नीति विपरीत पाठ्यपुस्तक बिक्री

दोलखा, १० वैशाख । दोलखा सदरमुकाम चरिकोटमा रहेका केही पुस्तक पसलबाट नीति विपरीत पाठ्पुस्तक बिक्री वितरण गरेको पाइएको छ ।

नियमानुसार कक्षा एकदेखि पाँचसम्मकालागि निजी प्रकाशन र कक्षा ६ देखि १० सम्मका लागि जनक शिक्षा सामग्री केन्द्रले प्रकाशन गरेका पुस्तक बिक्री वितरण गर्न भनिए पनि केही पुस्तक पसलले नीति अटेर गरेको पाइएको छ । केही पुस्तक पसलले गत वर्षको स्टक बाँकी रहेको भन्दै जनक शिक्षाको साटो निजी प्रकाशनका किताब बेचिरहेका छन् ।
जिल्ला शिक्षा कार्यालयले गरेको अनुगमनका क्रममा निजी प्रकाशन संस्था र जनक शिक्षा सामग्री केन्द्रले प्रकाशन गरेको पुस्तक मिसाएर बेचेको पाइएको जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ ।
जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनका अनुसार निजी पुस्तक बिक्री गर्दा व्यवसायीलाई ३६ प्रतिशतभन्दा बढी नाफा हुन्छ भने जनक शिक्षा सामग्री केन्द्रले प्रकाशन गरेको पुस्तक बेच्दा नौ प्रतिशत मात्रै नाफा हुने गरेको छ । त्यसैले पनि केन्द्रले प्रकाशन गरेको पुस्तकभन्दा निजी संस्थाले प्रकाशन गरेको पुस्तक बेच्ने गरिएको हो । विद्यालयले मापदण्ड विपरीत पुस्तक खरिद गरेको पाइएमा भुक्तानी रोक्का गरिने जिशिअ लोप्चनले जानकारी दिएका छन् ।
जिल्ला शिक्षा कार्यालयले प्राथमिक तहबाहेक निम्न माध्यमिक र माध्यमिक तहका लागि निजीको पुस्तक खरिद नगर्न सबैमा अनुरोधसमेत गरेको छ । अनुगमनका क्रममा नीति विपरीत निजीले प्रकाशन गरेको पाठ्यपुस्तक बिक्री गर्ने व्यवसायीलाई त्यसो नगर्न चेतावनी दिएको उनले बताए ।
यता नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ दोलखाका अध्यक्ष शिवहरी थापाले गत वर्ष निजी संस्थाको प्रकाशन बाँकी रहेकाले व्यवसायीले बिक्री गरेको बताए । आगामी दिनमा बिक्री नगरिने उनको भनाइ छ । जिल्लामा ११ वटा पुस्तक पसललाई किताब बेच्न अनुमति दिइएको छ । दोलखामा ४३ हजार ३४ विद्यार्थीका लागि पुस्तक खरिद गर्न एक करोड ३२ लाख ७६ हजार रुपैयाँ विनियोजन गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ  ।
निमावि तहका लागि सबैभन्दा बढी ५० लाख ९२ हजार बजेट विनियोजन गरिएको छ भने प्रावि तहका लागि ३९ लाख १० हजार र मावि तहका लागि सबैभन्दा कम ३० लाख ७५ हजार रुपैयाँ बजेट रहेको छ ।
पाठ्यपुस्तक खरिदका लागि आवश्यक रकम मध्ये ७५ प्रतिशत फागुन महिनामै विद्यालयको खातामा पठाइसकिएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक शेषकान्त पौड्यालले जानकारी दिएका छन् ।

प्रतिक्रिया