काठमाडौंमा सवारीसाधन अपर्याप्त

Nepal-1काठमाडौं, १५ वैशाख । गएको शनिबारको विनाशकारी भूकम्पपछि काठमाडौंमा अझै पर्याप्त मात्रामा सवारीसाधन सुचारु हुन सकेका छैनन् ।
ट्याक्सी, मोटरसाइकल जस्ता केही निजी क्षेत्रका सवारीसाधन सञ्चालनमा आएका भएपनि भूकम्पका त्रासका कारण सार्वजनिक सवारीसाधन पर्याप्त मात्रामा सञ्चालनमा नआएकाले यात्रुहरुले सास्ती व्यहोर्नु परेको छ ।

साझा, कान्तिपुर सिटी बस जस्ता केही भाडाका सवारीसाधन सञ्चालन भइरहेका भएपनि माइक्रोबस, ट्याम्पु सञ्चालनमा आएका छैनन् ।

काठमाडौंको गोङ्गबु, टोखा, नयाँ बसपार्क, महाराजगञ्जबाट सञ्चालन हुने माइक्रो बस तथा ट्याम्पु चलेका छैनन् भने कलङ्की लगायत चक्रपथमा चल्ने सवारीसाधन कम चलेका कारण मिनी बस र माइक्रोबसमा निकै भीड लागेको छ ।

महाराजगञ्जबाट रत्नपार्क आउनुपर्ने माइक्रोबस तथा ट्याम्पु पर्याप्त मात्रामा नचलेकाले आफू साझा बसबाट आएको विक्रम साहीले बताए ।

विनाशकारी भूकम्पका कारण नयाँ बसपार्क र गणेस्थान आदि क्षेत्रमा बाटो अवरुद्ध भएकाले सवारीसाधन सञ्चालनमा कठीनाइ भइरहेको छ ।

विनाशकारी भूकम्पका कारण नयाँ बसपार्क, गोङगबुलगायतका क्षेत्रमा थुप्रै गेष्टहाउस र पक्की तथा पुराना घर क्षतिग्रष्त हुनुका साथै सामाखुसी क्षेत्रमा पनि थुप्रै घरका पर्खाल भत्किएका थिए ।

प्रतिक्रिया