पुगेन बाजुरामा पाठ्यपुस्तक

बाजुरा, १० वैशाख । जिल्ला शिक्षा कार्यालय बाजुराले बिहीबारबाट औपचारिक रूपमा विद्यार्थी भर्ना अभियान सञ्चालन गरे पनि जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक पु¥याउन नसक्दा पुस्तकविनै भर्ना अभियान सञ्चालन भएको छ ।

गतवर्षको तथ्यांकलाई हेर्ने हो भने जिल्लामा कक्षा १ देखि १० सम्म ८० हजार सेट पुर्‍याउनुपर्नेे थियो तर केही विषयका पाठ्यपुस्तक नपाएरै विद्यार्थीले परीक्षा दिनुपरेको थियो ।
जिल्ला शिक्षा कार्यालय बाजुराले पाठ्यपुस्तकको रकम विद्यालयको खातामा हालेको लामो समय बितिसक्दासमेत पाठ्यपुस्तक विद्यार्थीले पाउन सकेका छैनन् । जनक शिक्षा सामग्रीले कक्षा ६ देखि कक्षा १० सम्मको एक लाख सेट पु¥याउनुपर्ने भए पनि सदरमुकामको डिपोमा अहिलेसम्म ५० हजार सेट मात्र पुगेको बताइएको छ ।
गतवर्ष जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने गरी जिम्मा पाएका डिलरले पाठ्यपुस्तक ढुवानीको भाडा र नौ प्रतिशत कमिसन पाए पनि यस वर्ष भने केन्द्रले कमिसन मात्र दिएका कारण पाठ्यपुस्तक बोक्नसमेत रकम नपुग्ने भएकाले काम गर्न नसकिएको बडिमालीका पुस्तक पसल बारबिसेका हीरेन्द्र बानियाँले बताए ।
जनक शिक्षा सामग्री केन्द्रको डिलरबाट टाढा ढुवानी गर्न नपर्ने केही पुस्तकका एजेन्टले मात्र किताब उठाएका छन् भने जिल्लाका पूर्वी ११ गाविस एवं जिल्लाका दक्षिणी क्षेत्रका गाविसमा अझै पाठ्यपुस्तक जान सकेको छैन ।
सरकारले दिने पाठ्यपुस्तकको रकमसमेत विद्यार्थी भर्नाको अनुपातमा नआउने भएका कारण सबै विद्यार्थीले पाठ्यपुस्तक पाउँदैन थिए । यस वर्ष त अहिलेसम्म पुस्तक पसलले समेत पुस्तक उठाएको छैन, पुस्तक पाइने हो या होइन थाहा छैन । शम्भु सुनन्दा उमावि जुकोटका प्राचार्य गोविन्दबहादुर शाहले बताए ।
पाठ्यपुस्तक ढुवानी आफ्नो खल्तीबाट गर्न नसकिने भएकाले हामीले किताब उठाउन सकेका छैनौँ । हामीले डिपोबाट पाठ्यपुस्तक सम्बन्धित गाविसमा लैजान प्रतिकेजी २५ रुपैयाँ लाग्छ । हामीले नौ रुपैयाँ मात्र पाउँछौँ ।
लाखाँ लगानी गरेर किन ऋण थुपार्ने किताब सरकारले व्यवस्था गरी दिनुपर्‍यो कोल्टी क्षेत्रमा पाठ्यपुस्तक वितरण गर्ने नरेश शाहीले बताए ।
जनक शिक्षा सामग्री केन्द्रका अधिकृत काशीचन्द्र रोकायाले भने, ‘जिल्लामा पाठ्यपुस्तक पुगेको छ, केहीले मात्र उठाएका छन् । मैले यो समस्या समाधान गर्न नसक्ने भएका कारण माथि पठाएको छु । माथिबाट जवाफ आएमा काम अगाडि बढाउँछु ।’
जनक शिक्षा सामग्री केन्द्र र जिल्लामा पाठ्यपुस्तक पु¥याउने एजेन्टका बीचको समस्याका कारण जिल्लाका विद्यार्थीले विद्यालय जाँदा पाउनुपर्ने पुस्तक अहिलेसम्म नपाउनुले आफूहरू आक्रोशित भएको र यो समस्या छिट्टै समाधान नभए आन्दोलन गर्ने अनेरास्ववियु जिल्ला कमिटी बाजुराले एक कार्यक्रममार्फत चेतावनी दिएको छ ।
जिल्लामा १५ वर्षमाथिको कुल साक्षरता प्रतिशत ४०.१४, छ वर्षमाथिको साक्षरता प्रतिशत ५५.५० प्रतिशत मात्र रहेको छ । जिल्ला शिक्षा कार्यालय बाजुरा निमित्त कार्यालय प्रमुख बिबिराज सोतीले दिएको जानकारीअनुसार महिलाको साक्षरता प्रतिशत अझै कम छ ।
छ वर्षमाथिको उमेर समूहमा हेर्ने हो भने महिलाको साक्षरता प्रतिशत ४३ अर्थात् पुरुषको तुलनामा २५ प्रतिशतले कम देखिएको छ । उता १५ वर्षमाथिको उमेर समूहमा हेर्ने हो भने पुरुषको ५८.७४ र महिलाको ३७.१४ प्रतिशतले कम हुँदै २१.६० मात्र रहेको छ ।
जिल्ला शिक्षा कार्यालय बाजुराले २०६७ सालमा गरेको घरधुरी सर्भेक्षणको तथ्यांकअनुसार एक लाख ४० हजार १ सय ४८ जनसंख्या रहेका जिल्लामा २४ गाविस र एक नगरपालिका छन् ।
जिल्लामा दुई सय २३ बालविकास केन्द्र दुई सय ७१ सामुदायिक विद्यालय २७ संस्थागत र तीनवटा स्नातक क्याम्पस रहेका छन् । बाजुरामा शिक्षाको नतिजा प्रवेशिका परीक्षालाई आधार मानेर तुलनात्मकरूपमा लिने हो भने ०६५ सालदेखि नतिजा अधोगतिमा देखिन्छ ।
वि.सं. ०६५ मा जिल्लाभर ८२.९ प्रतिशले परीक्षामा पास गरेका थिए भने दोस्रो वर्षमा घटेर ७०.८ प्रतिशत थियो त्यसपछि निरन्तर अ‍ोरालो लागेको नतिजा ०७० मा आएर २१ प्रतिशतमा झरेको देखिन्छ ।
भर्ना अभियान सञ्चालन भए पनि पुस्तक नपुग्दा विद्यार्थी मर्कामा परेका छन् । गएका वर्षमा त केही किताब पाइन्थे यस वर्ष कुनै पनि किताब नपाइने हो कि भन्ने पिरलो रहेको कैलाश मावि मोहतीका प्रधानाध्यापक समराज विष्टले गुनासो गरे ।

प्रतिक्रिया