एसएलसी उत्तरपुस्तिका परीक्षण सुरु

slc-result-nepalकाठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले देशका विभिन्न ६४ वटा उत्तरपुस्तिका परीक्षण केन्द्रबाट एसएलसीको उत्तरपुस्तिका परीक्षण सुरु गरेको छ ।

गत चैत ५ गते सुरु भई १६ गते सकिएको एसएलसी परीक्षामा देशभरबाट पाँच लाख ७४ हजार छ सय ८५ विद्यार्थी सहभागी भएका थिए ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार आगामी असार १५ गते अगावै परीक्षाफल प्रकाशन गर्ने लक्ष्यका साथ परीक्षा नियन्त्रण कार्यालयसहित देशभरका विभिन्न ६४ वटा उत्तरपुस्तिका केन्द्रमा परीक्षण कार्यलाई तीव्र रूपमा बढाइएको छ ।

यातायातको सहजता तथा परीक्षकको उपलब्धताका आधारमा केन्द्र स्थापना गरिएको र परीक्षकहरूले केन्द्रमै गएर उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने उनले जानकारी गराए ।

उत्तरपुस्तिका परीक्षण कार्यलाई प्रभावकारी बनाउन केन्द्रहरूमा परीक्षा नियन्त्रण कार्यालयबाट अनुगमन टोली पनि परिचालन गरिएको छ ।

उत्तरपुस्तिका परीक्षणबापत गत वर्षसम्म प्रतिउत्तरपुस्तिका १५ रुपैयाँ पारिश्रमिक उपलब्ध गराइएकामा यस वर्षदेखि उक्त पारिश्रमिक वृद्धि गरी २० रुपैयाँ बनाइएको छ । (सौस)

प्रतिक्रिया