सिटिइभिटीविरुद्ध अखिलको आन्दोलन

ctevtकाठमाडौं, १० वैशाख । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटीविरुद्ध आन्दोलन घोषणा गरेको छ ।

सिटिइभिटीले डिप्लोमा तहमा शुल्क बढाएको विरोधमा अखिल क्रान्तिकारीले वृद्धि भएको शुल्क खारेजी माग गर्दै आन्दोलनको घोषणा गरेको हो ।

अखिल क्रान्तिकारीले आज राजधानीमा पत्रकार सम्मेलन गरी डिप्लोमा तहका नर्सिङ, फार्सेसी र हेल्थ असिस्टेण्टमा बढाएको शुल्क खारेजीको माग गरेको छ । सिटिइभिटीले यस शैक्षिक सत्रदेखि तीन विषयमा शुल्क बढाएको छ ।

अखिल क्रान्तिकारीका महासचिव रत्न ढकालले वृद्धि भएको शुल्क फिर्ता गर्न नमानेपछि आन्दोलन गर्नुपरेको जानकारी गराए ।

ढकालका अनुसार वैशाख १० देखि १७ गतेसम्म प्रचार प्रसार, १८ गतेदेखि जनपरिचालन र २५ गतेदेखि तालाबन्दी र हडतालका कार्यक्रम गरिनेछ ।

परिषदले नर्सिङमा ८३ हजारबाट बढाएर ४ लाख ७९ हजार ३ सय, फार्मेसीमा २ लाख ८२ हजारबाट बढाएर ३ लाख ४७ हजार र हेल्थ असिस्टेण्टमा ३ लाख ४७ हजारबाट बढाएर ४ लाख ११ हजार पुराएको छ ।

परिषदले तोकेको भन्दा पनि बढी रकम निजी कलेजहरूले लिने गरेका छन् ।

प्रतिक्रिया