मानवीय कर्तव्य र राष्ट्रिय एकता

गोरखाको बार्पाकलाई केन्द्र पारेर शनिबार गएको ७.६ रेक्टर स्केलको महाभूकम्पले नेपालमा धन–जनको प्रलय क्षति मात्र पुर्‍याएन, एउटा भयानक विभत्सकारी स्थिति सिर्जना गर्‍यो । काठमाडौं उपत्यका कहालिलाग्दो स्थितिमा छ । र, भूकम्प प्रभावित अन्य क्षेत्रको हालत पनि त्यस्तै छ । ८२ वर्षयता यति ठूलो विपत्ति राष्ट्रले व्यहोरेको थिएन । अहिले राष्ट्र चरम शोकमा डुबेको छ । पुरातात्विक महत्वका भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र वसन्तपुर दरबार स्क्वायर नेपालको पहिचान मात्र थिनन्, विश्वसम्पदा सूचीमा रहेका विश्वकै सम्पत्ति थिए । त्यहाँ धेरै क्षति भएको छ । यो राष्ट्रको मात्र नभएर विश्वकै लागि अपूरणीय क्षति हो ।
विज्ञसँग कन्सल्ट गर्दा भन्ने गर्छन्, गुगलमा गएर ग्लोबल पोजिसनिङ सिस्टम अध्ययन गर्दा उच्च हिमालयको अग्रभागदेखि चुरे पहाडसम्मको क्षेत्र ब्लक छ । ब्लक भएकाले त्यहाँ धेरै इनर्जी सञ्चित हुन्छ । इन्डियन प्लेट र तिब्बती प्लेटबीच जब कोलिजन हुन्छ, तब यसले सञ्चित इनर्जीमा सीधै असर गर्छ र प्लेट तलबाट माथितिर ठेलिन्छ । प्लेट माथितिर ठेलिँदा इनर्जी रिलिज हुन्छ र यसैले भूकम्पन ल्याउँछ ।’ भूगर्भविदले बताउने प्राविधिक कारणसँगै अर्को सत्य के पनि हो भने भूकम्पको भविष्यवाणि गर्न सकिँदैन । भूकम्प र त्यसले पुर्‍याउने क्षति अनिश्चित भए पनि भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा तत्काल गरिहाल्नुपर्ने जरुरी मानवीय काममा सरकार, गैरसरकारी संस्था र समुदायले तत्परता देखाएर व्यवस्थापकीय कौशलता देखाउन सक्छन् । यस्तो महसंकटको घडीमा सरकारका अगुवाहरूले सधैँको सरकारी कार्यशैलीजस्तै तदारुकता र अग्रसरता नदेखाउने र अलमलिएर बस्नुहुँदैनथ्यो । तर, दुर्भाग्य के भइरहेको छ भने यसअघिका दैवीविपत्तिमा जस्तै यहीँनिर हाम्रो सरकार नराम्ररी चुकेको छ । सरकारको आकस्मिक बैठक बस्नै ६ घन्टाभन्दा बढी समय लागेकाले राज्यसञ्चालनका अगुवाहरू नै पुरातन सरकारी कार्यशैलीमा चलेको देखिन्छ । उद्धारकार्य हुननसकेको मात्र होइन, शान्तिसुरक्षाको स्थिति पनि खलबलिएको छ । कालोबजारी र चोरहरूको बिगबिगी बढेको छ ।
सरकारको कार्यशैली त छँदै छ समुदाय र समाजका अगुवाहरूको भूमिका पनि प्रभावकारी देखिएन । सरकारलाई दोष दिएर र सरकारकै आलोचना मात्र गरेर बस्नुसट्टा जसले जहाँबाट सक्छ, त्यहीँ यथासक्य सहयोग गर्नु हाम्रो उच्च मानवीय कर्तव्य हो । राजनीतिक पार्टीका नेता र कार्यकर्ताहरू तथा समाजका चेतनशील अगुवाहरूले एकले अर्कोको आलोचना र टिप्पणी गर्न छाडेर सबै एकजुट भई पीडितहरूलाई उद्धार गर्न तथा राहत संकलन र वितरण कार्यमा जुट्नु नै वर्तमान समयको माग र परम कर्तव्य हुन आउँछ । आलोचना र विरोध त भविष्यमा जति गरे पनि छँदै छ । जसले तत्कालको कर्तव्य र जिम्मेवारी पूरा गर्छ त्यसैलाई मात्र आलोचनाको अधिकार प्राप्त हुन्छ ।
यो महाभूकम्पले हामीलाई ठूलै पाठ पढाएको छ । हामी सबैलाई थाहा छ, नेपाल उच्च भूकम्पीय जोखिम क्षेत्रमा छ । यो जान्दाजान्दै पनि आ–आफ्नै मनपरी हिसाबले भवन र संरचनाहरू निर्माण भइरहेका छन् । त्यसलाई आजैबाट रोक्नुपर्छ । भूकम्पप्रतिरोधी भवन निर्माण आचारसंहिता भए पनि त्यसलाई नक्सामा मात्र देखाइन्छ । त्यसअनुसार निर्माण गरिँदैन । यो भवन निर्माण आचारसम्हिताकै विषयमा पनि यो नेपालको माटो सुहाउँदो छैन र हिमालयमा जाने नेपालको भूकम्पलाई आधार मानी यो आचारसंहिता निर्माण गरिएको छैन भनेर विज्ञहरूले प्रश्न उठाएका छन् । यसतर्फ पनि पुनर्विचार हुन जरुरी छ । कपन एरियामा धेरै घरहरू भासिए, तर भत्केनन् । भवन निर्माणअघि स्वाइल टेस्ट नगरिएकाले यस्तो भएको हो भन्ने विज्ञको निष्कर्ष छ । घडेरी प्लटिङदेखि हाउजिङ निर्माणका कम्पनीहरू बढी नै जिम्मेवार र सम्वेदनशील हुनुपर्ने भएकाले उनीहरूलाई कसरी जिम्मेवार बनाउने हो ? यसतर्फ पनि सोच्न जरुरी भइसकेको छ ।
भविष्यमा गर्नुपर्ने कामहरू त छँदै छन्, तर अहिले तत्काल गर्नुपर्ने मानवीय उद्धार र राहत कार्यमा जुट्नुको विकल्प छैन । देशभित्र र बाहिर रहेका नेपाली एकजुट भएर नेपाली हुनुको परिचय दिने र राष्ट्रिय एकता देखाउने बेला आएको छ ।

प्रतिक्रिया