नेपाली मिडियाका राजनीतिक समाचारमा लैंगिकता

Subhechhya-Bindu-aaमिडिया देश र जनताको दृष्टि हो । यो आवाजविहीनहरूको आवाज पनि हो । यो अक्सर सरकारको प्रतिपक्षको भूमिकामा रहेको हुन्छ किनभने यसले जनताका इच्छा र आकांक्षाहरूलाई वाणी दिन्छ ।

सरकारले गरेका वा गर्न लागेका जनहित विपरीतका कार्यहरूको यसले सबल आलोचना गर्दछ । यसर्थ यो लोकतन्त्रको सच्चा पहरेदार पनि हो । यसैले गर्दा नै मिडियाले राज्यको चौथो अंगको मर्यादा पाएको छ । यस मानेमा मिडियाबाट सबै जनताप्रति, महिला–पुरुष वा अन्य लिङ्गीप्रति समान व्यवहार एवं समदृष्टि अपेक्षा गरिनु अस्वाभाविक होइन ।

मिडियाका सम्बन्धमा अर्को एउटा स्थापित भनाइ छ– मिडिया समाजको ऐना हो । समाज जस्तो छ यसले त्यस्तै देखाउँछ । वास्तवमा मिडिया समाजको ऐना मात्र होइन, यो समाजको पथप्रदर्शक पनि हो । मिडियाले यथार्थको प्रतिनिधित्व मात्र गर्दैन, यसले आफूले देख्न चाहेको जस्तो संसार र भोलिको समाजको पुनर्निर्माण पनि गर्छ ।

मिडियाको मुख्य जिम्मेवारी सूचना प्रवाह गर्नु हो जसलाई समाचारको माध्यमबाट प्रवाह गरिन्छ । मिडियाले सूचना प्रवाहसँगै शिक्षा र मनोरञ्जन पनि प्रदान गर्दछ । यी सबै प्रक्रियामा पत्रकारहरूद्वारा समाचार छनोट गरी संकलन गरिन्छ । यो छनोट प्रक्रिया सधैं तटस्थ र वस्तुगत मात्र हुँदैन । धेरै घटना–परिघटनाको बीचबाट सम्वाददाता र पत्रकारहरूलाई जुन बढी महत्वपूर्ण लाग्दछ, त्यसैलाई समाचार बनाइन्छ र अरूलाई छाडिन्छ ।

यस अर्थमा समाचार छनोट, संकलन, सम्पादन र सम्प्रेषणमा पत्रकारहरूको बुझाइ र दृष्टिकोण (माइन्ड सेट)ले निकै ठूलो भूमिका निर्वाह गरेको हुन्छ ।

सत्य, निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्नु मिडियाको निर्देशक सिद्धान्त हो भने राज्य र सार्वजनिक हितका लागि समाजप्रति उत्तरदायी अन्य निकायहरूको वाचडगको भूमिका निर्वाह गर्नु पनि यसको काम हो । सिद्धान्ततः यति धेरै गहन र महत्वपूर्ण जिम्मेवारी भए पनि सञ्चारकर्मीको व्यक्तिगत र अन्य सामाजिक राजनीतिक कारणले गर्दा मिडियाले कार्यान्वयनका क्रममा यो जिम्मेवारीलाई पूर्णतः निर्वाह गर्न सकेको पाइँदैन ।

मिडियाको अन्तर्वस्तु तयार गर्ने प्रक्रिया पूर्ण वस्तुनिष्ठ र तटस्थ हुन नसक्दा यसले समाजमा अन्य किसिमका प्रभाव पनि पारिरहेको छ । उदाहरणका लागि, आम जनताको विचार र दृष्टिकोणलाई आकार दिने, सार्वजनिक डिस्कोर्स र राजनीतिक, आर्थिक तथा सामाजिक सांस्कृतिक प्राथमिकताहरू निर्धारण गर्ने, समाचारका एजेन्डा मार्फत सार्वजनिक नीतिलाई प्रभावित गर्ने, लैङ्गिक र जातीय वा अन्य किसिमका परम्परागत बनावट र मूल्य–मान्यतालाई बढावा दिने वा चुनौती दिने, आवाजविहीनहरूको आवाजलाई उजागर गर्ने आदि मिडिया मार्फत भइरहेको छ ।

लैङ्गिक समानतायुक्त र न्यायपूर्ण समाजको स्थापनाका लागि मिडियाको पुनर्निर्माण गर्न सक्ने शक्तिको अत्यन्त ठूलो महत्व छ । यही कारणले सन् १९९५ सेप्टेम्बरमा चीनको राजधानी बेइजिङमा सम्पन्न चौथो विश्व महिला सम्मेलनमा पनि मिडियालाई महिला अग्रगमनका लागि एक प्रमुख क्षेत्रका रूपमा पहिचान गरी विभिन्न रणनीतिहरू तय गरिएको थियो ।

संसारभरिका महिला अधिकारकर्मीहरूका लागि मिडियाले आप्mना अन्तर्वस्तुहरूमा महिलालाई चित्रण र प्रतिनिधित्व गराउने प्रवृत्ति, आम र राष्ट्रिय सरोकारका विषयहरूमा महिलाको दृष्टिकोणको अघोषित बहिस्करण, आप्ना उपभोक्ताहरूलाई आकर्षित गर्न महिला–यौन र हिंसाका सन्दर्भहरूको सनसनीखेज प्रस्तुति गर्ने तरिका, मुख्य समाचार पृष्ठ र समयहरूमा महिलालाई प्रत्यक्ष प्रभाव पार्ने विषयहरूको उपेक्षा, समाचार–कक्षमा महिलाहरूलाई तल्लो स्तर (पदहरू) मा राखिने प्रचलन, सञ्चार संस्थाहरूभित्र महिलामैत्री वातावरणको अभाव जस्ता मिडिया सम्बन्धित प्रवृत्ति तथा आयामलाई चुनौती दिनु र परिवर्तन गर्नुपर्ने अवस्था मुख्य सरोकारका विषय भएका छन् ।

नेपाल अहिले राजनीतिक रूपमा लामो संक्रमणकालमा रहेको छ । मुलुक र जनताको समृद्धिका लागि विभिन्न राजनीतिक मोडेलहरूको अनुभवबाट गुज्रँदै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्दै अघि बढेको मुलुक अब नयाँ संविधानको निर्माण र राज्य पुनर्संरचनाको प्रक्रियाद्वारा त्यसलाई संस्थागत गर्ने दिशातिर उन्मुख छ । यस महत्वपूर्ण घडीमा हुने सबै राजनीतिक बहस र छलफलहरूमा महिलाको सहभागिता र एजेन्डालाई सुरक्षित गर्न मिडियाले के–कस्तो भूमिका निर्वाह गर्न सक्यो वा सकेन भनेर अध्ययन गरिनु जरुरी छ ।

वर्तमान विशिष्ट अवस्थामा नेपाली मिडियाहरूबाट प्रकाशन÷प्रसारण हुने राजनीतिक समाचार तथा अन्य सामग्रीमा लैंगिकताको अवस्था कस्तो छ ? मिडियामा महिला पुरुषहरूको सरोकार तथा विचारको प्रतिनिधित्व एवं उनीहरूको भौतिक उपस्थिति के–कस्तो छ ? यिनै प्रश्नलाई उत्तरित गर्नका लागि अस्मिता महिला प्रकाशन गृह, सञ्चार तथा स्रोत संस्थाले हालै तीन साता लामो एक अध्ययन गरी त्यसको निष्कर्ष सार्वजनिक गरेको थियो ।
यो सञ्चार अध्ययन अनुगमन सन् २०१४ मे २२ देखि जुन ११ सम्म प्रकाशित÷प्रसारित समाचारहरूमा आधारित छ । यो अध्ययन चार अंग्रेजी र दश नेपाली राष्ट्रिय दैनिक पत्रिका, चार रेडियो र चार टेलिभिजन च्यानलका प्राइम टाइम समाचार बुलेटिनका राजनीतिक समाचारहरूमा केन्द्रित छ । टेलिभिजन, रेडियो र पत्रिकाका गरी कुल चार हजार दुई सय १९ वटा मिडिया सामग्रीको लैंगिक दृष्टिकोणबाट अनुगमन गरिएको छ । यस सञ्चार अनुगमनले नेपाली मिडियामा आउने राजनीतिक समाचार सम्बन्धमा निम्न तथ्यहरूलाई उजागर गरेको छ ।

संसारका महिला अधिकारकर्मीहरूका लागि मिडियाले आप्mना अन्तर्वस्तुहरूमा महिलालाई चित्रण र प्रतिनिधित्व गराउने प्रवृत्ति, आम र राष्ट्रिय सरोकारका विषयहरूमा महिलाको दृष्टिकोणको अघोषित बहिस्करण, आप्mना उपभोक्तालाई आकर्षित गर्न महिला–यौन र हिंसाका सन्दर्भहरूको सनसनीखेज प्रस्तुति गर्ने तरिका, मुख्य समाचार पृष्ठ र समयहरूमा महिलालाई प्रत्यक्ष प्रभाव पार्ने विषयहरूको उपेक्षा, समाचार–कक्षमा महिलाहरूलाई तल्लो स्तर (पदहरू) मा राखिने चलन, सञ्चार संस्थाहरूभित्र महिलामैत्री वातावरणको अभाव जस्ता मिडिया सम्बन्धित प्रवृत्ति तथा आयामलाई चुनौती दिनु र परिवर्तन गर्नुपर्ने अवस्था मुख्य सरोकारका विषय भएका छन् ।

मिडियालाई जनउत्तरदायी र लैंगिक रूपमा स्वच्छ तथा सन्तुलित बनाउन सञ्चार अनुगमन (मिडिया मनिटरिङ) बाट प्राप्त तथ्य–तथ्यांकहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।

विशेषगरी नेपाली मिडियालाई नियाल्दा राजनीतिसम्बन्धी समाचार महिला–प्रधान भएको वा महिला–केन्द्रित समाचारलाई राजनीतिक रूपमा चासो दिएका समाचार निकै कम देखिन्छन् । यसले पुरुषको तुलनामा महिला राजनीतिको क्षेत्रमा कम मात्र सक्रिय हुन सकिरहेको स्थितिमा तिनै कम महिलाको पनि सञ्चारमा सही चित्रण नहुँदा उनीहरू निरुत्साहित हुने, योगदानको कदर नहुने तथा उनीहरू अगाडि बढ्न मार्गप्रशस्तसमेत नहुने सम्भावना देखिन्छ । यसले सबै क्षेत्रमा महिलाको समानुपातिक सहभागिता र प्रतिनिधित्व हुनुपर्ने समसामयिक मागलाई पनि पछाडि धकेल्ने सम्भावना छ ।

अस्मिताले आफ्नो अध्ययनका लागि सन् २०१४ मे २२ देखि जुन ११ सम्म तीन साताको अवधिका उल्लिखित पत्रपत्रिका संकलन गर्ने र रेडियो तथा टेलिभिजनका प्राइमटाइम समाचार बुलेटिनहरू रेकर्ड गरिएको थियो । चार रेडियो तथा चार टेलिभिजन च्यानलमा समाचार बुलेटिनभित्रका राजनीतिक समाचारहरू र चार अंग्रेजीसहित १४ पत्रिकामा आएका राजनीतिक समाचारका साथै अन्य राजनीतिक सामग्री– फिचर, विचारमूलक लेख, सम्पादकीय र सम्पादकलाई चिठी समेतको अध्ययन गरिएको थियो ।

तसर्थ, यस अध्ययनमा रेडियो, टेलिभिजन, पत्रिकाका राजनीतिक समाचारका साथै पत्रिकाका विचारमूलक लेख, सम्पादकीय, सम्पादकलाई चिठीसमेतलाई बुझाउने गरी समग्रमा राजनीतिक समाचार भनिएको छ । यस अध्ययनमा टेलिभिजन र रेडियोका क्रमशः ७ सय २८ र ७ सय ८३ वटा राजनीतिक समाचार तथा पत्रपत्रिकाका दुई हजार सात सय आठ राजनीतिक समाचार र अन्य विधाका गरी कुल चार हजार दुई सय १९ वटा मिडिया सामग्रीको अनुगमन गरिएको जनाइएको छ ।

प्राथमिकतामै राजनीतिक समाचार

कुनै ठूलो दुर्घटना, खास सामाजिक परिघटना, विशेष राष्ट्रिय गौरवपूर्ण उपलब्धि वा राष्ट्रिय सामाजिक चाडपर्व आदि केही विषयका अतिरिक्त नेपालका आमसञ्चारमाध्यम अर्थात् मिडियामा आउने समाचारमा राजनीति वा राजनीतिक विषयले उच्च प्राथमिकता पाउने गरेको छ । पत्रिकामा अध्ययन गरिएका सामग्रीमध्ये २४ दशमलव ८ प्रतिशत समाचार प्रथम पृष्ठमा आएका छन् ।

अध्ययन गरिएका सम्पूर्ण राजनीतिक समाचार सामग्रीको करिब एक चौथाइ सामग्री प्रथम पृष्ठमा आउनुले नेपालमा राजनीतिका समाचारलाई बढीजसो पहिलो पृष्ठमै स्थान दिइन्छ भन्ने प्रस्ट हुन्छ । प्रथम पृष्ठमा स्थान नपाएका राजनीतिक सामग्रीहरू तेस्रो पृष्ठमा १४ दशमलव ५ प्रतिशत, पाँचौं पृष्ठमा ११ प्रतिशत र बाँकी अन्य पृष्ठमा प्रकाशित छन् ।

राजनीतिअन्तर्गत अनेक हाँगाबिँगा हुने भए पनि प्रकाशित÷प्रसारित राजनीतिक समाचारको प्रमुख विषयका रूपमा घरेलु राजनीति र सरकारसँग सम्बन्धित समाचारकै वर्चस्व देखिन्छ । यसअन्तर्गत कुल सामग्रीको ३९ प्रतिशत समाचार सामग्री पर्दछन् जसमा २४ दशमलव ३ प्रतिशत पत्रिकामा, ११ दशमलव ६ प्रतिशत रेडियोमा र ३ दशमलव १ प्रतिशत प्रतिशत टेलिभिजनमा थिए ।

समग्रमा हेर्दा तीनवटै मिडियाको अध्ययन गरिएका कुल चार हजार दुई सय १९ वटा राजनीतिक सामग्रीमा निम्न विषयअनुसारको कभरेज भएको देखिएको छ– ३९ प्रतिशत घरेलु राजनीति र सरकारसँग सम्बन्धित, ३५ दशमलव ५ प्रतिशत राजनीतिक सत्ता तथा निर्णय–प्रक्रियासँग सम्बन्धित, १५ दशमलव ८ प्रतिशत विदेशी वा अन्तर्राष्ट्रिय राजनीतिसँग सम्बन्धित, ४ दशमलव ५ प्रतिशत निर्वाचनसँग सम्बन्धित र ५ दशमलव १ प्रतिशत अन्य समाचार रहेको पाइन्छ ।

कति बाइलाइन समाचार र अन्य सामग्री महिला पुरुष पत्रकारले लेखे वा रेडियो र टेलिभिजनमा प्रस्तुत गरे भन्ने सन्दर्भमा पनि यो अध्ययनले विश्लेषण गर्ने प्रयत्न गरेको छ । पत्रपत्रिकामा उल्लिखित बाइलाइन र रेडियो तथा टेलिभिजनमा एंकर अथवा रिपोर्टरको भूमिकामा देखापरेका सबैलाई एउटै तथ्यांकमा समेटिएको छ ।

अध्ययन गरिएका कुल चार हजार दुई सय १९ सामग्रीमध्ये ५१ दशमलव ५ प्रतिशत सामग्री पुरुष पत्रकारले, २ दशमलव ६ प्रतिशत सामग्री महिला पत्रकारले तयार गरेका थिए भने ४५ दशमलव ९प्रतिशत सामग्री तयार गर्ने व्यक्तिको लैंगिक पहिचान सम्बन्धमा जानकारी प्राप्त हुन सकेन ।

पत्रिकामा धेरै समाचार बाइलाइन नहुने हुँदा यस्तो अवस्था देखिएको हो । पत्रिकामा ५० वटा सामग्री महिलाको बाइलाइन लेखनमा पाइएको छ भने रेडियो र टेलिभिजनमा क्रमशः ३१ वटा र २९ वटा सामग्री महिला एंकर र रिपोर्टरद्वारा प्रस्तुत भएको छ ।

यसको अर्थ विशेषतः राजनीतिक समाचार र अन्य सामग्री तयार गर्ने काममा महिला पत्रकारको भूमिका अत्यन्त न्यून रहने गरेको प्रस्ट हुन्छ ।
समाचार प्रस्तुतकर्ताहरूमध्ये भने एंकरका रूपमा महिलाको उपस्थिति उल्लेखनीय छ ।

लिभिजनका राजनीतिक समाचारमध्ये ४८ दशमलव २ प्रतिशत सामग्री महिला र ४८ दशमलव १ प्रतिशत सामग्री पुरुष एंकर वा एनाउन्सरले प्रस्तुत गरेका छन् ।

तर, अर्कातिर टेलिभिजन समाचारमा रिपोर्टरको संख्यात्मक स्थिति भने नितान्त फरक छ । यसमा २१ वटा सामग्री पुरुष रिपोर्टरले र केवल दुईवटा सामग्री मात्र महिला रिपोर्टरले तयार पारेको पाइन्छ । उमेरको सन्दर्भ हेर्दा एंकर÷एनाउन्सरको भूमिकामा रहेकाहरू महिला वा पुरुष जुन लिंगको भए पनि धेरैजसो ६८ दशमलव ९ प्रतिशत १९–३४ उमेर समूहका छन् भने २९ दशमलव ९ प्रतिशत चाहिँ ३५–४९ उमेर समूहका छन् ।

रेडियोका सन्दर्भमा केलाउँदा १४ दशमलव ७ प्रतिशत सामग्री महिला र ७९ दशमलव ४ प्रतिशत सामग्री पुरुष एंकर वा एनाउन्सरले प्रस्तुत गरेका छन् । अर्कोतिर रेडियो रिपोर्टरको संख्यात्मक स्थिति नितान्त फरक छ ।

कुलमा ३ दशमलव १ प्रतिशत सामग्री पुरुष रिपोर्टरले तयार गरेका छन् भने महिला रिपोर्टरले एउटा सामग्री पनि तयार गरेको पाइएन । एकजना आरजे तेस्रोलिंगी पनि छन् । यसरी रेडियोमा समग्रमा राजनीतिक समाचार तयार र प्रस्तुत गर्ने एंकर÷एनाउन्सर, रिपोर्टरमा महिला पुरुषबीच चर्को लैंगिक असमानता भेटिन्छ ।

राजनीतिक सामग्रीको अध्ययन गर्दा देखिएको अर्को महत्वपूर्ण तथ्य हो– धेरैभन्दा धेरै पुरुषहरूलाई पात्र बनाएर वा उनीहरूको अनुभव, विचार र दृष्टिकोणलाई आधार बनाएरै राजनीतिक समाचार बनाइन्छ । अथवा, राजनीतिक समाचार र अन्य सामग्रीको विषयपात्र (जसका बारेमा चर्चा गरिन्छ, जोसँगै अन्तर्वार्ता गरिन्छ, जसको विचार लिइन्छ) मूलतः अधिकांश पुरुष हुने गर्दछन् । देशका सबै प्रमुख राजनीतिक पार्टीका प्रमुख पदमा पुरुष भएको अवस्थामा झट्ट सुन्दा राजनीतिक सामग्रीमा यो स्वाभाविक पनि लाग्न सक्छ ।

समाज र राज्यका निर्णायक पदमा रहेका तथा अगुवा प्रमुख व्यक्तिले बोल्दा समाचार हुने वा समाचार बन्ने प्रकारको निर्णयकारी कुरा उनीहरूबाटै आउने भएकाले यस्तो हुन गएको हो भन्न सकिएला तर अहिलेको अवस्थामा विभिन्न क्षेत्रमा महिलाको उपस्थिति पनि बढ्दै गएको र सामान्य विषयमा महिलाले पनि आप्नो अनुभव, विचार र दृष्टिकोण दिन सक्ने हुँदा माथिको तर्कलाई पूर्ण सही मान्न सकिँदैन ।

समाचार सामग्रीमा उल्लेख भएका वा विषयका रूपमा रहेका व्यक्तिहरूमध्ये तीनवटै मिडियामा विश्लेषण गर्दा सबैभन्दा बढी व्यक्तिहरू सरकारमा बस्ने, राजनीतिज्ञ, मन्त्री र प्रवक्ताहरू नै पर्दछन् । उनीहरूमध्ये पत्रिकामा ६१ दशमलव २ प्रतिशत, टेलिभिजनमा ८ प्रतिशत र रेडियोमा ६ दशमलव ७ प्रतिशत छन् । सबै माध्यममा आएका व्यक्तिको विश्लेषण गर्दा सबैभन्दा बढी सरकार, राजनीतिज्ञ, मन्त्री वा प्रवक्ता ७५ दशमलव ९प्रतिशत, दोस्रोमा सरकारी कर्मचारी ४ दशमलव ८ प्रतिशत र तेस्रोमा नागरिक समाजका कार्यकर्ता, गैसस कर्मचारी, ट्रेड युनियन सदस्यहरू ४ दशमलव १ प्रतिशत रहेका छन् ।

लैंगिक रूपमा हेर्दा सरकारमा बस्ने, राजनीतिज्ञ, मन्त्री, प्रवक्ता आदि पेसासँगै सम्बद्ध महिलाहरू समग्रमा केवल ५ दशमलव ९ प्रतिशत छन् भने अन्य पेसामा एक प्रतिशत पनि छैनन् । यीमध्ये ९ सयजना महिला पत्रिकाका समाचार र अन्य सामग्रीमा आएका छन् । दोस्रो ठूलो संख्याका रूपमा केवल ९९ जना महिला नागरिक समाजका कार्यकर्ताका रूपमा चित्रित गरिएका छन् ।

त्यस्तै सरकारमा बस्ने, राजनीतिज्ञ वा सरकारका प्रवक्ताहरूमा महिलाहरूको चित्रण पत्रिकाका समाचार तथा अन्य सामग्रीभित्र ६ दशमलव ५ प्रतिशत, रेडियो समाचारमा २ दशमलव ९ प्रतिशत र टेलिभिजन समाचारमा ४ दशमलव ६ प्रतिशत मात्र छ । टेलिभिजन समाचारमा मिडिया प्रोफेसनल, पत्रकार, फिल्मकर्मी आदिको प्रसंग प्रसारित हुँदा त्यसमा २५ जना पुरुष छन् भने त्यसमा एकजना पनि महिलाको उल्लेख छैन । रेडियोबाट प्रसारित समाचारमा जम्मा एक सय २१ जना पुरुष सरकारी कर्मचारीको चर्चा हुँदा महिला एकजनाको मात्र उल्लेख भएको पाइन्छ ।

प्रवक्ता, विज्ञ, प्रत्यक्षदर्शी र जनमत व्यक्त गर्ने भूमिकामा नगण्य मात्र महिला छन् । रेडियो समाचार र टेलिभिजन समाचार दुवैमा कुल २५ जना प्रवक्ताको उल्लेख हुँदा दुवैमा पुरुष प्रवक्ताको संख्या २४ छ भने महिला प्रवक्ता एकजना मात्र रहेको देखिन्छ । यसैगरी टेलिभिजन समाचारमा जम्मा १७ जना व्यक्ति विशेषज्ञ वा टिप्पणीकर्ताका रूपमा प्रस्तुत गरिएका छन् जसमा १६ जना पुरुष पात्र छन् तर तीमध्ये केवल एकजना मात्र महिला छन । पत्रिकामा ३६ जना पुरुष प्रवक्ता हुँदा तीनजना महिला, ३० जना पुरुष विज्ञ वा टिप्पणीकर्ता हुँदा तीनजना महिला, एक सय २५ जना व्यक्तिगत अनुभव बताउने पुरुषहरूको बीचमा ११ जना महिला छन् । यसबाट पनि सबै भूमिकामा पुरुषको तुलनामा महिलाको संख्या कम देखिन्छ ।

नेपाली मिडियाका राजनीतिक समाचारमा समाचारको अन्तर्वस्तुको विषयका रूपमा रहेका व्यक्तिको पारिवारिक सम्बन्ध दर्शाउने प्रवृत्ति कमै पाइएको छ । रेडियो, टेलिभिजन र पत्रिकाका राजनीतिक समाचार तथा अन्य सामग्रीको अन्तर्वस्तुमा विषयका रूपमा आएका व्यक्तिहरूमध्ये अत्यन्त सानो संख्या ७ दशमलव २ प्रतिशतको मात्र पारिवारिक सम्बन्ध दर्शाइएको छ ।

तीनवटै मिडियाकोे अनुगमन गर्दा राजनीतिक समाचार र सामग्रीहरूमा निकै कम पीडितहरूको चर्चा वा तिनको विचारलाई स्थान दिएको अवस्था छ । राजनीतिक समाचारका विषय बनेका व्यक्तिमध्ये एक प्रतिशत पनि हिंसापीडित छैनन् । दुर्घटना, प्राकृतिक विपत्ति, घरेलु हिंसा, यौन हिंसा, राज्यद्वारा हुने हिंसा, धार्मिकता र आतंकवाद, उमेर, अपांगता कुनै पनि कारण वा आधारमा हुने हिंसापीडित व्यक्तिले समाचारमा ठाउँ पाएका छैनन् ।

यस अध्ययनले पनि पुष्टि गरेको छ– राजनीतिक समाचारका अधिकांश विषय र पात्र पुरुष छन् । अध्ययन गरिएका पत्रिकाका राजनीतिक सामग्रीमध्ये नगण्य संख्याका सामग्रीहरू मात्र महिलाकेन्द्रित छन् । राजनीतिक समाचार संख्यात्मक रूपमा धेरै भए पनि ती समाचार महिलाकेन्द्रित हुँदैनन् । कुल अध्ययन गरिएका समाचार सामग्रीमध्ये १ दशमलव ४ प्रतिशत मात्र त्यस्ता समाचार परेका छन् जसको प्रमुख पात्र वा विषय महिलासँगै सम्बन्धित छन् । तीमध्ये सबैभन्दा धेरै सामग्री पत्रिकामा ४५ वटा छापिए भने रेडियोमा नौवटा र टेलिभिजनमा सातवटा प्रसारित भए ।

यसरी समग्र राजनीतिक समाचारहरूको तुलनामा महिलाकेन्द्रित भएका समाचार सामग्री निकै कम छन् । यसको अर्थ, राजनीतिक क्षेत्र तथा नेतृत्वमा रहेका महिला व्यक्तित्वहरूले अझै पनि समाचारमा राजनीतिक महत्व एवं दृष्टिकोण पाउन सकिरहेका छैनन् ।

अन्त्यमा

यस अध्ययनले नेपाली मिडियाको राजनीतिक कभरेज सम्बन्धमा केही मूलभूत निष्कर्षहरू दिएको छ । विशेषगरी महिलाकेन्द्रित समाचारलाई राजनीतिक रूपमा चासो दिएका समाचार निकै कम देखिन्छन् । नेपाली मिडियामा राजनीतिक समाचार उच्च प्राथमिकतामा रहेको, समाचार फिचर कम दिइने गरेको, महिला एंकर र रिपोर्टर अत्यन्त न्यून रहेको, समाचारको अन्तर्वस्तुको विषय वा पात्र बनेका व्यक्तिमध्ये महिला उपस्थिति अति न्यून रहेको, समाचार वा समाचार विश्लेषणमा महिला प्रवक्ता वा विज्ञको भूमिकामा अति कम रहेको अवस्थालाई प्रष्ट गर्दछ ।

पत्रिकामा करिब एक चौथाइ राजनीतिक समाचार प्रथम पृष्ठमा आउने गरेको, रेडियोमा करिब नब्बे प्रतिशत र टेलिभिजनमा ९२ प्रतिशत समाचार बुलेटिनको पहिलो समाचार विषय राजनीति हुने गरेको छ । राजनीतिक समाचारमध्ये पनि सबैभन्दा बढी घरेलु राजनीति र सरकारसँग सम्बन्धित छन् भने सत्तरी प्रतिशतभन्दा बढी समाचार राष्ट्रिय महत्वका छन् ।

प्रकाशित वा प्रसारित राजनीतिक समाचार सामग्रीको लैंगिक समानता वा सोसम्बन्धी कानुन अथवा नीतिसँगको सम्बन्ध नगण्य मात्र छ । राजनीतिक समाचार र अन्य सामग्रीका अन्तर्वस्तुमा उल्लेख वा चर्चा गरिने पात्र वा विषय व्यक्तिका रूपमा अत्यधिक पुरुष र अत्यन्त कम महिला छन् । राजनीतिक विषयमा महिलाले आप्mनो अनुभव, विचार र दृष्टिकोण दिने अवसर पाएका छैनन् । सबै पेसाका मानिसमा समाचारमा आउने पुरुषको तुलनामा महिलाको संख्या ज्यादै थोरै छ । राजनीतिक सामाग्रीहरूमा निकै कम हिंसापीडित र प्रभावितहरूको सरोकार, विचार वा अनुभवलाई समेटिएको छ ।

राजनीतिक सामग्रीहरू नगण्य संख्याका मात्र महिलाकेन्द्रित, महिला–पुरुषबीचको असमानता उजागर गर्ने र परम्परागत भूमिका वा चित्रणलाई चुनौती दिने किसिमका छन् । यसको अर्थ पत्रिका, रेडियो र टेलिभिजनका राजनीतिक समाचारहरूले अझै पनि महिलालाई समाचारमा चित्रण गरिने पात्र, विचार वा अनुभव व्यक्त गर्ने व्यक्ति तथा सम्बन्धित विषयका विज्ञका रूपमा स्वीकार्न सकिरहेका छैनन् भने महिला अधिकार तथा लैंगिक समानताका सवालहरूलाई राजनीतिक महत्व प्रदान गर्न हिच्किचाइरहेका छन् । यसले राजनीति महिलाको पनि उत्तिकै सरोकारको क्षेत्र हो भन्ने मान्यतालाई स्थापित गर्न र राजनीतिक अभ्यासहरूले महिलाको जीवनमा महत्वपूर्ण प्रभाव पार्दछन् भन्ने बहसलाई अगाडि बढाउन बाधा पु-याइरहेको छ ।

राजनीतिक सामग्री तयार गर्ने पत्रकार (पत्रपत्रिकामा बाइलाइन लेख्ने र रेडियो तथा टेलिभिजनमा एंकर वा रिपोर्टरको भूमिकामा रहेका) हरूमा पनि कुल सामग्रीमध्ये ५१ दशमलव ५ प्रतिशत सामग्री पत्रकार पुरुषले र २ दशमलव ६ प्रतिशत सामग्री मात्र पत्रकार महिलाले तयार गर्ने गरेको पाइएको छ ।

यी सबै तथ्य–तथ्यांकहरूले समाचार संकलन गर्ने, लेख्ने, प्रस्तुत गर्ने पत्रकार वा समाचारभित्रका पात्र वा विषय दुवै रूपमा महिलाको सहभागिता र प्रतिनिधित्व अत्यन्त कमजोर रहेको प्रष्ट गर्दछ । साथै महिला विषय केन्द्रित र महिला पुरुषको स्थापित भेदभावपूर्ण शक्ति सम्बन्ध तथा भूमिकालाई चुनौती दिने सामग्रीहरू निकै कम नेपाली मिडियाले दिन सकेको अवस्था छ ।

समाजका अन्य क्षेत्रसँगैै राजनीतिक क्षेत्रमा पनि लैंगिक समानता हासिल गर्नका लागि जसरी राजनीतिक क्षेत्र आफैंमा महिलाहरूको उपस्थिति र सक्रियता अत्यावश्यक छ, त्यसलाई गति दिनका लागि मिडियाका राजनीतिक समाचारहरूमा पनि उनीहरूको उपस्थिति, आवाज, सरोकार, विचार र सवालहरूको प्रतिनिधित्व तीव्र रूपमा बढ्नुपर्दछ । राजनीतिक समाचारमा महिलालाई डरलाग्दो गरी बहिष्करण गर्ने विद्यमान प्रवृत्तिले महिलालाई राजनीति र अन्य सामाजिक क्षेत्रबाट अदृश्य बनाउँदै लग्ने लगभग पक्कापक्की छ ।

लोकतन्त्रको संस्थागत विकास र सामाजिक न्याय प्राप्तिका लागि लैंगिक समानता पहिलो शर्त हो । लैंगिक समानता सुनिश्चित हुनुपर्ने सबै क्षेत्रमा पनि राजनीति थप निर्णायक र महत्वपूर्ण क्षेत्र हो । वर्तमान नेपालमा राजनीतिक क्षेत्र, बहस र सवालहरूलाई मुखरित गर्ने तथा दिशानिर्देश गर्ने सबैभन्दा चलायमान एवं प्रभावकारी माध्यम मिडिया हो ।

रूपान्तरणकारी मिडियाका विभिन्न सामग्रीमध्ये पहिलो स्थान ओगट्ने राजनीतिक समाचार, विचारमूलक बहस र प्रस्तुती तथा सम्पादकीय जस्ता सामग्री समसामयिक एजेन्डा तथा सामाजिक राजनीतिक प्राथमिकताक्रम निर्धारण गर्ने प्रमुख विधा हुन् । तसर्थ, यी विधामा महिलाको चित्रण, विचार, अनुभव, भूमिका, महिला आन्दोलनका एजेन्डाहरूको बहिष्करण भनेको सिंगो महिला अधिकार आन्दोलन र लैंगिक समानताको आन्दोलनलाई प्रभावित गर्ने पाटो हो ।

तसर्थ यस अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा मिडियाका राजनीतिक समाचार र अन्य सूचनामूलक तथा विचारमूलक सामग्रीहरूमा लैगिक प्रतिनिधित्व उल्लेखनीय रूपमा बढाउन व्यक्तिगत रूपमा पत्रकारहरू जति सचेत हुनुपर्छ त्यसभन्दा अझ धेरै पक्षबाट संस्थागत पहल गरिनुपर्छ ।

यसका लागि मिडियासँगै सम्बन्धित राज्यका निकाय र नियमनकारी बोर्डहरू; मिडिया उत्पादन गर्ने प्रकाशन प्रसारण संस्थाहरू; पत्रकारहरूको हकहितका लागि बनेका संघसंगठन, युनियन, महासंघहरू, मिडियासम्बन्धी अध्ययन अध्यापन हुने शिक्षण तथा तालिम प्रदान गर्ने संस्थाहरू, महिला अधिकार र मिडियाको क्षेत्रमा काम गर्ने सामाजिक संघसंस्थाहरू सबैको महत्वपूर्ण भूमिका हुन्छ ।

त्यसका लागि, मिडियामा लैंगिक समानतासम्बन्धी राष्ट्रिय नीति, आचारसंहिता र इनहाउस निर्देशिकाहरू तर्जुमा गरी कार्यान्वयन गर्ने र तिनको आवधिक समीक्षा गर्ने\राजनीतिक क्षेत्रमा क्रियाशील नेता, उत्सुक अध्येता, विज्ञ र विभिन्न निकायका प्रवक्ता महिलाहरूको रोस्टर तयार गरी मिडियाका अन्तर्वस्तुमा सूचना स्रोत वा विचार प्रवाह गर्ने व्यक्तिका रूपमा तिनको बढीभन्दा बढी प्रयोग गर्ने\पत्रकारिता र आमसञ्चारसम्बन्धीे विद्यालय, कलेज र तालिम इन्स्टिच्युटहरूका लागि लैंकता र मिडियासम्बन्धी विभिन्न पाठ्यक्रम तयार गरी अध्ययन अध्यापन गराउने, मिडियाका लगानीकर्ता, बोर्ड पदाधिकारी, सम्पादक, स्टेसन मेनेजर, समाचार प्रमुख जस्ता निर्णायक तहमा रहेका व्यक्तिका लागि लैंगिकतासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, मिडिया संस्थाहरूमा महिलाको सहभागिता र नेतृत्व प्रवर्धन गर्ने, पत्रकारहरूका लागि लैंगिक संवेदनशीलता र लैंकतासम्बन्धी तालिम सञ्चालन गर्नेसमेतका विभिन्न कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया