काठमाडौं, ११ वैशाख । एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले गठबन्धनलाई एकताबद्ध बनाई लैजानुको विकल्प नभएको निर्णय गरेको छ ।
मोर्चाको आज काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रवक्ता प्रेमबहादुर सिंहले कार्यविधि बनाएर भए पनि मोर्चालाई मजबुद बनाइ जाने बताए । बैठकमा उपस्थित सबै शीर्ष नेताले मोर्चाको एकतामा जोड दिएका प्रवक्ता सिंहले उल्लेख गरे ।
बैठकमा उपस्थित विजयकुमार गच्छदार, उपेन्द्र यादव, राजेन्द्र महतो र परशुराम तामाङलगायतका नेताले पनि विपक्षी मोर्चाको गठबन्धनलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।
एमाओवादीका महासचिव कृष्णबहादुर महरा संयोजकत्वको कार्यदलले शनिबार र आइतबार मोर्चाको आचारसंहिता र कार्यविधिका विषयमा गृहकार्य गरी आगामी सोमबार पुनः बैठक बसी एकताबद्ध भएर जाने सम्बन्धमा ठोस निर्णय गरिने प्रवक्ता सिंहले जानकारी दिए ।
बैठकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र टोपबहादुर रायमाझी एवम् मधेसकेन्द्रितका साथै अन्य दलका शीर्षस्थ नेताहरूको उपस्थिति रहेको थियो ।
चैत २४ मा तीनदिने आम हडतालको दोस्रो दिन हडताल स्थगित गर्न बैठक बसेपछि आज पहिलोपटक मोर्चाको बैठक बसेको प्रवक्ता सिंहले जानकारी दिए ।
प्रतिक्रिया