला चौरमा पालमै बस्नु परे पनि राम्रो पाल हालेर सुरक्षित बसेका छन् । धेरैजसो सर्वसाधारण विगत तीन रातदेखि अनिदो र भोकै छन् । भूकम्पको सामान्य झटका महसुस हुनासाथ आफन्तलाई जानकारी दिनेको लहरै चल्ने भएकाले मोबाइलको नेटवर्कमा समेत समस्या आउने गरेको छ ।

भूगर्भविद्ले आफ्नो घर, डेराहरू भत्केका चर्केका छैनन् भने घर, डेरामा फर्कन बारम्बार अनुरोध गर्दै अब ठूला भूकम्प नआउने बताइरहेको छ । हल्लाकापछि नलाग्न विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरिरहे पनि सर्वसाधारणबीच यस्ता हल्ला छलफलका विषय बन्ने गरेका छन् ।

अफवाहहरू प्नि अब यति बजे यति रेक्टरस्केलको भूकम्प जान्छ, अब योभन्दा ठूलो आउँछजस्ता एसएमएस वा सामाजिक सञ्जालमा बारम्बार आउने गरेका छन् । तर, उनीहरूले फैलाएका अफवाह सत्य नभएपछि बिस्तारै सर्वसाधारण ती अफवाहप्रति बेवास्ता गर्न थालेका छन् ।

सरकारले दिने राहत राजधानीका खुलामञ्च, टुंडिखेल, सिंहदरबार, दशरथरंगशाला, कीर्तिपुर, सानोगौचरन, शंखपार्क, यलम्बु, हलचोक, सिनामंगललगायतका स्थानमा पुगे पनि सहरका भित्री भागहरू, विभिन्न स्कुलहरू, पाटीपैलेस, बागमतीको किनार, खेतहरूलगायत स्थानमा पुग्न सकेको छैन । जति पुगेका छन् ती पनि निक्कै अपर्याप्त छ ।

कतिपय स्थानमा स्थानीय राजनीतिक दलका कार्यकर्ता सर्वसाधारणको चासो राख्न पुगेका छन् भने अधिकांश स्थानमा कसैले चासो नराखेकाले आक्रोश पनि देखिएको छ ।

बसिरहेको घर, डेरा भत्केका वा चर्केर बस्न नसक्ने स्थिति भएका र दैनिक मजदुरी गरेर जीवन चलाइरहेकाको दैनिकी कष्टप्रद बनेको छ । दैनिक उपभोग्यवस्तु पानी, चामल, दाल, तेल, नुनलगायत उपभोग्यवस्तुको मूल्य एक्कासि वृद्धि भएको र दैनिक मजदुरी गर्न नपाएकाले उनीहरूको जीवन कष्टप्रद बनेको हो ।

महामारीको संत्रास

काठमाडौं १६ वैशाख । विनाशकारी महाभूकम्पपछि राजधानीका विभिन्न ठाउँमा राखिएका सर्वसाधरणलाई महामारी फैलन नदिन उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

फोहोर खानपिन, दूषित खानेपानी, खुला ठाउँमा दिसापिसा, दुर्गन्ध तथा अस्तव्यस्त बसाइका कारण रोगको महामारी फैलने सम्भावना छ ।

स्वास्थ्य मन्त्रालयले खानाबाट र पानीबाट रोगको महामारी फैलन सक्ने भन्दै सचेत हुन सबैलाई अनुरोधसमेत गरेको छ ।

मन्त्रालयका प्रवक्ता पदमबहादुर चन्दले धेरैजसो मानिस अस्थायी शिविरमा बसेकाले खुला ठाउँमा नै दिसापिसाब गरेको, हात नधोई खानपिन गर्ने गरेको र दूषित तथा नउमाली पानी पिउने गरेकाले रोग फैलन सक्ने बताए ।

महामारी नफैलियोस् भनेर हामीले जिल्ला जनस्वास्थ्य प्रमुखको नेतृत्वमा नै अनुगमन थालेका छौँ,’ प्रवक्ता चन्दले भने, सबै प्रभावित क्षेत्रमा पनि रोग नफैलियोस् भनेर विशेष सतर्कता अपनाउन लगाएको छौँ । उनले सबैलाई खाना खान अगाडि साबुन पानीले हात धुन र शौचालयमा दिसापिसाब गर्न अनुरोधसमेत गरेका छन् ।

मन्त्रालयले खाना खान अगाडि हात धुन र शौचालयमा दिसापिसाब गर्न आग्रह गरे पनि घरबाहिर बसेका धेरै मानिसले भने पिउनेपानीसमेत पाउन सकेका छैनन् । सैनिक मञ्चमा हजारौँ मानिस त्रिपाल टाँगेर बसेका छन् ।

उनीहरूले खानेपानीको समस्या भएको बताएका छन् । खुला ठाउँमा त्रिपालमा परिवारका साथ बसिरहेकी तारादेवी खड्काले पिउनेपानीको समस्या रहेको सुनाइन् । खाना खानअगाडि हात धुन त पिउनेपानी पाउन मुस्किल छ, उनले भनिन् ।

सैनिकमञ्चलगायत खुला ठाउँहरूमा बसेका हजारौँले फ्यालेको फोहोरले समेत दुर्गन्ध फैलन थालेको छ । उनीहरूले शौचालय अभावमा खुला ठाउँमा नै दिसापिसाब गर्ने गरेका छन् । यसले पनि रोगको महामारीको सम्भावना बढाइदिएको छ ।

यस्तै, महाभूकम्पमा परी मरेका पशुपक्षीको दुर्गन्धले पनि रोग फैलने सम्भावना बढेर गएको छ । भूकम्पले क्षतविच्छेद रहेको धरहरा वरपर ठाउँमा झिँगा भन्किएका त्यहाँ पुगेर फर्किएकाले बताएका छन् ।

घरबाट विस्थापित भएकाहरू सामूहिक रूपमा बस्नुपर्ने बाध्यताका कारण झाडापखनाल, रुघाखोकी, ज्वरोजस्ता सरुवा रोगको उच्च जोखिम हुने गर्छ । यसअघिका दैवी प्रकोपमा पनि प्रकोपबाट भन्दा पनि त्यसपछि उत्पन्न रोगको महामारीबाट मर्नेको संख्या बढी रहेको पाइएको छ ।

इपिडिमीयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले पानी सफा र उमालेर मात्र पिउने वा पानी पीयूष वा झोल चक्की हालेर मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

त्यस्तै, बासी खाना नखाना, खाना खानअगाडि साबुन पानीले हात घुन, बसेको शिविर वा खाली स्थान वरपर सफा राख्न र जथाभावी फोहोर नफल्न आग्रह गरेको छ । रोगको महाममारीबाट बच्न जथाभावी दिशा पिसाब नगर्न पनि महाशाखाले आग्रह गरेको छ ।

महाभूकम्पका कारण ललितपुरको खोकना लगायत विभिन्न ठाउँमा पनि पिउनेपानीको समस्या उत्पन्न भएको छ । शुद्ध पानीको अभावले खोकनामा झाडा वान्ताका बिरामी बढेका छन् ।

विभिन्न देशका स्वास्थ्यकर्मीले स्वास्थ्य शिविर सञ्चालन गरिरहेको भएपनि खुला दिसापिसाब तथा शुद्ध पिउने पानीको अभाव बढी देखिएको छ ।

सरकारले १५ वैशाखसम्म ५ हजार ३ सय बढीले स्वास्थ्योपचार पाइसकेको जनाएको छ । हाल देशका विभिन्न अस्पतालमा ८ सय ५२ जना घाइते उपचारत रहेको जनाएको छ, यस्तै अस्पतालमा रहेका शवहरूको सख्ंया २ सय २७ रहेको छ ।

विभिन्न देशबाट आएका मेडिकल टोली समेत परिचालित

भूकम्प प्रभावित विभिन्न ठाउँमा अन्तर्राष्ट्रिय स्वास्थ्य सहयोग पनि सञ्चालन भईरहेका छन् ।

लगनखेलको राजदल गणमा भारतको मेडिकल टिम (सैन्य) का ८८ जनाले सेवा दिइरहेका छन् ।

पाकिस्तानको ४८ जनाको मेडिकल टिमले सल्लाघारी भक्तपुरमा सेवा दिइरहेको छ ।

श्रीलंकाको मेडिकल टिमले दोलालघाट, मलेसियाको मेडिकल टिमले हनुमानढोका, बंगलादेशको मेडिकल टिमले खोकना ललितपुर, चीनको मेडिकल टिमका ६० जनाले धुलिखेलमा र १२ जनाको टोलीले नेपाली सेनाको उपत्यका पृतनामा सेवा दिइरहेको छ ।

यस्तै भारतकै मेडिकल टिमले स्वास्थ्य मन्त्रालयअन्तर्गत ३० जना, सिनामंगलमा १ सय १६ जनाले सेवा दिइरहेका छन् ।

रित्तिदै काठमाडौं

काठमाडौ १६ वैशाख । भूकम्पबाट जोगिन मंगलबार सर्वधारण घर फर्कने क्रम जारी रह्यो ।

महाभूकम्पको त्रासले मंगलबार मात्र काठमाडौंबाट करिब डेढ लाख मानिस घर फर्किएका छन् ।

भूकम्प जाने क्रम नरोकिएपछि उनीहरू घर फर्किन थालेका हुन् । मंगलबार बिहानै राजधानीको भूकम्पबाट त्रसित कैलाली टीकापुरकी किरण यादव घरतर्फ लागिन ।

सोमबार राति नयाबसपार्कमै वास बसेकी उनी भाइसहित घर फर्किएकी हु्न् ।

उनी मात्र होइनन्, लाखौँ मानिस खानबस्न समस्या भएपछि मंगलबार पनि धेरैले राजधानी छाडे ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक पोषराज पोखरेलले मंगलबार करिब १ लाख ५० हजार मानिस घरतर्फ लागेको जानकारी गराए । उनले सबैभन्दा बढी तराईका यात्रु गएको बताए ।

‘मंगलबार साँझसम्म करिब डेढलाख जना राजधानी बाहिर गएका छन्,’ उनले भने, ‘सोमबारभन्दा मंगलबार धेरै जना बाहिरिएका छन् । हामीले सुरक्षित तरिकाले पठाएका छौँ ।’ तर, बाहिरबाट भित्रिने भने ३ हजार २ सय ९९ मात्र रहेको उनले जानकारी दिए ।

उनका अनुसार कलंकीबाट तराईतर्फ १ लाख ३ हजार, फर्पिङबाट हेटौंडातर्फ ९ हजार ६ सय ५ र भक्तपुरबाट दोलखा, सिन्धुपाञ्चोलक, रामेछापतर्फ २१ हजार ७ सय ७० जना बाहिरिएका छन् । ट्राफिक प्रवक्तासमेत रहेका एपी पोखेरेलका अनुसार १ हजार ५ सय २० सवारीसाधानले यात्रुलाई गन्तव्यतर्फ लगेका छन् ।

कलंकीबाट लामोदूरीका ९ सय १६, भक्तपुरबाट २ सय ४४ र फर्पिङबाट ३ सय ६० टाटा सुमोले यात्रुलाई लगेका छन् । एपी पोखरेलले बुधबार मंगलबारको तुलनामा थप एक हजार गाडी थपिने जानकारी गराए ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले यात्रुको चापलाई ध्यानमा राखेर आफूहरूले सुरक्षित तरिकाले गन्तव्यतर्फ पुर्‍याइएको जानकारी गराए ।

घर जानका लागि गाडी नपाएपछि हजारौं सर्वसाधारण अलपत्र परेका छन् । उनीहरू गाडीको प्रतीक्षा गर्दै नयाँबसपार्क, कलंकी, बल्खु र कोटेश्वरमा बसेका छन् । ती ठाउँ सर्वसाधरणले भरिभराए छन् ।

उनका अनुसार नयाँबासपार्क, कलंकी, बल्खु, गौशाला, कोटेश्वरबाट महासंघले यात्रुहरूलाई घरतर्फ लैजान थालेको छ । महासचिव सिटौलाले मंगलबार लैजान नसकिएकालाई बुधबार थप गाडी मगाएर पठाइने जानकारी गराए ।

सर्वसाधारण राति नै नयाँ बसपार्क, कलंकी कोटेश्वरमा वास बसेर बिहानै घरतर्फ लागिरहेका छन् ।

‘दिनदिनै भूकम्प आइरहेको छ । यहाँ बस्न समस्या भएको छ’ यादवले भनिन्, ‘मानिसको सबैभन्दा ठूलो ज्यान हो । त्यसैले यहाँ बस्नु ज्यानको खतरा छ । त्यसैले हामी घरतर्फ हिंडेका हौं ।’

घर जानका लागि मानिस आत्तिएका देखिन्थ्ये । उनीहरू कसरी घर पुगेर आफन्तलाई भेटु भन्ने पनि रहेको छ । उनीहरू भूकम्पका कारण घरमा बस्ने अवस्था नभएपछि लागेका हुन् ।

घर जानका लागि नयाँबसपार्क, कलंकी र कोटेश्वरमा सर्वसधारणको ठूलो भिड देखिन्छ ।

सर्वधारणहरू भूकम्पले गर्दा खानेकुरामा समस्या र भूकम्प पछि हुने खतराका कारण घरतर्फ गइरहेका छन् । सर्वसाधारणहरू खानेबस्नेको समस्या भएपछि धेरैजसो घर जान थालेका हुन् ।

दाङ घोराहीकी प्रेसिका खनालले भूकम्पले गर्दा खाने बस्नमा समस्या भएपछि घरतर्फ लागेका बताइन । ‘कति दिन पालमा दिन रात बस्ने ? भूकम्पले गर्दा कोठामा गएर बस्ने सकिँदैन’ उनले दुखेसो पोखिन, ‘चाउचाउ र चिउरा मात्र खाएर बस्न सकिन्न । घरबाट पनि आमाबाबाले बोलाइरहनुभएको छ ।

त्यसैले, जसरी तसरी घर जाँदै छौं ।’उनले भूकम्पका कारण राम्रोसँग खाना नपाएपछि भोलि हुनसक्ने रोगव्याधीका कारण सुरक्षित हुन घरतर्फ लागेको बताइन ।

शनिबार ७.९ रेक्टरको महाभूकम्प आएपछि सर्वसाधारण पाल टागेर बाहिर नै बसेका छन् । उनीहरू आइतबारको ६.९ रेक्टर भूकम्प थप त्रसित भएपछि सुरक्षितका लागि घरतर्फ गएका हुन् ।

निजी विद्यालयले ५ सय गाडी सञ्चालन गर्ने

निजी विद्यालयहरूले यात्रुलाई गन्तव्यतिर पुर्‍याउन ५ सय गाडी संचालन गर्ने भएका छन् ।

निजी विद्यालयका दुई संगठन प्याब्सन र एनप्याब्सनले राजधानीमा अलपत्र परेका सर्वसाधारणको उद्धारका लागि काठमाडौंबाट ५ सय गाडी सञ्चालनमा ल्याउने भएका हुन् ।

उनीहरूले स्कुलकै गाडीले निःशुल्क रूपमा सर्वसाधारणलाई राजधानीबाट नारायणघाट र मुग्निङसम्म पुर्‍याउने भएको एपी पोखरेलले जानकारी गराए ।

यहाँबाट नारायणघाट र मुग्लिङसम्म गाडीले सर्वसाधारणलाई ओसार्ने छन्’उनले भने,‘अनि नारायणघाटबाट बुटवलबाट र मुग्लिङबाट पोखराबाट आउने गाडीले ओसार्ने छन् ।’

प्रतिक्रिया